महात्मा गान्धीबारे नयाँ पुस्तक

उहाँ नियमित १८ किमि पैदल हिंड्नु हुन्थ्यो

महात्मा गान्धीबारे नयाँ पुस्तक

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७५

महात्मा गान्धीको १५० औं जन्म जयन्ती वर्षमा ‘इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च’ले उहाँको बारेमा पुस्तक प्रकाशन गरेको छ । 

काठमाण्डौ । भारतमा निर्वासित जीवनयापन गरिरहनु भएका विश्व प्रसिद्ध बौद्धगुरु दलाई लामाले महात्मा गान्धीबारे लेखिएको नयाँ पुस्तक ‘गान्धी एण्ड हेल्थ२१५०’को विमोचन गर्नु भएको छ । 
हिमाचल प्रदेशको ‘हिल स्टेशन’ धर्मशाला, मकलोडगेजमा पुस्तक अनावरण गर्दै १४ औं दलाई लामाले भन्नुभयो,‘अहिंसा र मानसिक चिकित्सा विषयक गान्धीका विचार र दर्शन २१ औं शताब्दीमा पनि प्रासंगिक छन् ।’

‘इण्डिएन काउन्सिल अफ मेडिकल रिसर्च’ले यो पुस्तक नयाँ दिल्ली स्थित ‘नेशनल गान्धी म्युजियम’मा सुरक्षित राखिएका गान्धीको स्वास्थ्य सम्बन्धी फाइल र रिर्पोटबाट तयार पारेको हो । 

किताबमा महात्मा गान्धीको स्वास्थ्यसँग सम्बन्धित अनेकौं अचम्म लाग्ने तथ्य समेटिएका छन् । सन् १९३८मा गान्धीको शारीरिक तौल ४६.७ किलो थियो, उनको शरीरको माप पाँच फिट पाँच इन्चका अनुसार ‘बडी मास इन्डेक्स’मा यो अवस्था भनेको ‘अण्डर वेट’ हो । वर्तमानमा कुनै व्यक्तिको तौल यो अवस्थामा हुन्छ भने डाक्टरले उसलाई उचित मात्रामा पौष्टिक भोजन लिनुका साथै नियमित ‘चेकअप’ गराउने परामर्श दिन्छन् । 

सन् १९२७मा गान्धीलाई उच्च रक्तचापले ग्रसित बनाई सकेको थियो । उनको रक्तचाप २२०÷११० पुगेको थियो । गान्धीले सुशिला नैयरलाई लेखेको पत्रमा भन्नुभयो,‘म हाई ब्लड प्रेसरले ग्रस्त भएको छु, मैले सर्पगन्धा सेवन गर्न थालेको छु ।’ यत्तिको हाई ब्लड प्रेसर हुँदाहुँदै पनि गान्धीले स्वयंलाई सँधै शान्त र सौम्य राख्नु भयो । 

यसको रहस्योद्घाटन गर्दै पुस्तकको १६६ औं पृष्ठमा लेखिएको छ, ‘महात्मा गान्धी प्रतिदिन १८ किमि पैदल हिंड्नु हुन्थ्यो ।’

गान्धीले आफ्नो जीवनमा १९१३ देखि १९४८ सम्म भारतभरि ७९ हजार किमि पैदल यात्रा गर्नुभयो । यो भनेको पूरै पृथ्वीको दुई चक्कर लगाउनु जति हो । 

पुस्तकका अनुसार गान्धीलाई १९२५, १९३६ र १९४४मा तीनपटक मलेरिया भएको थियो । १९१९ र १९२४ मा उहाँ एपेंडिक्स र पाइल्सको चपेटामा पर्नुभयो । उहाँ आधुनिक औषधि सेवन गर्न मन पराउनु हुन्नथ्यो, यसको साटो उहाँ नेचुरोप्याथीमा विश्वास गर्नुहुन्थ्यो । उपवास गर्नु उहाँको आफ्नै चिकित्सा पद्धति थियो । 

७९ वर्षको अवस्थामा उहाँको गोली हानी हत्या गरिएको थियो ।