माहामारीमा पनि जालसाजी ! न्यायिक, सुरक्षित बाँच्न र बुझ्न सकिने संयन्त्रको खोजी !!
आश्विन २, २०७७

कोभिड–१९ को महामारीसँगै अहिले यो ‘कन्सप्रेसी थ्योरी’को खुब चर्चा भई रहेछ । ‘कन्सप्रेसी’ अङ्ग्रेजी शब्दको नेपालीमा अर्थ हुन आउँछ ‘षडयन्त्र’ । यसो सोच्दा यो षडयन्त्र या जालसाजीको नि सिद्धान्त हुन्छ र ? भन्ने प्रश्न उठ्न सक्छ । फेरि कुनै पनि विषयमा एक व्यक्ति वा सिद्धान्तका व्याख्याताहरूले बनाउने अवधारणा नै सिद्धान्तको रुप लिने  गर्दछ । यस्ता षडयन्त्रका विविध रूपहरू र त्यसले काम गरेका या नगरेका घटनाहरूले  पनि सिद्धान्त स्थापित हुन्छ । जति बुझ्यो  झन् त्यति नै अलमल्ल बनाउने काम यो सिद्धान्तको विशेषता हो   । 

हामीहरू दुःखको चरम अवस्थामा छौँ । स्वास्थ्य र आर्थिक समस्या मात्र नभएर मनोवैज्ञानिक रुपमा पनि  समस्याले उत्तिकै गाँजेको छ । सामान्य अवस्थामा आफ्नो गुजारा चलाइरहेका मानिसलाई यो 'थ्योरी’ अन्तर्गत आउने विश्लेषण र यो कार्यमा सरिक व्यक्तिहरूले समाज, सिद्धान्त, व्यवस्था, नेतृत्वलाई  दिग्भ्रमित नै परिरहेको हुन्छ । जसको कारण विषय बस्तुलाई गहिरोसँग मनन गर्ने र आफ्ना धारणा बनाउन सकिरहेको हुँदैन । त्यस्तै अवस्था छ कोरोना महामारीकाे सन्दर्भमा पनि ।  खशगरी कोरोना महामारी लकडाउनको अवधिमा सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो,  टेलिभिजन र अनलाइनहरूमा धेरै भन्दा धेरै विचार प्रवाह भइरहेका छन् । यो प्रविधिको दुनियाँमा अनेक मुद्दाहरूमा हेर्ने दृष्टिकोण फरक परक बनाउने अनेकौँ प्रयत्न भए र  भइरहेका छन् ।  जस्तो कि श्रमिकहरूले खान नपाएका दुःखहरू असरल्ल सडकमा पोखिएका छन् एकातर्फ भने अर्को तर्फ राज्यका विभिन्न ओहोदामा रहेकाहरू  महामारीमै पनि भ्रष्टाचारमा लिप्त भएको अनेकौँ प्रमाण सहितका समाचार पढ्न बाध्य छौ । व्यापारी, कर्मचारी राजनीतिक व्यक्तित्वको साँठगाँठ र गतिविधि समाजले नपचाउने खालका देख्न, सुन्न र बाध्य छौँ ।  

समाजमा त्यस्ता सामाजिक मूल्य र मान्यतामा आधारित थुप्रै सामाजिक न्यायका सिद्धान्तहरू प्रतिपादन भएका छन् । विश्वव्यापी पनि भएका छन् । त्यस्तै समाजवादी, पुँजीवादी  सिद्धान्तलाई अभ्यास गर्दै विश्व चलेका छन् । राम्रा, मानवीय, न्यायिक, समय सापेक्ष, नितान्त आवश्यक विधि र सिद्धान्तको असली कार्यान्वयनले यस्तो माहामारीलाई परास्त गर्न सकिन्छ । 

कोरोना भाइरसको कारणले विश्वमा लाखौँ मानिसहरूको मृत्यु भइसकेको छ । हामी प्रत्येकमा यसको विभिन्न सामाजिक, आर्थिक, राजनीतिक, शारीरिक, मानसिक प्रभाव झेल्न बाध्य छौँ । अहिले एउटै कुराले हामीहरू बेखवर छौ त्यो हो अनिश्चितता । विद्यालय कहिले खुल्ने टुङ्गो छैन । त्यहाँ पढ्ने विद्यार्थी र पढाउने शिक्षकहरूको परिस्थिति एकदम दयनीय छ । दूर दराजका सरकारी विद्यालयहरूले सहरका निजी विद्यालयले जस्तो झैँ अनलाइन कक्षा  सञ्चालन गर्न सक्ने अवस्था छैन । जसले एकदमै अनिश्चितता र अन्यौलता शिक्षा क्षेत्रमा देखिएको छ । अनिश्चितता भनेको साना तिना व्यवसाय गर्ने महिलाहरूको अवस्था  कहाली लाग्दो छ । जस्तो सवारी चालक, होटेल, चिया पसल सञ्चालन गर्नेहरू आदि । ऋण लिएर व्यवसाय गरेका व्यवसायीहरु ऋणको व्याज तिर्न नसकेर हताश मनस्थितिमा छन् । अरु पनि समस्या र अनिश्चितता कति छन् कति !

मानव जाती स्वभावैले अनिश्चितता मन पराउँदैनन् । अब के हुन्छ ? र किन हुन्छ ? भन्ने जान्न हतारोमा नै हुन्छ । र,सबै कुरा भिन्न तरिकाले सम्पन्न भएको हेर्न पनि चाहन्छ । त्यसैले केही मनोविज्ञहरुले भन्ने गरेको पाइन्छ कि यो षडयन्त्रको सिद्धान्त दुःखद क्षणहरुमा नै बढी लागु हुन गर्छ । 

वास्तवमा सरल प्रश्नहरूको जहिले पनि जवाफ सरल नै हुँदा रहेन छ र यो ‘कन्सिप्रेसी थ्योरी’मा त्यस्तो कुनै वैज्ञानिक शुत्र पनि चाहिँदैन ।  सामाजिक र कानुनी मनोविज्ञान का प्रोफेसर रोलेन्ड इमहफले ‘कन्सिप्रेसी थ्योरी’ लाई भनेका छन् ‘असत्य सोचाई हो र यसले सत्यताको प्रतिनिधित्व गर्दैन्’ । तर इमहफ यसमा सहमत देखिँदैनन् इमहफको मान्यता 'कन्सिप्रेसी थ्योरी’को  अवधारणा बुझाईले अनुसन्धान तथा जनसम्पर्कमा मद्दत त गर्दैन तर मानिसहरूले कुनै पनि विषयलाई लिएर गरिएको विवाद सही वा गलत भनेर ‘जजमेन्ट’ गर्न भने असमर्थ तुल्याइदिन्छ । अर्को भाषामा भन्ने हो भने ‘कन्सिप्रेसी थ्योरी’ लाई त्यस्तो घटनाप्रतिको  एक धारणा मानिएको छ जसमा सीमित व्यक्तिहरूले थोरै लगानीमा धेरै नाफाको आशा गरे जस्तो हो । यो र यस्ता अवस्था छ अहिले कोरोना महामारीमा भएका आरडिटि, पिसिआर परीक्षण गर्ने विषयवस्तु । यी जाँच मेशिनको खरिद विक्रीदेखि यसको विश्वसनीयताका कुराहरू बारम्बार प्रश्नहरू उठी रहेका छन् ।  

प्राय यो ‘थ्योरी’ सामाजिक सञ्जाल र सञ्चारमाध्यममा  बढी उपयोग हुने गरेको पाइन्छ । एउटा एउटा झुन्ड बनाउने अनि एक अर्कालाई विभिन्न आरोप प्रत्यारोप गरी भ्रम सृजना गर्ने गरिएको छ ।  त्यसैलाई विशाल बहस र आवेगमै उत्रने सबैको ध्यान तन्ने काम हुने गर्छ  कानुनी कार्यवाही, खोजतलासदेखि लिएर एउटा व्यक्तिलाई उचाल्ने पछार्ने, बझाउने अनेकौँ परिदृश्य रहेको पाइन्छ । यसमा भारतीय सञ्चार माध्यम धेरै अगाडि छन् । कलाकार सुशान्त सिंह राजपूतको आत्महत्या, आरोपी रिया चक्रवर्तीदेखि लिएर सँगसँगै अहिले घटना कङ्गना रनावतमा आएर सनसनीपूर्ण बनाउने काम ‘कन्सिप्रेसी थ्योरी’ अन्तर्गत नै मौलाइ रहेको पाइन्छ । लाग्छ कि ! यो ‘कन्सिप्रेसी थ्योरी’ भित्र लाञ्छना, तिकडम, हाई लाइट, शत्रुता सब मिसिएको हुन्छ । विचारमा सन्देह ता त आवश्यक छ तर विचारमा अतिहरू पनि त्यतिकै बढिरहेको पाइन्छ । 

कतिपय सन्दर्भमा यो ‘थ्योरी’ घटनालाई वा ध्यानलाई अन्यत्र मोड्न पनि प्रयोग भएको पाइन्छ । जस्तो कि राम जन्मभूमिको विषयमा देशकै कार्यकारी प्रमुखले समेत राम नेपालमै जन्मेका हुन भन्ने भनाइले एक पटक सम्पूर्ण हिन्दु धर्म संस्कृतिका समाजलाई कान ठाडो बनाउन बाध्य बनायो । तर त्यता भन्दा पनि धेरै मानिसको ध्यान स्वस्थ रहन बेसार पानी खाने भनी दिएको सल्लाहमा गएको छ र चर्चा त्यसैमा बढी रहेको छ । 

हुन त ‘कन्सिप्रेसी थ्योरी’ले जहिले पनि झुटा मान्यताहरूलाई मात्र पक्षपोषण गर्दैनन् । कहिलेकाहीँ जनमानसको सर्वोत्तम हितलाई पनि मध्यनजर गरेर या परिस्थितिले दुर्घटनाजन्य मोड नलिउन् भनेर पनि विशेष गरेर राजनीतिक क्षेत्रमा रणनीतिक रुपमा पनि यसको प्रयोग गरिएको पाइन्छ । 

मानिस जब शक्तिहीन र जोखिम महसुस गर्न थाल्दछ त्यति वेला  ‘कन्सिप्रेसी थ्योरी’को  सहारा लिने गर्दछ । दिमाग, मनहरूलाई विभिन्न विषयमा जोडिरहेका पनि हुन्छन् । चुनौतीलाई सहन गर्नुपर्ने अवस्थामा अर्को व्यक्तिलाई हानी नपुग्ने गरी र जायज कुराहरूलाई उठाउँदा कतिपय अवस्थामा फाइँदै हुन्छ । 

अहिलेको महामारीको अवस्थामा सर्वसाधारणको पनि यसबाट जोगिने सजगतामा विशेष चासो, हुनु स्वभावक थियो र छ । जानेर, बुझेर, सिकेर सिकाएर सुरक्षित उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । राज्य पक्षले पनि हरेक संवेदनशील विषयहरूलाई प्राथमिकतामा राखेर, स्वास्थ्य सेवा र गाँस वासको व्यवस्था गर्नै पर्ने हुन्छ । अहिले विशेष गरेर श्रमिक तथा साना व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरू तथा निजी विद्यालयका शिक्षण पेसामा संलग्न शिक्षकहरूको रोजगारी गुमेको अवस्था छ ।  सहरीमा पनि तल्लो वर्ग झनै  गरिबिको चपेटामा परिरहेका छन् ।  तर पनि भ्रष्टाचारका समाचार बाहिरेका बाहिरिएकै छन् । 

जातीय द्धन्द, बलात्कार, हत्या, हिंसा जस्ता क्रूर अमानवीय व्यवहारहरू तथा डिप्रेसन तथा आत्महत्याका घटनाले कोरोनाका मृत्युभन्दा पनि भयावह रूप लिँदै छ । यिनै बेथितिको विषयलाई लिएर सचेत तथा पीडितहरूले समाधानका विकल्पका लागि आवाज उठाउनु जायज पनि हो । सम्बन्धित पक्षले जनताका मानसिक पक्षलाई उत्तिकै सरोकार र सम्बोधन गर्नुपर्ने हुन्छ । 

एकदमै बिग्रिसकेका आर्थिक, मानसिक तथा सामाजिक व्यवहारलाई कसरी सल्टाउने भन्नेतिर सरकार र सम्बन्धित निकायहरू लागेमा पक्कै पनि र्योे कन्सिप्रेसी थ्योरी’ को सिकार जनताले ध्यान दिइरहनु पर्ने थिएन कि ! समाजमा त्यस्ता सामाजिक मूल्य र मान्यतामा आधारित थुप्रै सामाजिक न्यायका सिद्धान्तहरू प्रतिपादन भएका छन् । विश्वव्यापी पनि भएका छन् । त्यस्तै समाजवादी, पुँजीवादी  सिद्धान्तलाई अभ्यास गर्दै विश्व चलेका छन् । राम्रा, मानवीय, न्यायिक, समय सापेक्ष, नितान्त आवश्यक विधि र सिद्धान्तको असली कार्यान्वयनले यस्तो महामारीलाई परास्त गर्न सकिन्छ । 

धार्मिक र सांस्कृतिक अन्धता रहित सचेतना पनि अत्यन्त आवश्यक छ । नत्र त जनता अन्यौलता र अलपत्रमा पर्ने निश्चित छ । ठाउँ पाउने वितिक्कै जालसाजीतिर लागिहाल्ने परिस्थितिको अन्त्य जरुरी छ । सर्वसाधारणलाई अहिले जालसाजी र षडयन्त्रको सिद्धान्त भन्दा पनि न्यायिक, सुरक्षित  बाँच्न पाउने र बुझ्न सकिने संयन्त्रको आवश्यकता छ । सङ्क्रमित, सङ्क्रमणले मृत्यु भएका, सङ्क्रमणमा परिएला भनेर डराएकाहरूलाई आवश्यक मानसिक ढाडस तथा सचेतताको पनि त्यतिकै जरुरी छ ।