‘फेरि के के हुन्छ कल्ले जान्ने हो, यसपालिको दशैं तिहार गाउँमै मान्ने हो’ गीतका गायक

‘फेरि के के हुन्छ कल्ले जान्ने हो, यसपालिको दशैं तिहार गाउँमै मान्ने हो’ गीतका गायक

यमबहादुर दुरा  |  लोकरञ्जन  |  चैत्र १५, २०७५

दोहोरी गीतको आयतन विस्तार भएको छ । यसको आयतन विस्तार हुने कार्यको बीजारोपण पञ्चायतकालमै भएको थियो । दोहोरी गीतलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएपछि यसले मूलधार समातेको धेरैको विश्लेषण छ । मूलतः गाउँबस्तीका सर्वसाधारण नागरिकबिच भावना आदानप्रदानको माध्यमको रूपमा रहेको दोहोरीगीत अहिले नेपाली राष्ट्रिय संस्कृतिकै एक हिस्साको रूपमा स्थापित छ ।

दोहोरीगीत मूलधारमा आएपछि गाउँबस्तीका असंख्य प्रतिभाले राष्ट्रियस्तरमै नाम कमाउन थालेका छन् । दीपक खड्का दोहोरीमा नाम कमाउँदै गरेका उम्दा प्रतिभा हुन् । दोहोरीगीतमा उनले आफ्नो परिचय स्थापित गरिसकेका छन् । रेडियो नेपालद्वारा २०६० सालमा आयोजित दोहोरीगीत प्रतियोगितमा प्रथम स्थान हाँसिल गर्न सफल खड्काले आफ्नो कीर्तिमानीलाई कायम गर्दै २०६१ सालमा टुबोर्ग दोहोरीगीत प्रतियोगितामा पनि प्रथम स्थान हासिल गरे ।  यसभन्दा अघि उनी स्थानीय स्तरका थुप्रै दोहोरीगीत प्रतियोगितामा  धेरै पटक पुरस्कृत भएका थिए ।

एकपटक सत्यनारायण कथावाचन अनुष्ठानमा असामान्य घटना भयो । त्यहाँ रातभरि गीत गाए । भोलिपल्ट पनि गीतको खाल जम्यो ।  गीतमा स्वाभाविक रूपमा भावना साटासाट भए । घर फर्कन बेलामा फसाद पर्‍यो । गीत गाउने केटीले उनको पिछा गर्न थालिन् । उनले मनमनै दीपकलाई जीवनसाथीको रूपमा रोजिसकेकी रहिछन् । उनी सम्झाइ बुझाइ गरेर तर्किए । त्यतिबेला उनी अविवाहित नै थिए । सच्चा हृदय भएकी ती ग्रामीण बालाको भावनाको कदर गर्न नसक्दा उनलाई अहिलेसम्म ननिको लाग्छ । गीतमा व्यक्त भएको ‘चोखो माया, फुको ठट्टा’ ले जन्माएको त्यो असामान्य घटना उनी बिर्सन सक्दैनन् । 

आफू दोहोरीगीतको रङ्ग–रेशममा ‘कसरी आएँ’ भन्नेबारे कुनै खास प्रसंग उनको स्मरणमा छैन । समग्रमा भन्दा आफू जन्मे हुर्केको सांस्कृतिक परिवेशले नै दोहोरीगीतको दुनियाँमा आउन सहयोग गरेको उनको भनाइ छ । यही प्रसंग कोट्याउँदै गर्दा उनी बाल्यकालीन सम्झनामा डुब्न पुग्छन् । उनी हजूरबाको पछि लागेर गोठालो जान्थे । हजूरबाले मीठो गरी पात बजाउँथे । गीत पनि गाउँथे । उनको जिज्ञासा चुलिन्थ्यो, पात कसरी बजाउने होला, गीत कसरी गाउने होला ? उनले जानीनजानी हजूरबाको सिको गर्थे ।

निर्णायकका रुपमा दीपक खड्का देब्रेबाट पहिलाे 

उनको घर नवलपरासीको गैंडाकोट हो । उनको घर नजिक कुमाल समुदायको बस्ती छ । उनीहरूको जीवनशैली अझै रैथाने प्रकृतिको छ । कुमाल समुदायको जीवनशैली सङ्गीतमय छ । बच्चाको न्वारन गर्दा पनि गीत गाउने, छेवर गर्दा पनि गीत गाउने, हुँदा हुँदा भैंसी ब्याउँदा पनि गीतै गाउने । बडो गजबको जीवनशैली छ । यस्तो सामाजिक तथा सांस्कृतिक परिवेशमा हुर्केका उनको साङ्गीतिक चेत खुल्दै गयो । लोकगीतप्रतिको मोहभाव बढ्दै गयो । 

उनले टोल–छिमेकमा हुने सामाजिक जमघटमा जम्ने गीतको खालमा सहभागिता जनाउन थाले । विद्यालयमा हुने लोकगीत प्रतियोगितामा सहभागिता जनाउन थाले । विद्यालयमा हुने हरेक दिनको हाफ छुट्टीमा पनि साथीहरूसँग दोहोरी गाएर बस्थे । स्थानीय धार्मिक अनुष्ठानहरूमा पनि उनी गीत गाउन पुग्थे ।  सत्यनारायण कथावाचन समारोहमा दोहोरीको खाल जम्थ्यो । रातभरि गीत र दोहोरी गाउँथे । कुनै बेला त एकै रात दुई तीन ठाउँमा चाहारेर पनि गीत गाउँथे ।

एकपटक सत्यनारायण कथावाचन अनुष्ठानमा असामान्य घटना भयो । त्यहाँ रातभरि गीत गाए । भोलिपल्ट पनि गीतको खाल जम्यो ।  गीतमा स्वाभाविक रूपमा भावना साटासाट भए । घर फर्कन बेलामा फसाद पर्‍यो । गीत गाउने केटीले उनको पिछा गर्न थालिन् । उनले मनमनै दीपकलाई जीवनसाथीको रूपमा रोजिसकेकी रहिछन् । उनी सम्झाइ बुझाइ गरेर तर्किए । त्यतिबेला उनी अविवाहित नै थिए । सच्चा हृदय भएकी ती ग्रामीण बालाको भावनाको कदर गर्न नसक्दा उनलाई अहिलेसम्म ननिको लाग्छ । गीतमा व्यक्त भएको ‘चोखो माया, फुको ठट्टा’ ले जन्माएको त्यो असामान्य घटना उनी बिर्सन सक्दैनन् । 

उनी आफूले भर्खर भर्खर गीत गाउन शुरु गर्दा र अहिलेको सामाजिक परिवेशमा धेरै परिवर्तन आएको देख्छन् । त्यतिबेलाका केटीहरूले शुरुमै एकैचोटि गीत निकाल्दैनथे । गीत गाउने बेसरी मन भए पनि केटीहरू हत्तपत्त अघि नसर्ने । केटाले पाँच छ टुक्का भनेपछिे बल्ल केटीहरुले गीत निकाल्थे । तर, गीत झिक्न थालेपछि गीतका शब्द धेरै मार्मिक र भावुक प्रकृतिक हुन्थे । गीतमा रन्थन्याउने खालका भावुकता र विनयशीलता हुन्थे । गीतको भाव एकदमै साङ्केतिक हुन्थे । अहिले परिस्थितिमा आनका तान फरक आएको छ । अहिले केटीहरू नै पहिला गीत निकाल्छन् । गीत पनि साङ्केतिक नभई सीधै घोच्ने खालका हुन्छन् । यो उनले अवलोकनबाट बटुलेको अनुभव हो ।

नेपाली लोकगीतको क्षेत्रमा उनी नारायण रायमाझीबाट एकदमै प्रभावित छन् । रायमाझीलाई गीतमा माधुर्य भर्नसक्ने र गीतलाई न्याय गर्न सक्ने कुशल प्रतिभाको रूपमा चित्रण गर्छन् । उनी रायमाझीको साङगीतिक विशेषता केलाउँदै भन्छन, ‘उहाँको गीत सेलरोटी जस्तो छ । सेलरोटी शुरुमा त्यति मीठो हुँदैन तर पछि झन् मीठो झन् मीठो हुँदै जान्छ । उहाँका गीत पनि त्यस्तै छन् ।’
दीपक खड्का धेरैको नजरमा राम्रो दोहोरी गायक हुन् । दोहोरी गायक अमर विरही गुरुङका आँखामा, ‘दीपक खड्का कुशल दोहोरी गायकमात्र होइन, अग्रज र अनुज  दुवै पुस्तालाई सम्मान गर्न जान्ने व्यक्ति पनि हुन् ।’ अर्का पुराना गायक कृष्णसुधा ढुङ्गाना उनलाई विनयशील उम्दा प्रतिभाको रूपमा लिन्छन् । उनलाई नजिकबाट नियालिरहेका समकालीन दोहोरी गायक राजु परियारका दृष्टिमा, ‘उनी दोहोरीमा निरन्तर प्रगति गरिरहेका प्रतिभा हुन् ।’

देशको सामाजिक तथा राजनीतिक परिवेशसँग कलाकारहरू निरपेक्ष रहन सक्दैनन् । देशमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वले उनको मनोभाव पनि अप्रभावित रहेन । उनले तत्कालीन समयमा तयार भएको ‘भय र अनिश्चितताको मनोविज्ञान’ लाई लिएर गीत तयार पारे । सामाजिक मनोविज्ञानको केन्द्रीय भावलाई नै छोएर तयार पारिएको त्यो गीत निकै चर्चित रह्यो, धेरैले मन पराए । गीतको थेगो थियोः‘फेरि के के हुन्छ कल्ले जान्ने हो, यसपालिको दशैं तिहार गाउँमै मान्ने हो’ ।

उनी दोहोरी ‘स्टेज पर्फमेन्स’ मा निकै जमेका कलाकार हुन् । देशका विभिन्न भागका हुने महोत्सवहरूको हिस्सा बन्छन् उनी । उनले दोहोरी गीतसम्बन्धी म्युजिक भिडियो पनि निकाल्दै आएका छन् । यसै वर्ष, उनले ‘सोल्टी राजै’ शीर्षकको भिडियो ‘यु ट्युब’ मार्पmत सार्वजनिक गरेका छन् ।  यसभन्दा अघि पनि उनले यस्ता म्युजिक भिडियोहरू निकालिसकेका छन् । दोहोरीगीतको पृष्ठभूमिबाट आएका कलाकार भएकाले उनका छोटा खालका लोकगीत थोरै छन् ।  ‘रेडियो नेपाल’मा उनका तीनवटा गीत छन् । उनका दोहोरीको अडियो अल्बम र म्युजिक भिडियो गरी लगभग १५ वटा ‘साङ्गीतिक कोसेली’ बजारमा आएका छन् ।

आजकल उनी निर्णायकको भूमिकामा पनि देखापर्न थालेका छन् । यसका अतिरिक्त उनको संगठनकारी–संयोजनकारी भूमिका पनि प्रशंसनीय छ । दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ मा शुरुदेखि नै आबद्ध भई उनी सांगठानिक गतिविधिमा पनि सरिक छन् । अहिले उनी संस्थाको कोषाध्यक्ष पदमा कार्यरत छन् । यस संस्थाको नवलपरासी शाखाको सहसचिव, त्यसपछि केन्द्रीय सदस्य तथा केन्द्रीय सहकोषध्यक्ष हुँदै कोषाध्यक्ष पद सम्हाल्न आइपुगेका छन्  दीपक खड्का ।

दोहोरीगीत लोकगीतको मूलधार भएको र गीत गाएर कलाकार बाँच्न सक्ने वातावरण तयार भएको वर्तमान समयमा यस विधामा लाग्ने कलाकारको मनोबल उच्च नै छ । दोहोरीगीतमा भित्रिएका अशुद्धिलाई हटाउँदै यसलाई अत्यन्त मर्यादित लोकअभिव्यक्तिको माध्यम बनाउनुपर्ने खाँचो सर्वत्र महसुस गरिएको छ । यसमा  जो–कोही कलाकारको योगदान अपेक्षित छ । दोहोरी कलाकारहरूको छाता संगठनको नेतृत्वदायी भूमिकामा रहेका ३८ वर्षीय तन्नेरी कलाकार दीपक खड्काबाट पनि दोहोरीगीतका अनुरागीहरूले यही अपेक्षा गरेका छन् ।

याे पनि

पानको पातका सर्जकको मदिरासँग पारपाचुके

जसले कोमल ओलीलाई दोहोरीमा हराए

गुमनाम लोकगायक, जो कुनै दिन एकै दिनमा डेढ लाख कमाउँथे

धेरैलाई ‘सेलिब्रिटी’ बनाउने एउटा गुमनाम प्रतिभा

स्वरकी रानी बिमाको उतारचढावपूर्ण जिन्दगी

दोहोरीमा अपराजित तेजबहादुर, जसको भाग्य गाडी ठक्करले खोसियो

‘स्वागत छ दर्शक आकालाई, नमस्कार छ बेइमानी काकालाई’ का गायक पराजुली जस्ले पहिलाे दोहोरी साँझ चम्काए