खुशी उत्सर्गको...

खुशी उत्सर्गको...

सब्बु पाठक  |  साहित्य  |  आश्विन २, २०७७

काला बादल गडगडाएर
आकाशीय मैदानमा मडारिंदै छन् 
संघर्ष गर्दैछन् 
एक अर्कामा जुझ्दै छन् 
गड्याङ गुडुङ गर्दै 
पृथ्वीलाइ भयभित बनाउँदै 
लाग्छ यो जुधाइले केही आघात पुर्याउँछ 
पृथ्वीमाता लामो श्वास लिन्छिन 
अन्तत्वगत्वा लाग्छ 
बादलले चोट पुर्याएरै छोड्छ 
चोट सहन तयार छिन पृथ्वीमाता
बादल आफ्नो मार्गमा अडिग छ 
आफ्नै गतिमा गड्याङ गुडुङ गर्छ 
एक आपसमा ठोक्किछन् 
रगडिन्छन्
संघर्षको चरम सीमामा पुग्छन्
उत्सर्ग छुन्छन्
सफलता चुम्छन्
परिणाम फेरी पृथ्वीले भोग्नुपर्छ 
तर, परिणाम भने आनन्ददायी 
शितल, स्निग्ध जल 
अब बादलले जुधाइ बिर्सेको छ  
गड्गडाहटको चोट बिर्सेको छ 
अब भने पृथ्वीमाता दंग छिन 
बादलको उत्सर्गको खुशी 
र, आफ्नो प्यास मेटिंदा...