मुलबासी रुख

मुलबासी रुख

रक्ष राई  |  साहित्य  |  आश्विन २, २०७७

मेरो देश !
हामीलाई पोल्ने घाम
र रुझाउने झरी यौटै हो
हामीले ओढ्ने आकाश,
र हेर्ने जुन र ध्रुव तारा यौटै हो
हामीलाई छुने बतास
र फेर्ने स्वास यौटै हो
हामीले बाँच्दा आफ्नो भन्ने धर्ती  
र मर्दा छोडेर जाने लास पनि यौटै हो
तर हामी उभिएको भूगोल 
आज कसरी चिराचिरा पर्यो ?
कागजको खोस्टो पहिचान बन्यो
पासपोर्टले हामीलाई धुजाधुजा पार्यो
र तिमी र मलाई
नागरिकताको सीमाले डाँडा कटायो
र पासपोर्टको पर्खालले छेक्यो  ।

आज आफै पनि खण्डित छु
पातहरु चुँडिन्छन् र पश्चिमतिर खस्छन्
हाँगाहरु भाँचिन्छन् र उतैतिर झर्छन्
मुलकाण्ड काटिन्छ र अर्कोतिर हुत्याइञ्छन्
जरा उखेलिन्छन् र परतिर फ्याँकिन्छन्
मन खुस्किन्छ र आफै देखि भाग्छ
म शरीरलाई एकातिर घिसार्छु
मनले मलाई अर्कोतिर लतार्छ 
हेर्दाहेर्दै क्रमशः
मेरा अङ्गहरु स्खलन हुँदै जान्छन्
म अङ्गअङ्गमा पतन हुँदै जान्छु
र म अंशअंशमा सकिदै जान्छु
टुक्रा टुक्रामा बाँचेर म
आधा शरीर मरेको हुन्छु 
र मरेको आधा शरीर लतार्दै  सीमाना नाँघ्छु
र दुई भूगोलमा उभिन्छु
कहिले स्मृतिमा पूर्व उभिन्छु
कहिले आँधीमा पश्चिम उभिन्छु ।

यहाँ पनि बारम्बार
विपनामा चोमलुङ् आउँछ र भन्छ,
स्वर्गधाम गुमाईस् कुलंघार !
मरेपछि अलन्तरमा पर्लास्
सम्झनामा फाक्तालुंग आउँछ र भन्छ,
माटोको भार बोकिस् कुपुत्र !
मर्दा चिहान र मट्टी नपाउलास्
पूर्व आकाश हेर्छु,
मेरो हाँगामा कर्याङ्ग कुरुङ्ग बास बस्दैन
चिभेचरा कराउँदैन
जुरेलीले गुंड लगाउँदैन
घर वरिपरि हेर्छु,
एकाबिहानै खोरमा साम्खाको भाले बास्दैन
 बिहान सखारै खोरबाट सुंगुरले पनि बोलाउँदैन
पश्चिम छितिज हेर्छु,
खोलाको गीतमा धोबिनी चरी नाँच्दैन
भदौको बढी हेरेर थिबिया चरी गाउँदैन
आफ्नै मुटुको ढुकढुकी सुन्छु,
र फाक्तालुङ् छातीमा सजाएर उभिन्छु
चोमलुङ् सिरानी बनाएर उभिन्छु
र सप्तकोशी र त्रिशुलीमा आँखा बगाएर उभिन्छु।

हरेक रात मेरो आँखा पूर्व निदाउँछ
र हरेक विहान मेरो चेतना पश्चिम ब्युँझिन्छ
हरेकदिन,
मलाई पोल्ने घाम पूर्वबाट उदाउँछ
र उज्यालो छर्दै पश्चिम पुग्छु
सोंच्छु,
ज्ञान भन्ने चिज पनि भ्रान्ति नै रहेछ
पश्चिम त पूर्वको छाँया रहेछ 
पूर्वमै उज्यालो छाडेर
म किन छाँयातिर भड्किन्छु ?
म आफैलाई छाम्छु,
अँध्यारो कहाँ छ ?
आँखामा कि हृदयमा ?
साँच्ची नै   
चेतना पनि भ्रान्तिकर रहेछ
यसले-
भ्रान्ति देख्छ
भ्रान्ति सोंच्छ
भ्रान्ति सुन्छ
भ्रान्ति सुँघ्छ
भ्रान्ति चाख्छ 
र भ्रान्ति छाम्छ
उसले यहाँ
ढिस्का ढिस्किलाई पहाड देख्छ
थुम्का थुम्कीलाई हिमाल ठान्छ
खाल्टा खुल्टीलाई नेपाल भन्छ
क्यासल र युद्व शिविरलाई थुम र गढी सोंच्छ
बेलायतलाई नेपालायत सुन्छ 
पसिनाको गन्धमा गुन्द्रुक र किनेमा भेट्छ
मास पोटाटोलाई ढिडो भन्छ
पिजालाई फापरको रोटी मान्छ। 

अहो, मेरो देश !
भ्रान्ति बाँच्नु पो सुख रहेछ
भ्रान्ति हाँस्नु पो खुसी रहेछ
भ्रान्तिले हेरेपछि
टेम्स नदीमा सप्तकोशी देखिन्छ
एभन नदीमा त्रिशुली भेटिन्छ
र हिउँ खस्दैगरेको आफ्नै कपाल हेरेर सगरमाथा पुगिन्छ ।

तर सत्य पनि म नजिकै हुन्छ
तीतो यथार्थ पनि आफैसंग टाँसिन्छ
-जो अन्तिम कठोर बनेर
आँधी मैमाथि मडारिन्छ
भूइंचालो मैमाथि खनिन्छ
चट्याङ्ग मैमाथि बज्रिन्छ
असिना मैमाथि  खस्छ
घाम र झरीको के कुरा ?
हिउँ पनि ममाथि झर्छ
मान्छेको अश्त्र र अहमको के कुरा ?
डढेलो पनि मैमाथि सल्किन्छ
तै पनि,
आँधीमा घुँडा धसेर उभिनु
तुसारोमा मुन्टो टेकेर फुल्नु
मेरो नियति हो
उखेलिनु र जरिनु
जरिनु र फेरि उखेलिनु
 मेरो प्रारब्ध हो 
नाथे, म मुलबासी रुख न हुँ  !

                                                           बेलायत