२४ घन्टामा हालसम्मकै सर्वाधिक बढी संक्रमित, उपत्यकामा ८५९ जना

२४ घन्टामा हालसम्मकै सर्वाधिक बढी संक्रमित, उपत्यकामा ८५९ जना

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २, २०७७

पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च संख्या हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६१ हजार ५९३ जना पुगेको छ । ११ दिन अघि  सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो । 

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका सङ्क्रमित पुरुष एक हजार ३८१ तथा महिला ६३९ रहेका छन् ।

हालसम्म ४३ हजार ८२० जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उनले बताए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म ८ लाख ९४ हजार जनाको पीसीआर गरिएको छ । 

पाँच सयभन्दा बढी सङ्क्रमित  भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, रुपन्देही र चितवन रहेका छन् ।

यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् । हाल १७३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३६ सङ्क्रमितलाई  भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

हाल देशभर १७ हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९ हजार २९५ जना संस्थागत आइसोलेशनमा तथा ८ हजार  ८८ सङ्क्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।    

काठमाडौं उपत्यकामा  ८५९  सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८५९ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता डा.गौतमले जानकारी दिए । ती मध्ये काठमाडौँका ६९८, ललितपुरका ८२ तथा भक्तपुरका ७९ जना रहेका छन् । 

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार २३८ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष तथा दुई महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ३९० पुगेको छ ।