डा‍. अम्बिका श्रेष्ठ: अप्ठ्यारा समय झेल्ने पहिलो महिला मनोचिकित्सक ओझेलमा

डा‍. अम्बिका श्रेष्ठ:  अप्ठ्यारा समय झेल्ने पहिलो महिला मनोचिकित्सक ओझेलमा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  आश्विन ३, २०७७

डा‍. अम्बिका श्रेष्ठ  काठमाडौँको रैथाने नेवारको छोरी । छोरीले शिक्षा प्राप्त गर्नु नै ठुलो कुरो रहेका बेला छात्रवृत्तिमा पढेर डाक्टर हुनु आफैँमा गर्वको कुरा हो ।

अझ पुरुष प्रधान हाम्रो समाजमा पुरुष मनोचिकित्सक नै सहकर्मीका मजाकका पात्र बन्थे । पागलको डाक्टर, पागल त सामान्य नै थियो ।

पुरुष स्वयं पनि मानसिक चिकित्सा पढ्न र काम गर्न हिचकिचाउने समयमा एउटी महिलाले त्यो आँट गर्नु भनेको आफैँमा गर्वको विषय हो ।

नेपालको पहिलो महिला मनोचिकित्सक अम्बिका श्रेष्ठको जीवनको आरोह अवरोहको दस्ताबेज हो यो आलेख ।

जन्म र बाल्यकाल

उहाँको जन्म २००२ सालमा भएको हो । काठमाण्डौँको असन टोलमा । उहाँको नागरिकतामा पनि साल भने यही नै उल्लेख छ । तर, महिना भने फरक पर्‍यो । हिउँदमा जन्मेको उहाँ तर नागरिकताको महिनाले भने वर्षा हुन गयो ।

उहाँको आफ्नो भने एक जना दाइ मात्र हो । तर, संयुक्त परिवारमा बसेका कारण उहाँले काकाका छोराछोरीलाई र काकाका छोराछोरीले उहाँहरूलाई पनि दाजुभाइ दिदीबहिनी सरह नै व्यवहार गर्ने गर्नहुन्थ्यो ।

घरमा उहाँको उमेरका मानिस नभएकोले खेल्ने भन्दा पनि  एक्लै बस्नुहुन्थ्यो उहाँ घरमा । घरमा किताब लिएर बस्यो पढ्यो । यसो कहिलेकाहीँ मानिसहरू जमघट भएको पनि उहाँलाई त्यति रुचिकर लाग्दैनथ्यो । एक छिन साथ दिन बस्यो हुलमुलमा अनि पट्यार लागेपछि हिँड्यो आफ्नो कोठातिर ।

सधैँ नभए पनि कहिलेकाहीँ साथीभाइको जमघटमा भने गट्टा, खल्याङखुट्टी भने खेल्ने गरिन्थ्यो उहाँ भन्नुहुन्छ ।

उहाँको बुबा ‘ड्राफ्ट म्यान’ । त्यस बेला ‘ड्राफ्ट म्यान’लाई पनि ओभरसियर, इन्जिनियर सरह नै मान्यता दिइन्थ्यो उहाँ भन्नुहुन्छ ।

प्रारम्भिक शिक्षा

नौ, दश वर्षसम्म उहाँको प्रारम्भिक शिक्षा घरमा नै भयो । विद्यालय शिक्षा भने काठमाडौँको भगबतीबारीमा रहेको शान्ति निकुञ्ज स्कुलबाट प्रारम्भ भयो । विद्यालय शिक्षाको समापन पनि त्यही स्कुलबाट नै भएको हो ।

त्यस बेलामा महिलाहरूले पढ्ने भन्ने दुर्लभ जस्तै थियो । तर, उहाँको आमाले सधैँ पढ्न हौसला दिने तथा छोरीलाई पनि पढाउनुपर्छ भन्ने एउटा दृढताका कारण उहाँको पढाई सम्भव भएको हो ।

स्कुलमा उहाँ ‘फस्ट बेञ्ची’ होइन । प्राय बिचको बेन्चमा बस्नुहुन्थ्यो । उहाँ धेरै राम्रो कुशाग्र विद्यार्थी पनि होइन । लद्दु पनि होइन । बिचको । उहाँ बस्ने कक्षा कोठाको बेन्च जस्तै ।

उहाँहरूको कक्षामा बिस बाइस जना हुन्थे । त्यसमध्ये सात आठ जना केटी थिए । उहाँको रोल नं त ठ्याक्कै याद नभए पनि दशदेखि बाह्रसम्म हुन्थ्यो जस्तो लाग्थ्यो, उहाँ भन्नुहुन्छ ।

उहाँलाई गीत गाउन मनपर्दथ्याे । स्कुलमा सांस्कृतिक कार्यक्रम हुँदा उहाँ गीत पनि गाउने गर्नुहुन्थ्यो ।

उहाँ दश कक्षामा पढ्दा एक दुई जना केटीहरू बेहोस भएका थिए । अनि यसो एक छिन बाहिर लगेर पानी छम्केपछि होशमा आउँथे । त्यस बेला यो के भएको हो थाहा थिएन् । तर, पछि भने यो हिस्टेरिया रहेछ भन्ने उहाँलाई थाहा भयो ।

कहिलेकाहीँ केटाहरूलाई पनि छारे रोग हुन्थ्यो । यो पनि छारे रोग हो भनेर पछि मात्रै थाहा भयो, उहाँ भन्नुहुन्छ ।  

त्यो बेलामा पनि केटाहरूले केटीहरूलाई जिस्क्याउँथे । केटीहरू नबोले पनि पछाडिबाट कोट्याई कोट्याई बोलाउँथे । कागजमा लेखेर डल्लो पारेर हिर्काउँथे ।

उहाँले त्यस बेला एसएलसी ‘सेकेन्ड डिभिजन’मा उत्तीर्ण गर्नुभएको हो ।

महिलाले पढ्नु र एसएलसीमा ‘सेकेन्ड डिभिजन’ ल्याउनु भनेको त्यो बेला धेरै ठुलो उपलब्धि मानिन्थ्यो ।

उहाँले नाम लिन चाहनुभएन एक जना रसियाबाट फर्केर आएका डाक्टरले ‘हेड’को स्पेलिङ पनि लेख्न सकेनन् रे ! त्यसपछि के चाहियो । ‘रस्सा रिर्टन !’ भनेर उहाँहरूको उछितो काढिन्थ्याे  । सिस्टरहरूले समेत ‘स्पेलिङ’मा ‘अन्डरलाइन’ गरेर राख्थे । 

उच्च शिक्षा

उहाँले उच्च शिक्षाको थालनी पब्लिक साइन्स क्याम्पसबाट गर्नुभएको हो । अर्थात् अहिलेको अमृत साइन्स कलेज ‘अस्कल’बाट ।

उहाँ भन्नुहुन्छ, पहिले अस्कल क्याम्पस त्रिचन्द्र कलेजमै थियो । बिहान पढाई हुन्थ्यो । आइएस्सी पहिलो वर्ष उहाँले त्रिचन्द्रमा रहेको पब्लिक साइन्स क्याम्पसमा पढ्नुभएको हो । दोस्रो वर्षमा भने अस्कल लैनचौरमा सर्‍यो । कलेज सार्दा सामानहरू मिलाउनेदेखि अन्य काममा उहाँले पनि सहयोग गर्नुभएको थियो ।

अमृत साइन्स कलेजका प्रिन्सिपल अमृत प्रसाद प्रधान एउटा सेमिनारमा भाग लिन जाने क्रममा हवाई दुर्घटनामा  परेर मृत्यु भएको थियो । त्यसपछि उहाँको सम्झनामा पब्लिक साइन्स क्याम्पसको नामाकरण अमृत साइन्स कलेजका रुपमा भएको हो । त्यो हवाई यात्रामा अरु थुप्रै वैज्ञानिकहरुकाे  मृत्यु भएको थियाे ।

दुई नम्बरले उहाँको आइएस्सीमा ‘सेकेण्ड डिभिजन’ पुगेन ।

पढ्नका लागि फट्याइँ

पढ्नका लागि वा राम्रो गर्नका लागि कहिलेकाहीँ फट्याइँ पनि गर्नुपर्दो रहेछ, उहाँ भन्नुहुन्छ ।

उहाँलाई त्यसबेला जेरी,स्वारी किन्न असन पठाइन्थ्यो । उहाँले फिर्ता आएको पैसामा यसो दश, पन्ध्र पैसा आफैँसँग राख्नुहुन्थ्यो । किनकि घरमा आफूले मागेको बेला कापी किताब किन्न पैसा नहुन सक्थ्यो त्यो बेला ।

आमाले तरकारी किन्न पठाउँदा पनि अलि अलि पैसा राख्नुहुन्थ्यो । यति उति नभनी मैले अलि अलि पैसा राखेको छु है भनेर भन्नहुन्थ्यो । यति उति चाहिँ नभन्ने । आमाले तँलाई किन चाहियो र पैसा भन्दा कापी किताब किन्न भन्नुहुन्थ्यो ।

फेरि त्यस्ता सङ्गृहीत पैसा साँच्चै उहाँले कापी, किताब आफूलाई आवश्यक पर्ने यस्तै चिज किन्नमा खर्च गर्नु हुन्थ्यो ।

उहाँको एक जना मामा पनि शिक्षक हुनुहुन्थ्यो । मामाले स्कुलबाट परीक्षाको कापी जाँच्न ल्याउनुहुन्थ्यो । परीक्षार्थीले सबै पाना लेखेर भरेका हुँदैनथे । कति खालि हुन्थ्यो । अनि उहाँ फुर्सदमा मामाघर जाँदा ती खालि पाना जतन गरेर च्यातेर ल्याउनुहुन्थ्यो । अनि ती पाना जोडेर त्यसको बिटमा कपडा राखेर सिलाएर आफूलाई लेख्ने कापी बनाउनुहुन्थ्यो, उहाँले विगत याद गर्नुभयो ।

घरमा बुझाउनै गाह्रो

त्यो बेलामा पढ्ने भन्ने नै गाहो थियो । अझ केटी मान्छेले पढ्ने भन्ने त अर्को दुर्लभ चिज थियो, उहाँ भन्नुहुन्छ ।

उहाँले आइएस्सी पहिलो वर्ष बिहानी सत्रमा पढ्नु भएको हो । पब्लिक साइन्स क्याम्पस जुन त्रिचन्द्र कलेजमा थियो । त्यति बेलासम्म त ठिकै थियो ।

उहाँ दोस्रो वर्ष हुँदा पब्लिक साइन्स क्याम्पस सरेर लैनचौर गयो । जो अहिले अस्कल क्याम्पसका रुपमा परिचित छ । पहिले बिहानी सत्रमा पढाइ भइरहेकोमा अब भने दिवा सत्रमा पढाई हुने भो ।

यसो हुँदा गर्मी याममा त केही भएन । तर, जाडो याममा भने दिन छोटो हुन्थ्यो । चाँडो रात पथ्र्यो । अनि प्राक्टिकल सकाएर घर जाँदा अँध्यारो हुन्थ्यो ।

अनि उहाँ केरकारमा पर्नु हुन्थ्यो । कहाँ गएर आइस ? किन ढिला आदि आदि । अहिले त यो समस्या रहेका बेला त्यो बेला त यसलाई सामान्य नै मानिन्थ्यो । घरका मान्छेलाई प्राक्टिकल क्लासका बारेमा बताएर पनि कति बुझ्ने हो र । अनि अलि ढिलो भएका बेलामा भने जुत्ता फुकालेर हातमा लिएर जाने । ताकि आवाज नआओस् ।

घरको सबै मान्छे भान्छामा हुन्थे । बिस्तारै कोठातिर लाग्यो । अनि कहिले आफू पनि भान्छामै मिसियो । यसरी जोगिनुहुन्थ्यो उहाँ ढिलो आएकोमा गाली खानबाट ।

कहिलेकाहीँ उहाँहरू साथीभाइसँग मिलेर फिल्म पनि हेर्न जाने गर्नुहुन्थ्यो । जय नेपाल हलमा । यस्तो बेला पनि कहिलेकाहीँ ढिलो भयो भने ‘फर्मूला’ उही लागुहुन्थ्यो । जुत्ता फुकालेर हातमा लिने । अनि बिरालोको चालमा आवाज नआउने गरी कोठामा जाने ।

उहाँको स्मृतिमा रहेका त्यस बेला हेरेका फिल्ममा मधुमती कोहोरा, बीससाल बाद आदि  थिए ।

डाक्टरी पढाई

उहाँ सन् १९६५ मा एमबिबिएस पढ्नका लागि सोभियत सङ्घ जानुभयो ।

काठमाडौँ खाल्डोबाट खासै बाहिर नगएको मान्छेलाई त्यस बेलाको सोभियत सङ्घ औधि लाग्नु स्वाभाविक हो । त्यस बेला रानीपोखरी काटेर बागबजार जाँदा पनि साथी लिएर हिंड्नुपथ्र्यो । रानीपोखरी उता त गाउँ भनेपनि हुन्थ्यो ।

पढ्न जाने भएपछि टोल छिमेकले उहाँको आमालाई कान भर्न थाले । बिहे गर्ने बेला भएको छोरी त्यत्रो टाढा पढ्न पठाएर । त्यसमाथि छोरी मान्छे एक्लै पठाउने । यस्ता अनेक कुरा सुनियो । तर, उहाँको आमाले फेरि उहाँलाई साथ दिनुभयो । छोरी पढ्न जान्छु भनेपछि जान्छे । यसलाई रोक्न हुँदैन भनेर भन्नुभयो आमाले ।

उहाँ पढ्न जाँदा तीन जना केटीहरूले छात्रवृत्ति पाएका थिए । अरु बाह्र तेह्र जना भने केटाहरू नै थिए । त्यस बेला पनि पार्टीको तर्फबाट भनेर पढ्न जानेहरू हुन्थे ।

उहाँलाइ मस्कोको फस्ट मेडिकल कलेजमा पढ्ने अवसर प्राप्त भयो । एक वर्ष भाषा र पाँच वर्ष डाक्टरी । अनि उहाँ आफू बिरामी भएका कारण पनि उहाँको डाक्टरी केही लम्बियो ।

मेडिकल कलेजमा पनि उहाँलाई गाह्रै भयो पढ्न । दिन रात नभनी पढ्नु पर्ने । ड्युटी पनि गर्नुपर्ने । साथीभाइ पनि छुट्टा छुट्टै भए । उहाँ एक्लै पर्नु भयो । कतै घुम्न जाऊँ भने पनि भाषा नबुझिने । त्यसो हुँदा एक पटक त उहाँलाई नपढी फर्कौँ जस्तो पनि भयो ।

तर, नआउनु पढ्न आइसकियो । अब फर्केर गयो भने के भन्लान् । कसरी मुख देखाउने । आमाले त्यत्रो सङ्घर्ष गरेर पठाएको उहाँको इज्जत कहाँ पुग्ला भनेर मन बाँधेर फेरि पढाइमा ध्यान दिएर पढ्न थाल्नुभयो ।

त्यो बेला सोभियत सङ्घमा कम्युनिजम थियो । उनीहरूका मान्छेका विरुद्ध बोल्न नहुने । कुरा काट्न नहुने जे भन्यो त्यही मान्नुपर्ने थियो । तर, उहाँहरू राजनीतिक प्रभावबाट नगएका कारण त्यस्तो केही व्यहोर्नु परेन ।

राजनीतिप्रति आबद्ध मान्छेलाई भने अर्कै दृष्टिकोणबाट हेर्थे उनीहरूले । कम्युनिस्ट पार्टीको कोटाबाट पढ्न गएकालाई सेवा सुविधा पनि बेग्लै हुन्थ्यो । नपढे पनि उनीहरूलाई पास गराइन्थ्यो ।

उहाँहरू भने घोटिएर पढ्नुुहुन्थ्याे । तर, पार्टीका मान्छे भने कता कता पार्टीको कामतिर हुन्थे । हल्लिराखेको देखिन्थ्यो । तर, पनि उनीहरू कहिल्यै फेल भएनन् । त्यसलाई भने उहाँ एकदमै ठुलो विभेदको रुपमा ठान्नुहुन्छ ।

कलेजले भने विदेशी विद्यार्थीलाई तिमीहरूले हाम्रो देशको नाम बदनाम गर्न पाउँदैनौ भनेर घोटाएर पनि पढाउँथे । त्यो बेलासम्म सोभियत सङ्घ विदेशीका लागि त्यति खुला नभइसकेको कारण उहाँहरूलाई पनि माया नै गर्थे ।

उहाँ सन् १९७३ मा डाक्टरी सकेर नेपाल फर्कनु भएको हो । डा अम्बिका श्रेष्ठ बनेर । 

नेपाल फर्किएपछि 

उहाँ डाक्टरी सकेर फर्केर आएपछि करिब चौध महिना जनक शिक्षामा ‘झिँगा मारेरै’ बिताउनु भयो । एउटा भर्खरै पढेर आएको ‘फ्रेस’ डाक्टरले जनक शिक्षामा गर्ने चाहिँ के हो उहाँ आफैंले आफूलाई प्रश्न गर्नुहुन्छ । पढेर आएको त्यो जोस जाँगरको सदुपयोग गर्न पाइएन भन्ने उहाँको गुनासो हिजोआज पनि रहेको छ ।

त्यसपछि बल्ल उहाँले वीर अस्पतालमा काम सुरु गर्नुभयो । जान त उहाँ मेडिकल तथा इमर्जेन्सी वार्डमा पनि नगएको भने होइन । तर पछि उहाँले साइक्याट्री वार्डमा काम गर्न थाल्नुभयो ।  

केही समय वीर अस्पतालमा काम गरेपछि उहाँ टेकु अस्पताल जानुभयो । टेकु अस्पतालमा सत्र अठार महिना काम गरेपछि उहाँ फेरि वीर अस्पताल नै आउनु भयो । 

त्यसबेला साइक्याट्री वार्डमा कोही पनि काम गर्न मान्दैनथे । वार्ड पनि छिँडीमा । अँध्यारो अनि बेड पनि धेरै थिएन । नेपालको पहिलो मानसिक रोग विशेषज्ञ डा. विष्णु प्रसाद शर्मा त्यस बेला सुपरिटेन्डेन्ट हुनुहुन्थ्यो । 

डा. शर्माले उहाँलाई काम गर्न अफर गर्नुभयो । उहाँ दुबिधामा हुनुहुन्थ्यो । त्यसबेला सानो छोरी भर्खर जन्मिएको थियो उहाँको । नाइट ड्युटी गर्न अप्ठ्यारो थियो उहाँलाई । साइक्याट्री वार्डमा नाइट ड्युटी गर्नु पर्दैनथ्यो । त्यस कारण उहाँको रोजाइमा पर्याे साइक्याट्री । 

डा.प्रियंबदा खनाल पनि हुनुहुन्थ्यो साइक्याट्री वार्डमा । हाल उहाँ स्वर्गीय भैसक्नु भएको छ । 

सुरु सुरुमा त जानै अप्ठ्यारो लाग्ने । कस्तो ठाउँमा काम गर्न आइएछ जस्तो लाग्थ्यो । साथीहरू तथा अरूले पनि कस्तो त्यस्तो बहुला वार्डमा काम गर्न लागेको भन्थे । 

उहाँले साइक्याट्री वार्डमा झन्डै दुइवर्ष जति काम गर्नुभयो होला त्यसबेला । अरु साथीहरूले कि तिमी त्यही विषयमा पढ्न जाऊ । हैन भने छोडेर अरु डिर्पाटमेन्टमा जाउ भने । उहाँलाई लाग्यो अब यत्तिका वर्ष काम गरिसकियो । रमाइलो लाग्न थालिसक्यो । धेरै कुरा सिकिसकियो । जानिसकियो भने यो विषयमा नै पढ्न किन नजाने । कतिपय त्यो विषयमा काम नै नगरेका पनि पढ्न जान्थे छात्रवृत्तिमा त्यसबेला । 

अनि उहाँ स्वयंले आफैं स्वास्थ्य मन्त्रालय गएर सचिवसँग कुरा गरेर कोटा निकाल्न लगाएर पढ्न जानु भयो । 

पढ्न फेरि सोभियत सङ्घ

दश बाह्र वर्षपछि उहाँ फेरि विद्यार्थी हुनुभयो ‘डिप्लोमा इन साइक्याट्रीको । त्यो पनि सोभियत सङ्घमै । मेन्टल हेल्थ साइन्स कलेजमा । त्यसपछि क्रिमियामा फेरि  एक वर्ष पढ्नुभयो ।

यो दश बाह्र वर्षमा उहाँको जीवनमा पनि थुप्रै परिवर्तन आइसकेको थियो । बिहे । श्रीमान् । बालबच्चा । एउटा महिलालाई पढाइ छोडेको दश बाह्र वर्षपछि फेरि आफ्ना सबै छोडेर पढ्न जानु कत्तिको अप्ठ्यारो थियो त्यो उहाँ बाहेक अरूले अनुभूति गर्न सक्ने  विषय नै थिएन  । 

पढ्न किताब पल्टायो कि आँखाबाट आँशु आउँथ्यो, उहाँ भन्नुहुन्छ । अनि अरु साथीहरूले किन रोएको भनेर सोध्थे । घर सम्झेर होला भन्थे । रुन हुँदैन । यस्तै हो । नरोऊ  हामी छौँ भनेर सम्झाउँथे । त्यो बेला भाषा पनि जानेको र रसियनहरूलाई पनि बुझिसकेको हुनाले त्यति गाह्रो भने भएन, उहाँ भन्नुहुन्छ । 

अनि फर्केर आउनु भयो नेपाल । 

विवाह 

उहाँको विवाह सन् १९७० तिर भएको हो । प्रेम विवाह । उहाँहरूको चिनजान भेटघाट यहीँको कलेजमा भएको हो । पछि सोभियत सङ्घमा पढ्न जाँदा उहाँ पनि सँगै हुनुहुन्थ्यो । उहाँको श्रीमान् भने इलेकट्रिकल इन्जिनियर । 

त्यो जमानामा मागी विवाह त कत्ति अप्ठेरो थियो । प्रेम विवाह त झन् कत्ति गाह्रो थियो होला भन्दा उहाँ भन्नुहुन्छ, धेरै नै अप्ठेरो थियो । भैगो अब त्यो प्रसङ्गमा प्रवेश नगरौँ । 

उहाँको एक छोरा तथा एक छोरी  हुनुु हुन्छ । छोरा भने आफ्नै व्यवसायमा हुनुहुन्छ । छोरी चाहिँ मेडिकल डाक्टर नै हो । उहाँ भने अहिले अमेरिकामा हुनुहुन्छ । 

पढेर फेरि फर्किएपछि 

पढ्न भन्दा पढेर फर्केर आइसकेपछि झन् दुःख भयो उहाँ भन्नुहुन्छ । त्यसैले कलेजले छुट्टीमा नेपाल आउँदा पनि तिमीहरू हस्पिटलमा गएर यसो सिक्दै गर्नु भन्थ्यो । किनकि इन्डियाबाट पढेर आएकाहरूको अंग्रजी राम्रो हुन्थ्यो । औषधिको नामदेखि सबै अंग्रजीमा हुन्थ्यो । उहाँहरूलाई भने भाषाले समस्या बनाउँदो रहेछ । 

कोही कोही डाक्टरले त रसियाबाट पढेर आएको भनेपछि यति हेप्थे कि भेडा बाख्रा जस्तो गर्थे, उहाँ भन्नुहुन्छ । पढ्ने जहाँसुकै पनि सबै एकदमै राम्रा पनि हुँदैनन् र नराम्रा पनि । औसत त प्राय सबै हुन्छन् नै । तर, पार्टीको कोटाबाट गएकाहरू नपढी त्यसै पास भएर सर्टिफिकेट लिएर आउने कारण यो हेपाइ खानु परेको उहाँको ठम्याइ छ । 

उहाँले नाम लिन चाहनुभएन एक जना रसियाबाट फर्केर आएका डाक्टरले ‘हेड’को स्पेलिङ पनि लेख्न सकेनन् रे ! त्यसपछि के चाहियो । ‘रस्सा रिर्टन !’ भनेर उहाँहरूको उछितो काढिन्थ्याे  । सिस्टरहरूले समेत ‘स्पेलिङ’मा ‘अन्डरलाइन’ गरेर राख्थे । 

तर, रसियाबाट पहिले पढेर आएकाहरूले भने उनीहरूले आफूले दुःख पाइसकेको कारण उहाँहरूलाई बिदामा आउँदा पनि हस्पिटल बोलाउँथे । 

ड्युटीमा राखेर सबै हेर्न लगाउँथे । सिकाउँथे । त्यसले धेरै नै मद्दत गर्याे उहाँलाई । 

मानसिक अस्पतालको आवश्यकता

उहाँ लगायत साइक्याट्री वार्डमा काम गर्ने सबैले वीर अस्पतालको छिँडीको विभागलाई अब एउटा मानसिक अस्पताल चाहिन्छ भन्ने आवश्यकता महशुश गरिसक्नुभएको  थियो । तर, सरकारले सुनिरहेको थिएन । 

नेपालको प्रथम मानसिक रोग विशेषज्ञ तथा सुपरिटेन्डेन्ट डा. विष्णु प्रसाद शर्माले मन्त्रालयमा गएर कुरा राख्दा कसैले पनि मतलबै गर्दैनन् भन्नुहुन्थ्यो । 

अहिले मानसिक अस्पताल भएको स्थानमा जिल्ला अस्पताल थियो । त्यो सरेर हालको पाटन अस्पतालमा गएपछि सरकारको स्वीकृति बिनै रातारात डा. शर्माले त्यहाँ वीर अस्पतालबाट सामान सार्नुभएको हो । यसरी मानसिक अस्पतालको जन्म भएको उहाँ बताउनुहुन्छ । यो २०४० सालको कुरा हो । 

भोलिपल्ट उहाँ वीर अस्पताल जाँदा त ‘ह्वांग’ थियो वार्ड त । सबै साथीहरूले तेरो वार्ड त सर्याे लगनखेल गयो भने । 

अनि उहाँहरू लगनखेल अस्पताल जान थाल्नुभयो । सुरु सुरुमा त पुरानो भवन । मुसा दौडने । अँध्यारो थियो । तर, ठुलो ठाउँ भएकोले अर्कै रमाइलोको महसुस हुन थाल्यो ।  

मानसिक डाक्टर त्यो पनि महिला 

उहाँले डाक्टरी पढेका बखत एउटा महिला डाक्टर हुनु नै पनि गर्वको कुरा थियो । तर, साइक्याट्रिस्ट भएर काम गर्नु भनेको त्यो बेलामा एउटा पुरुषलाई पनि जटिल थियो । झन् उहाँ त महिला । त्यसको अप्ठ्यारो भनिसाध्य छैन, उहाँ भन्नुहुन्छ । 

उहाँको घरमा उहाँ पढेर फर्केर आएपछि महिलाहरूलाई ‘आइमाई’ डाक्टर भएको हुनाले सजिलो हुने भयो भन्ने रहेछ । 

उहाँले म त्यस्तो डाक्टर होइन भनेपछि के को डाक्टर त भनेर सोधियो । उहाँले म मानसिक रोगको डाक्टर भनेपछि कस्तो बहुला यो । बहुलाको डाक्टर भनेर भनियो उहाँलाई घरमा । 

पहिले लगनखेल जान ट्रली बसबाट थापाथली उत्रिए पछि अर्को बस चढ्नुपर्थ्यो । अनि बसमा अस्पताल आएका कोही मानिस रहेछन् भने उनीहरूले कानेखुसी गर्थे । 

भनेको नसुनिए पनि उनीहरूले के कुरा गरेका हुन भन्ने थाहा हुन्थ्यो । त्यसले अलि हताश भने बनाउँथ्यो उहाँ भन्नुहुन्छ । 

त्यो बेलामा बिरामी पनि त्यति धेरै आउँदैन थिए अस्पतालमा । पन्ध्र, सोह्र जना हुन्थ्यो होला दिनमा । औषधि पनि थिएन । सामान्यतया अरु रोगको जस्तो खतरा पनि थिएन । इलेक्ट्रिक शक दिँदा भने बिरामी होसमा नआउन्जेल उहाँकै होस जान्थ्यो, उहाँ भन्नुहुन्छ । 

बिरामीसँगको सम्झना 

मनोचिकित्सामा बिरामीहरूलाई होइन र हुँदैन भन्नु हुँदैन उहाँ भन्नुहुन्छ । सुरु सुरुमा त अलि अनुभव भएन । पछि यसमा सुधार आयो । उनीहरूको कुरा पहिले आफूले सुन्ने र आफ्नो तरिकाले पछि उनीहरूलाई बुझाउने । 

मानसिक रोगी यदि महिला छन् भने उनले नारकीय जीवन बिताउनु पर्थ्याे यहाँ, उहाँ भन्नुहुन्छ । 

असन चोकमा एक जना महिला बिरामी हेर्नलाई उहाँलाई बोलाइयो । तर, घरमा माथि भने लगिएन । छिँडीको ढोका खोलियो । एउटा सानो बत्ती बलिरहेको थियो । उहाँले बिरामी खोइ त भनेर सोध्नुभयो । एउटा सानो काठको फल्याक उचालेर यहीँ छ बिरामी भनियो । 

त्यहाँ कोठामा सबै काठ ठोकेर राखिएको थियो । त्यो सब आवाज बाहिर नजाओस् भनेर गरिएको रहेछ । भुँइमा बोरा ओच्छ्याइएको थियो । लुगा पनि मैलो र झुत्रो । उहाँको मन सारै दुख्यो । जनावरलाई पनि त्यसरी राखिँदैन होला, उहाँ भन्नुहुन्छ । 

कपाल जिग्रिँगं । टाउको भरी जुम्रा । अब कसरी हेर्ने त्यस्तो बिरामी । म यस्तो बिरामी त हेर्न सक्दिन । बिरामीलाई माथि लगेर लुगा फेरेर सफा बनाउनुस् अनि मात्र म बिरामी हेर्छु होइन भने म हेर्दिन भन्नु भयो उहाँले । बरु म त्यति बेर यहीँ कुरेर बसुँला । 

पहिले त मानेका थिएनन् । कुरेर बस्छु भन्दा पनि हुँदैन भने आएको काम भएन, फर्कन्छु भनेपछि बल्ल बिरामीलाई माथि लगियो । सफा पनि बनाइयो । 

बिरामीका बारे सबै सोध्नुभयो उहाँले । कराउँछ, चिच्याउँछ, झम्टिन खोज्छ भनेर भने । अब बिरामी यसरी राखेर निको हुँदैन । अब बिरामीलाई निको बनाउने भए अस्पताल लिएर आउनुस् । भर्ना गर्नुपर्छ । यसरी राख्दा त झन् रोग बढ्छ । अब के गर्ने तपाँइहरुको इच्छा । अहिले बिरामीलाई सुई लगाउन सकिँदैन त्यसैले एउटा झोल औषधि छ यो खानामा राखेर खान दिनुस् भनेर उहाँले दिएर आउनु भयो । 

त्यो बिरामी अस्पताल आएको उहाँलाई जानकारी छैन । त्यो बिरामी त्यसै मर्याे होला शायद उहाँ भन्नुहुन्छ । त्यो घटना आजसम्म पनि उहाँको मनबाट हट्न सकेको छैन । त्यो घटनाले अहिले पनि एक प्रकारको पीडा दिन्छ, उहाँ भन्नुहुन्छ । 

महिलाको अवस्था दयनीय छ, उहाँ भन्नुहुन्छ । आमा छउन्जेल छोरीको उपचार गर्छन् । बुहारी बिरामी भई भने उसको अवस्था झनै दयनीय हुन्थ्यो त्यो बेला उहाँ सम्झनुहुन्छ । 

बिहे नभएको महिला बिरामी भइन भने आउने बित्तिकै बिहे गरेपछि ठिक हुन्छ कि हुन्न डाक्टर साप भनेर सोध्थे त्यस बेला । म चाहिँ त्यस्तो सल्लाह दिन्न । अब बाँकी तपाईँको विचार उहाँ भन्ने गर्नुहुन्थ्यो । 

कसै कसैलाई भने ठिक पनि हुन्थ्यो । तर, त्यस्तो सबै केसमा होइन । हिस्टेरियाको केसमा भने ठिक हुने सम्भावना हुन्छ । वातावरण परिवार सबै माहौल परिवर्तन हुँदा त्यस्तो पनि हुनसक्छ । तर, अरु मानसिक रोगमा भने त्यस्तो हुँदैन । 

सङ्घ संस्थामा संलग्नता 

बुढानीलकण्ठमा रहेको लागुपदार्थ पुनर्स्थापन केन्द्र 'वे अफ लिभिङ'मा उहाँको संलग्नता रहेको छ । त्यस्तै वानेश्वरमा रहेको आरोग्य मन्दिरमा पनि उहाँको संलग्नता रहेको छ । निःसहाय सेवा सदन नामक वृद्ध आश्रममा पनि उहाँको संलग्नता रहेको छ । जसको अध्यक्ष सगुन शाह र उहाँको श्रीमान् उपाध्यक्ष हुनुहुन्छ । 

साइक्याट्रिस्ट एसोसिएसन नेपाल (प्यान)ले उहाँलाई पहिलो महिला मनोचिकित्सक रुपमा सम्मान गरेको छ । 

उहाँ त्यति खुलेर बाहिर नआउने हुनाले पनि नेपालको पहिलो महिला चिकित्सकका रुपमा नचिनिएको बताउनुहुन्छ । त्यस कारण पनि मान सम्मान त्यति नपाएको र चासो पनि नरहेको बताउनुहुन्छ । 

आफ्ना कुरा

उहाँले असनमा हेरेको त्यो महिला बिरामीले सेवा पाउन नसकेका कारण बेड सहितको एउटा प्राइभेट क्लिनिक पनि चलाउनु भयो । क्लिनिक करिब दश वर्ष चल्यो । यसमा उहाँको छोरा छोरीले पनि साथ दिनुभएको थियो । 

उहाँले क्लिनिकमा आर्थिक रुपमा कमजोर महिला तथा पुरुषहरूलाई निःशुल्क उपचारको समेत प्रबन्ध मिलाउनु भएको थियो । 

उहाँको बढुवा भएर प्रथम श्रेणी भएपछि यहाँ दरबन्दी नभएका कारण विराटनगर सरुवा गरियो । तर, भन्नलाई प्रथम श्रेणीको चिकित्सक भन्ने अनि बस्ने व्यवस्था पनि छैन, अस्पतालमा बिरामी जाँच्ने कोठा पनि थिएन । अब कुरेर कति दिन बस्ने भनेर उहाँले विराटनगर दश दिन बसेपछि राजीनामा गर्नुभयो । 

अरूले त कोसी अस्पतालमा जान पाउँदा पनि किन राजीनामा गरेको भन्थे । तर, व्यवस्था केही छैन अनि घरपरिवार कति छोड्ने उहाँ भन्नुहुन्छ । 

राजीनामा गरेपछि उहाँले आफ्नो सेवा मेडिकेयर हस्पिटल मार्फत दिन थाल्नुभयो । 

उहाँको चित्त दुखाइ भने महिला र पुरुष मानसिक बिरामीलाई परिवारले गर्ने व्यवहारमा रहेछ । छोरा मान्छेलाइ चाँही हस्पिटल ल्याउँदा पनि माया गरेर ल्याउने । उपचार पनि राम्रोसँग गर्ने । तर, छोरीलाई चाहिँ जे गरे पनि गरोस् भन्ने किसिमले ल्याउने ! हेरविचार नगर्ने जुन प्रवृत्ति छ त्यसमा समाजले परिवर्तन ल्याउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । 

अन्त्यमा 

एउटा महिला साइक्याट्रिस्ट भएका नाताले उहाँले जुन अप्ठ्यारा भोग्नु भयो, कठिनाइ झेल्नु भयो त्यो अहिलेका पुस्ताले भोग्नु नपरोस् । साथै महिला र पुरुष बिरामीलाई गरिने जुन डरलाग्दो विभेद छ त्यसको अन्त्यका लागि आजैबाट आवश्यक कदम चाल्दा त्यसले सिंगो देश, समाज र परिवारलाइै नै लाभ पुग्ने डा. अम्बिका श्रेष्ठको भनाई रहेकाे छ  ।