बुढासुब्बा

बुढासुब्बा

मदन राई 'लामाखुले'  |  साहित्य  |  आश्विन ३, २०७७

यसपालाचाहिँ पूजा गर्न जाँदा
पक्कै नबिर्सिकन सोध्नुपर्ला
बुढासुब्बालाई
ए हजुर !
यो तपाईँँको करेसाबारीमा रोपेको
बाँसको टुप्पो कसले काटिदियो ?

टुप्पो नभएको बाँसको ढुङ्ग्रोमा तोङ्बा
मिठो हुन्छ र ?
हुन्न हजुर मात लाग्दैन,
ठुटे बाँसको चुङ्गे पनि हुन्न
हजुरलाई रक्सी चढाउनलाई,
सत्य युगमा बैेरीसँग लड्दा
शक्तिशाली धनुषवाण बनाउन,
त्यही बाँस प्रयोग गर्नुभएको
सिकार गरेर
वन, जङ्गल, खोला, नाला, भिर, पहरा
सबै आफ्नो बसमा ल्याउनुभएको,
अहिले त त्यही बाँसको
टुप्पै काटिएछ ।

त्यति मात्र कहाँ हो र,
धनुषवाण पनि अरुले नै
खोसेर लगेछ,
पासो थाप्ने फित्कौली बनाउन,
गिटी, ढुङ्गा, बालुवा बोक्ने डोको बुन्न,
हरेक कामको लागि चाहिने
तपाईँको घुर्‍यानको बाँसको
सान नै खसाई दिएछ ।

कसले यसो गर्‍यो हजुर ?
यत्ति मात्र कहाँ हो र,
सायद, तपाईँको आफ्नै
फुर्तिलोपना झल्काउने
टल्कने र पाइन देखाउने
सिरूपाते पनि
अर्कैले लगेछ कि क्या हो,
यतिखेर तपाईँसँग के छ त ?
मात्र उही
भुत्ते खुकुरी
र ठुटे बाँसघारी ।

बत्तीसपुतली, काठमाडाैँ