एलिसा ढुङ्गाना | साहित्य | आश्विन ३, २०७७
ऊ आयो
मेरो जिन्दगीमा
तर,
न्यानो प्रेम लिएर आयो
र,
छोडेर गयो
गाढा याद दिएर ।
गुनासो गर्नै नसकिने
आँसु बगाउन पनि नहुने
साथीसङ्गीलाई जिस्किँदै
खुलेर बताउन पनि नमिल्ने
सम्बन्धको कस्तो अर्थ बोकेको
प्रेमको अर्कै परिभाषा मिसिएको
ख्यालख्यालमै मेरो समीप आयो
मीठो माया लिएर आयो
अमृतमय प्रेमरस पिलाएर
अनि गयो ऊ
एउटा प्रिय नासो सुम्पेर ।
औँसी–पूर्णे साइत नै नहेरी
तिथि–मितिको हेक्का नै नगरी
नसोचेको बेला आयो
पल पलका दुःख भुलाइदियो
जिन्दगीभर सम्झिरहने
यादगार पलहरू छोडिगयो ।
कहिल्यै नसेलाउने सूर्यझैँ
रापिलो तर नवीन प्रेम
धु्रवताराझैँ चम्किलो
रमरम प्रेम लिएर आयो
काउकुती लगाइदिँदै मलाई
खोस्रेर मेरो बाँझो कोख
रोपेर गयो प्रेमको बीज ।
कपन, काठमाडौँ