बिरामी यात्रु सडकमा फाल्ने ट्याक्सीचालक पक्राउ

बिरामी यात्रु सडकमा फाल्ने ट्याक्सीचालक पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७५

काठमाडौं । सुगर र प्रेसरका रोगी गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए । उनी ट्याक्सीमा गए भने छोरा प्रवीण मोटरसाइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमै फर्किए । कारन्जित भने कमजोर महसुस भएको भन्दै ट्याक्सीमै फर्किए । उनले चालकलाई गोपीकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर–४ स्थित घरमा पु-याउन भनेका थिए । 

उनी ट्याक्सीमा चढेको केही समयमै बेहोस भए । तर, चालकले उनलाई छेउमै रहेको अस्पताल लैजाने प्रयाससमेत गरेनन् । बरु घिसारेर हेल्पिङ ह्यान्ड्स अस्पतालअगाडिको सडककिनारामा झारिदिए र भागे । स्थानीयले निकैबेरपछि प्रहरीलाई खबर गरेर उनलाई अस्पताल पठाए । त्यतिवेलासम्म उनको मृत्यु भइसकेको थियो । 

बुबाको प्रतीक्षामा रहेका छोरा प्रवीणलाई अस्पतालबाट फोन आयो । उनी पुग्दा  बुबाको मृत्यु भइसकेको थियो । बुबालाई सडकमा बेहोस अवस्थामा भेट्टाएर अस्पताल लगिएको उनले थाहा पाए । कसरी सडकमा ढले भनेर सिसिटिभी फुटेज हेर्दा प्रवीण मात्र होइन, प्रहरी अधिकारीहरूसमेत चकित भए । बा.१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमलबहादुर श्रेष्ठले देखाएको संवेदनहीनताले जोकोहीलाई स्तब्ध बनाउँछ । सय मिटर पर अस्पताल हुँदाहुँदै सिकिस्त बिरामीलाई उनले ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्य शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो । सबैले चालक कमल श्रेष्ठको निन्दा गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।