पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखराका पर्यटन व्यवसायी उत्साहित

लोकसंवाद संवाददाता  |  पर्यटन  |  आश्विन ४, २०७७

पोखरा । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ । 

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले लामो समयको बन्दाबन्दीपछि सञ्चालनमा आउन लागेको  हवाई उडानले व्यवसायीमा उत्साह थपेको बताउनुभयो  । 'व्यवसाय सोचेजस्तो हुन अझै धेरै नै समय लाग्छ तर देश तथा विदेशमा नेपाल घुम्नका लागि नेपाल  खुला भयो भन्ने पुर्‍याउन सकेपछि आगामी दिनमा पर्यटकीय गतिविधिका सहयोग पुग्नेछ ।' उहाँले भन्नुभयो, लामो समयको बन्दले व्यवसायीलाई धेरै तनाव थपेको र अब  व्यवसाय सञ्चालन भएपछि केही मात्रामा भए पनि तनाव कम हुने छ । 

उहाँका अनुसार  पोखरामा  हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६५३ जनाले रोजगारी प्राप्त गरेका छन् । करीब रु तीन अर्ब लगानी भएको यस क्षेत्रमा सानाठूला गरी ४०० पर्यटकीय सवारी साधन छन् । यही असोज १ देखि पोखराका दैनिक दुई पर्यटकीय बस पोखराबाट छुटेका छन् । अहिले यात्रुको  सङ्ख्या जम्मा १० देखि १५ प्रतिशतमात्र रहेको उहाँको भनाइ छ ।  

फस्ट फ्लाइट ट्राभल प्रालिका  सञ्चालक जीवनराज सापकोटाले आन्तरिक उडान सञ्चालन हुन थालेपछि बुकिङ आउन थालेको बताउनुभयो । 'अब आशा छ सुस्ताएको पर्यटन व्यवसाय आन्तरिक उडानसँगै केही चलायमान हुनेछ र गति लिनेछ',  उहाँले भन्नुभयो  । उहाँका अनुसार यती र बुद्धले दिनको दुई उडान राखेका छन् भने श्रीले अक्टुबर १ तारिखसम्म पोखरा उडानको सेड्युल राखेको छैन । 

त्यसैगरी पोखरादेखि भैरहवा, भरतपुरको उडान पनि अक्टुबर १ सम्म सेड्युलमा नभएको उहाँले जानकारी दिनुभयो ।  एयरलाइन्सले हवाई भाडा पनि नबढाई जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि  यात्रुलाई पनि सहज हुने उहाँको भनाइ छ । 

सोनिक ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक कुलचन्द्र शर्मा पनि सोमबारदेखि सञ्चालन हुन लागेको आन्तरिक हवाई सञ्चालनले  व्यवसायप्रति आशा पलाएको जानकारी दिनुभयो । उहाँले फोनबाट बुकिङसमेत आएकाले विस्तारै व्यवसायले गति लिनेमा आशावादी भएको उहाँको भनाइ छ  । उहाँले सोमबारदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले बुकिङ खुलाएपछि आफूहरुले पनि टिकट बिक्री गर्न शुरु गरेको जानकारी दिनुभयो ।

कोभिड–१९ को असरलाई ध्यान दिएर सरकारले सञ्चालनको पहिलो साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशत मात्र उडान अनुमति दिएको छ   तर  वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका छन्  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी सोमबारदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् । शुरुमा ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएकामा व्यवसायीले चर्को विरोध जनाएपछि शत्प्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय उडान भने गत भदौ १६ देखि सञ्चालनमा आइसकेको छ । 

छोटालामा दूरीका सवारी साधन र अन्तर्राष्टिय र आन्तरिक उडान शुरु हुन थालेपछि छ महिनापछि पोखरा लेकसाइडका होटल तथा रेस्टुराँ व्यवसाय पनि खुल्न थालेका छन् । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार अहिले लेकसाइडका होटल आंशिक रुपमा खुलेको र बाँकी खुल्ने तयारीमा रहेका छन् । पोखरामा सात सय पर्यटकीय होटल छन् भने सङ्घमा चार सय होटल आबद्ध छन् ।