प्रदेश नं १ को पाश्र्वचित्र सार्वजानिक

प्रदेश नं १ को पाश्र्वचित्र सार्वजानिक

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०७७

विराटनगर । प्रदेश नं १ को प्रदेश पाश्र्वचित्र सार्वजनिक गरिएको छ ।  प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तुको विभिन्न स्रोतबाट प्रकाशित तथ्याङ्कलाई सो पुस्तकभित्र समावेश गरिएको छ ।  

यसैगरी प्रदेशको आधारभूत सूचनाको एकीकृत वस्तुस्थिति विवरण तयार पार्नु, नेपालको विभिन्न सूचकको स्थितिमा प्रदेशको स्थितिको तुलनात्मक अवस्था प्रस्तुत गर्नु र प्रदेश तथा स्थानीय तहका योजना, नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्नका लागि आवश्यक आधारभूत सूचना उपलब्ध गराउनु  पुस्तकको ध्येय रहेको छ । 

मुख्यमन्त्री शेरधन राईले संविधान दिवसको उपलक्ष्यमा प्रदेश सरकार र प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘प्रदेश पाश्र्वचित्र तथा वार्षिक विकास कार्यक्रम आर्थिक वर्ष २०७७/७८’ नामक पुस्तक सार्वजनिक गर्दै प्रदेश सरकार जनताले चाहेको विकास र समृद्धि पस्कन सक्षम रहेको बताउनुभयो ।  

प्रदेश निर्माण भएको अवधिदेखि अहिलेसम्म विकास कार्यमा सरकार सही दिशातर्फ अगाडि बढेको तथ्याङ्कले प्रस्ट पारेको उहाँले जानकारी दिनुभयो ।उहाँले पाश्र्वचित्रले प्रदेश सरकारले आगामी दिनमा नीति कार्यक्रम तथा बजेट निर्माण गर्न तथा विकास र समृद्धिको सूची तयार गर्न सही मार्गदर्शन प्राप्त भएको विचार व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले केही दिन भित्रमा प्रदेश सरकारले २८ महिना अवधिमा गरेका कामका उपलब्धि जनतासमक्ष सार्वजनिक गर्ने जानकारी दिनुभयो । 

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले यथार्थताको धरातलमा उभिएर पाश्र्वचित्र तयार गर्न आयोगका सम्पूर्ण कर्मचारीको योगदान रहेको चर्चा गर्नुभयो ।

आयोगका सदस्य पूर्ण लोक्सोमले पाश्र्वचित्रका बारेमा जानकारी दिँदै सोचमा नवीनता र कार्यमा जिम्मेवारिता बहन गर्न पाश्र्वचित्र महत्वपूर्ण हुने जानकारी दिनुभयो ।