आइसोलेसनको नियम तोड्नेलाई १५ लाखसम्म जरिमाना

आइसोलेसनको नियम तोड्नेलाई १५ लाखसम्म जरिमाना

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ४, २०७७

कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायत सरकारले कडा नियम लागू गर्ने भएको छ । 

नयाँ व्यवस्था अनुसार ‘सेल्फ आइसोलेसन’ को आदेशलाई तोड्नेलाई बेलायत सरकारले १० हजार पाउन्ड अर्थात करिब १५ लाख नेपाली रूपैँयासम्म जरिमाना गर्ने बताइएको छ । 

बेलायतमा शनिबार मात्र करिब चार हजार ५ सय नयाँ सङ्क्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो । पछिल्ला केही साताको अवधिमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । 

२८ सेप्टेम्बरयता कोरोना सङ्क्रमित व्यक्ति र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने व्यवस्था गरिएको हो । सरकारले कम आयश्रोत भएकालाई ५ सय पाउण्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ । 

नयाँ व्यवस्था अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिमाना तिर्नुपर्नेछ । पटक पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्ड सम्म पु¥याइएको हो । यसअघि सेल्फ आइसोलेसनलाई एक निर्देशनका रुपमा मात्रै लागू गरिएको थियो । 

इङ्गल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भएकोले सबैले नियमको पालना गर्नुपर्ने बताए । 

प्रधानमन्त्री जोनसनले भने, ‘नियम मान्न कति महत्वपूर्ण छ भन्ने विषयलाई कसैले पनि कम आँक्न हुँदैन, नयाँ नियमहरूको अर्थ तपाईँलाई राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले परीक्षण वा सङ्क्रमितको निकट रहेको भनेको छ भने तपाईँ नियम मान्न कानुनी रूपमा बाँधिनु भएको छ भन्ने हो ।’ नियम मान्न बेवास्ता गर्नेहरूले उल्लेख्य जरिमानाको सामना गर्नुपर्ने पनि उनले बताए । 

‘जोखिममा रहेका मानिसलाई सङ्क्रमण हुनबाट जोगाउन, एनएचएसको रक्षा गर्न र जीवन बचाउनका लागि भाइरस नियन्त्रण गर्न हामीले गर्न सकिने सबै कुरा गर्नुपर्छ,’ उनले थपे ।

बेलायतको खासगरी इङ्ल्याण्ड क्षेत्रमा महामारीको अवस्थामा कमी आएको बताउँदै सरकारले गत महिनादेखि महामारी नियन्त्रणका उपायलाई हदैसम्म खुकुलो पारिएको थियो ।