नाट्य प्रज्ञा-प्रतिष्ठानमा मनोमानी : भर्चुअल कार्यक्रम नाममा सरकारी बजेटको सत्यानाश !

नाट्य प्रज्ञा-प्रतिष्ठानमा मनोमानी : भर्चुअल कार्यक्रम नाममा सरकारी बजेटको सत्यानाश !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ५, २०७७

काठमाडौँ । अघिल्लो वर्ष अत्यन्त न्यून प्रगतिमा सीमित हुन पुगेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नयाँ तथा चालू आर्थिक वर्षको सुरुआतमै आफ्नो काम देखाउने नाममा एकदमै असान्दर्भिक  शीर्षक र कार्यक्रममा मोटो रकम खर्च  गरिएको भनेर आलोचना हुन थालेको छ । 

कोरोना भाइरसका कारण सरकारले  सभा, सम्मेलन, गोष्ठी तथा भेला जस्ता कार्यक्रमहरू तत्काल गर्न नगराउन निर्देशन जारी गरेका बेला उक्त प्रतिष्ठानले भने सहकार्यमा  भर्चुअल कार्यक्रमका नाममा विभिन्न सङ्घसंस्थालाई मोटो आर्थिक सहयोग गर्दै सरकारी बजेटको दुरुपयोग भइरहेको छ ।

नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण विकास गर्ने, अध्ययन–अनुसन्धान गर्ने, सङ्गीत तथा नाट्य सम्बन्धी पुस्तकालय, सङ्ग्रहालय, रङ्गमञ्च, नाट्यशाला आदि स्थापना गर्ने, सङ्गीत तथा नाट्य विधामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रशिक्षण आदि आयोजना तथा सञ्चालन गर्ने तथा नेपालका विभिन्न जातजाति तथा समुदायका मौलिक लोकगीत, लोकनृत्य, लोकबाजा, लोक धुन तथा लोक सङ्गीतको अध्ययन, अनुसन्धान, संवर्द्धन र संरक्षण गर्नुका साथै समग्र सङ्गीत र नाट्य विधाको उन्नयनका लागि भनेर स्थापना भएको उक्त प्रज्ञा–प्रतिष्ठानले उद्देश्यअनुसार काम  हुन नसकेको भनेर आलोचना भइरहेको छ । बरु यस्तै सानातिना कार्यक्रमहरूमा बढो रुचिका साथ उक्त प्रतिष्ठानले रकमको सत्यानाश गरिरहेको  भनेर प्रज्ञा–प्रतिष्ठान भित्रै आलोचना सुरु भएको छ ।  सहकार्यका नाममा यस्ता कार्यक्रमहरूमा आफू अनुकूलका विभिन्न सङ्घसंस्थालाई कुलपति, उपकुलपति र सदस्य सचिवले मनोमानी ढङ्गले प्रति कर्यक्रम ६० हजारदेखि एकलाखसम्म बजेट वितरण गर्ने काम  भएको समेत  बताइन्छ ।

सरकारी बजेटको दुरुपयोग गर्दै भर्चुअल माध्यममा सञ्चालन गरिएको एउटा कार्यक्रम हो- ‘शैली संवाद’ । शैली थिएटर नामक संस्थासँगको सहकार्यमा गरिएको उक्त कार्यक्रमले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक उन्नयन हुने कुनै पनि कार्यक्रम समावेश गरिएको छैन । उक्त कार्यक्रमको ब्यानरमै प्रज्ञा–प्रतिष्ठानलाई दोस्रो मर्यादाक्रममा राखिएको मात्र पूर्णपुरमा बेवास्ता गरिएको बताइन्छ । यसमा कसैको ध्यान नगएको भन्दै  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवको आलोचना हुने गरेको छ ।  कार्यक्रमको शीर्षकमै प्रज्ञालाई 'मिनिमाइज' गरिएको भन्दै गुनासो गर्ने गरिएको छ । यदि प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा कार्यक्रम भएको हो भने कार्यक्रमको नाम ‘प्रज्ञा–शैली संवाद’ हुनु पर्ने हो तर त्यस्तो गरिएको छैन ।

अर्को कार्यक्रम छ-  ‘स्वर मध्यमा’ संवाद शृङ्खला । ध्रुपद गुरुकुल काठमाडौँसँग सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले गरेको शास्त्रीय सङ्गीतका साधकहरूसँगको संवाद शृङ्खला हरेक हप्ताको सोमबार र शुक्रवार साँझ ४ बजे प्रज्ञाको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने गरिएको थियो । तर, यो कार्यक्रममा सहभागीका निजी कुराभन्दा पर कुनै सन्दर्भ  नरहेको   प्रस्टै देखिएको  छ ।  शास्त्रीय सङ्गीत हेर्ने प्राज्ञ धीरेन्द्र प्रेमर्षीको अभिरुचिमा सञ्चालित यस कार्यक्रमले प्रज्ञा–प्रतिष्ठानलाई कुनै फाइदा नपुगेको  प्रज्ञा–प्रतिष्ठान स्रोत दाबी गरेको छ ।  अघिल्लो वर्ष एउटा पनि गोष्ठी तथा अनुसन्धानका काम गर्न नसकेका प्रेमर्षीले यस वर्षको सुरुमै देखाउन खोजेको यो काम बिना अर्थ र उपलब्धिहीन देखिएको समेत सो स्रोतको दाबी रहेको छ । यसमा कार्यक्रमको नाम- ‘प्रज्ञा–स्वर मध्यमा’ संवाद शृङ्खला राख्ने भनिए पनि पछि आएर हटाएर  ‘स्वर मध्यमा’ संवाद शृङ्खला मात्र राखिएको छ । 

यस्तै अर्को सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानमा उपलब्धिहीन भनेर आलोचना भएको कार्यक्रम हो- ‘अ लाइफ इन म्युजिक’ संवाद कार्यक्रम । समप्रिया सङ्गीत प्रतिष्ठान नामक संस्थाको संयोजनमा प्रेमर्षीकै विभागबाट गरिने शास्त्रीय सङ्गीत तथा नृत्य क्षेत्रका कलाकारहरूसँग भर्चुअल कार्यक्रमको कुनै प्रभाव  नदेखिएको  विषयमा आलोचना भएको हो ।  यसको नाम नै प्रज्ञासँग सम्बन्धित नदेखिएकोमा विरोधसमेत हुन थालेको छ ।   तर, प्रज्ञा–प्रतिष्ठानले बढो गर्वका साथ आफ्नो वेबसाइटमा यी कार्यक्रमहरूको प्रचार  समेत  गरिएको छ ।    उक्त प्रज्ञा–प्रतिष्ठानका एक पूर्व प्राज्ञ परिषद् सदस्यले भन्छन्– ‘प्रज्ञा–प्रतिष्ठानले ठुलै आफ्नो गतिविधि गरिरहेको भन्ने ठाने पनि यससँग सम्बन्धित क्षेत्रका सरोकारवाला कसैलाई पनि यसबारे थाहा नै  दिइएको छैन । कार्यक्रम प्रसारण गरिने प्रज्ञाको फेसबुक पेज हेर्दा दर्शकको उपस्थिति अत्यन्त न्यून र  लज्जाजनक रहेको उनको दावी छ । ’ उनले भने यस्ता कार्यक्रमको कुनै अर्थ नरहेको उनको भनाइ छ । 

 यसले प्रज्ञा–प्रतिष्ठानको उद्देश्यअनुसारका  उपलब्धि प्राप्त नहुने र  यस्ता कार्यक्रममा आँखा चिम्लेर खर्च गर्ने प्रज्ञाको नेतृत्वकै  क्षमतामाथि सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान भित्रैबाट प्रश्न उठाउन थालिएको छ र भन्न थालिएको छ - नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान काम सरकारी बजेटको सत्यानाश !