विद्यालय भवन स्थानान्तरण र पुनर्निर्माण

विद्यालय भवन स्थानान्तरण र पुनर्निर्माण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  आश्विन ५, २०७७

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन स्थानान्तरण गरेर पुनर्निर्माण गरिएको हो । नदीको दायाँ किनारमा रहेको विद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्कस्थित बायाँ किनारको नयाँ ठाउँमा स्थानान्तरण गरिएको प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिनुभयो । 

विसं २०७५ भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर रितुङ माविको आठ कोठे भवन बगाएको थियो । नदी कटानका कारण करिब छ रोपनी जग्गा बगाउनुका साथै थप जोखिम भएकाले भवन स्थानान्तरण गरिएको प्रअ छन्त्यालले बताउनुभयो । 'नयाँ ठाउँमा जग्गा किनेर भवन पुनर्निर्माण गरेका हौँ', प्रअ छन्त्यालले भन्नुभयो, 'पहिलेको ठाउँमा जग्गा अभाव र थप जोखिम भएकाले स्थानान्तरण गर्नुपरेको हो ।'विद्यालय स्थानान्तरणका लागि नौ रोपनी जग्गा खरिद गरिएको छ । आन्तरिक स्रोत जुटाएर प्रतिरोपनी दुई लाख ५० हजार रुपैयाँका दरले जग्गा खरिद गरिएको वडाध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो ।   

सोही जग्गामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गाउँपालिकाको सहयोगमा तीन वटा दुई तले १२ कोठे भवन निर्माण भएको छ । प्राधिकरणको रु एक करोड ४० लाख अनुदानमा चार/चार कोठे दुई वटा भवन निर्माण भएको छ । अर्को चार कोठे भवन निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा  ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा  १६ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो । प्रवासमा रहेका कुइनेमङ्गलेबासीहरुले जुटाएर पठाएको  नौ लाख रुपैयाँकाे लागतमा कार्यालय प्रयोजनका लागि एक तले भवन निर्माण भएको छ । 

भवनका साथै छात्रामैत्री शौचालयसमेत निर्माण भएको छ । नयाँ भवन निर्माण भएको ठाउँमा नदी कटान नियन्त्रण, घेराबार र सुरक्षित खानेपानी योजनाको माग गरिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ११५ विद्यार्थी छन् । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सो विद्यालयका तीन शिक्षकलाई निजी स्रोतबाट तलब व्यवस्थापन गरिँदै आएको छ ।