एघार हजार नयाँ सवारी दर्ता : ३१ करोडभन्दा बढी राजस्व सङ्कलन

एघार हजार नयाँ सवारी दर्ता : ३१ करोडभन्दा बढी राजस्व सङ्कलन

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ५, २०७७

लहान । यातायात व्यवस्था कार्यालय लहान सिरहामा आर्थिक वर्ष ०७६/०७७ मा ११ हजारभन्दा बढी नयाँ सवारी दर्ता भएको छ भने  ३१ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । 

कोरोना भाइरस सङ्क्रमण फैलिन सरकारले गरेको लकडाउनका बाबजुद सो कार्यालयमा आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी मोटरसाइकल आठ हजार ९२१, ट्याक्टर ७६५, सिटी रिक्सा एक हजार १६६, जीप/पिकपभ्यान १५०, बस ४०, एम्बुलेन्स १७ तथा ट्रक र टिपर गरी कूल ११ हजार १६४ वटा नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख मिन भट्टराईले जानकारी दिनुभयो । 

यस्तै नयाँ सवारी दर्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आर्थिक वर्ष २०७६/०७७ मा सो कार्यालयले ३१ करोड ४० लाख ८९ हजार १३ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । सो अवधिमा १३ हजार ४८४ जनालाई नयाँ सवारी चालक अनुमतिपत्र वितरण गरेको कार्यालयले जनाएको छ ।