'५ वर्षमा ८८ खर्ब चाहियो’

'५ वर्षमा ८८ खर्ब चाहियो’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७५

काठमाडौँ । सरकारी तथा निजी क्षेत्रका अधिकारीले अवसरका फेहरिस्त सुनाउँदै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । नेपाल लगानी सम्मेलन २०१९ को उद्घाटन तथा छलफल कार्यक्रममा शुत्रबार नेपालका सबै अधिकारीले विदेशी लगानीकर्तासमक्ष आश्वासन र प्रतिबद्धता जनाउँदै अवसरलाई आत्मसात् गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै क्षेत्रमा लगानी गरे पनि नाफा हुने भन्दै ‘नेपाल लगानीको भर्जिनल्यान्ड’ भएको बताए । ‘अहिले हामीसँग राजनीतिक मात्र नभई नीतिगत स्थिरता पनि छ,’ उनले भने, ‘एक वर्षमा सरकारले वैदेशिक लगानी भित्र्याउन कानुनी र प्रक्रियागत सुधार गरी वातावरण तयार पारेका छौं ।’

त्यसका लागि संसद्ले विभिन्न कानुन जारी गरिसकेको जानकारी गराउँदै उनले त्यसमा भएको व्यवस्थाबारे चर्चा गरे । ‘हामीसँग अहिल्यै अनलाइन दर्ता र पेमेन्ट प्रणाली छ,’ उनले भने, ‘अब चाँडै स्वचालित बनाउँदैछौं ।’ प्रधानमन्क्री ओलीले लगानीकर्ताको जोखिम कम गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यत्रम ल्याएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।