भवन भत्किँदा दश जनाको मृत्यु

भवन भत्किँदा दश जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ५, २०७७

एजेन्सी । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो । 

तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको थियो । सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
त्यस भवनमा रहेका अरु पाँच जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई बिहानै स्थानीय अस्पतालमा पुर्या‍इएको बताइएको छ । 

सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ । उक्त एनडिआरएफका अधिकारीहरुले सोमबार बिहान अबरेसम्म पनि उद्धारको काम जारी रहेको बताएका छन् । 

त्यस भत्किएको भवनको भग्नावशेषभित्र केही व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम तत्कालै थालिएको पनि उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।त्यस भवनमा २० देखि २५ जनासम्म व्यक्ति च्यापिएर रहेका थिए । उनीहरुमध्ये करिब २० जनालाई उद्धार गरी निकालिएको छ । 

थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।