प्रदेश २ को एसईई स्थगित, परीक्षा संयन्त्रमा प्रश्न

प्रदेश २ को एसईई स्थगित, परीक्षा संयन्त्रमा प्रश्न

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७५

काठमाडौँ । प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिह्न खडा भएको छ । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । यसै कारण बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको परीक्षा नै रद्द गर्नुपर्‍यो ।

परीक्षा सकिएका उत्तरपुस्तिकाको सुरक्षाबारे समेत चिन्ता र चासो बढेको छ । शिक्षा मन्क्रालयले शुत्रबार साँझ पत्रकार सम्मेलन गरेर उक्त प्रदेशका शनिबारदेखिका परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयको आग्रहअनुसार परीक्षा स्थगनको निर्णय गरिएको संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

यसपटक ६ वटा अनिवार्य विषयका लागि प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र तयार पारिएको थियो । प्रश्नपत्र बाहिरिँदा प्रदेश २ का २ सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् । विरोधमा उनीहरूले सडकमा नाराबाजी गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।