आफ्नो शरीरमा ‘नोभिचोक’ प्रयोग भएको नाभाल्नीको दाबी

आफ्नो शरीरमा ‘नोभिचोक’ प्रयोग भएको नाभाल्नीको दाबी

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ५, २०७७

रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको बताएका छन् ।

उनले शरीरमा ‘नोभेचोक’ स्नायु एजेंटको सङ्केत भेटिएको बताउँदै थप अनुसनधानका लागि आफ्नो लुगा फिर्ता गर्न रूसी सरकारसँग माग गरेका हुन् ।

बर्लिनको एक अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरिरहेका नाभाल्नी गत २० अगस्टमा साइबेरियाबाट मस्कोको उडानमा रहेका समय बिरामी परेपछि उनी चढेकोे विमानलाई बिचैमा अवतरण गराई अस्पताल भर्ना गरिएको थियो । उनलाई उपचार गर्न जर्मनी लग्नु पहिले दुई दिन रूसको अस्पतालमा उपचार गरिएको थियो । 

‘फ्रान्स र स्विडेनमा दुई स्वतन्त्र प्रयोगशालाहरू र बुन्डेश्वेहर विशेष प्रयोगशालाले मेरो शरीरमा नोभेचोकको उपस्थिति पुष्टि गरेका छन्,’ जर्मन सेनाको प्रयोगशालालाई संकेत गर्दै कोमाबाट सामान्य अवस्थामा फर्केकारूसी विपक्षी नेता नाभाल्नीले पहिलो पटक सार्वजनिक गरेको सूचनामा बताएका छन् ।

रुसी सञ्चारमाध्यमहरूले प्रसारण गरेको समाचारहरूमा पश्चिमी खुफिया अधिकारीहरू वा नाभाल्नीको आफ्नै सहयोगीहरूले उक्त आक्रमण गरेको सुझाव दिएका समेत नाभाल्नीका समर्थकहरूले बताएका छन् । 

नाभाल्नी रूसी राष्ट्रपतिका कट्टर आलोचक मानिन्छन् । 

‘मैले अरू केहि पनि आशा गरेको छैन,’ उनले लेखेका छन् । रूसी अधिकारीहरूले अनुसन्धानको लागि आफ्नो लुगा फिर्ता गर्न नाभाल्नीले माग गरेका छन् । लुगामा महत्वपूर्ण प्रमाणहरू हुनसक्छन् ।