फेसबुकमा राखेको फोटोले बन्ने भयो विपन्नको घर

फेसबुकमा राखेको फोटोले बन्ने भयो विपन्नको घर

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ६, २०७७

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ आरथुम्कामा एउटा भत्किएको घर छ । अनि घरसँगै छ दाउराले बारेको झुप्रो । झुप्रोभित्र विगत लामो समयदेखि बस्दै आउनुभएको छ ६७ वर्षीया मनिसरा भुजेल र उहाँका श्रीमान् सोमबहादुर भुजेल । मनिसरा प्यारालाइसिस भएर विगत तीन वर्षदेखि ओछ्यान पर्नुभएको छ । श्रीमान् पनि उमेर ढल्किसकेकाले काम गर्न सक्नुहुन्न । उपचार गर्ने त परको कुरा, उहाँहरुसँग अहिले खाद्यान्न पनि छैन । बन्दीपुर गाउँपालिकाले मनिसराको परिवारलाई तीन पटक राहत दिएको थियो ।

झुप्रोलाई आश्रयस्थल बनाइरहनुभएका मनिसरालाई लायन्स क्लव अफ पोखरा पिपलचौतारी घर निर्माण गरिदिने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्तीको पहलमा उक्त ठाउँ पुगेको क्लवको पदाधिकारीले भुजेल परिवारलाई घर बनाइने प्रतिवद्धता जनाएको हो । 'भदौ २० गते काम विशेषले उक्त ठाउँमा पुगेको थिएँ, उहाँहरुको अवस्था देखेपछि फेसबुकमा फोटो राखेको थिएँ,' उहाँले भन्नुभयो, 'त्यसपछि उहाँहरुको बारेमा सोधखोज गर्नेहरु बढेका छन् ।' केही व्यक्ति तथा सङ्घसंंस्थाले आर्थिक सहयोग पनि गरेको उहाँले जानकारी दिनुभयो ।

घर्तीकै पहलमा उक्त ठाउँ पुग्नुभएका क्लवका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ, सचिव डा. विवेक लम्साल लगायतले भुजेलको स्वास्थ्य परीक्षण गर्दै घर बनाइदिने प्रतिबद्धता जनाउनुभएको छ । 'भुजेल परिवारलाई ओत लाग्ने घरको आवश्यकता देखेपछि उहाँहरुले घर निर्माण गरिदिन्छौ भन्नुभएको छ,' उहाँले भन्नुभयो ।