दमौली अस्पतालमा एनेस्थेसिया उपकरण जडान

दमौली अस्पतालमा एनेस्थेसिया उपकरण जडान

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ६, २०७७

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ८ गते उपलब्ध गराएको उक्त उपकरण अस्पतालमा जडान गरिएको हो । एनेस्थेसिया  बिरामीलाई पूर्णतः बेहोस बनाउने उपकरण हो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने  २० लाख बराबरको उक्त उपकरण गण्डकी प्रदेशको दमौली सहित स्याङ्जा जिल्ला अस्पताललाई पनि हस्तान्तरण गरिएको थियो । उक्त उपकरण जडान गरिएपछि विशेषतः अस्पतालमा सुत्केरी गराउने महिलालाई सहज रुपमा सेवा प्रवाह गर्न सकिने दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । उक्त उपकरणले बत्ती नभएको अवस्थामा पनि दश केजी बराबरको अक्सिजन आफैले उत्पादन गर्न सक्छ । 

व्यवस्थापन समितिले जनशक्ति, ल्याब सामग्री खरिद तथा कर्मचारी आवास कार्यक्रमका लागि निक साइमनसँग  ५० लाख बराबरको सम्झौता समेत गरेको छ । आकस्मिक कक्ष, सुत्केरी कक्ष, प्रयोगशालाका लागि आवश्यक उपकरण लगायत खरिदका लागि सम्झौता गरिएको छ । अस्पतालले निकट भविष्यमै थाइराइडको पनि उपचार शुरु गर्न लागेको । त्यसका लागि एक जना प्राविधिक आवश्यक पर्ने भएकाले सोको पनि निक साइमनसँग सम्झौता गरिएको छ । त्यस्तै फिजियोथेरापी सेवा शुरु गर्नका लागि एक जना चिकित्सक, फार्मेसी व्यवस्थापनका लागि बि फार्मेसीको माग गरिएको छ । 

अस्पतालमा पछिल्लो समय विभिन्न उपकरणहरु थप गरिँदै लगिएको छ । केही समय अगाडी मात्रै सङ्घीय सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कोष मार्फत् दश श्ययाको चार वटा भेन्टिलेटर सहितको आइसियु निर्माणका लागि अस्पताललाई  दुई करोड विनियोजन गरेको छ ।