गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन ६, २०७७

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहमा आज दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार गत वर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो । 

यस्तै ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सेतोपाटी डटकमलाई प्रदान गरिएको छ । राष्ट्रपति भण्डारीले सेतोपाटी डटकमका तर्फबाट  सम्पादक अमित ढकाललाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । उहाँले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोषले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि  एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ । 

कोभिड–१९ को कारणले यस वर्ष दुईवटा पुरस्कारमात्र राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा प्रदान गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । आजै काउन्सिलले घोषणा गरेका अन्य पुरस्कार भने सञ्चारग्राममा आयोजित कार्यक्रममा प्रदान गरिएको छ ।