सरकारले विप्लव नेतृत्वको नेकपाले प्रयोग गर्दै आएको  ‘रातो घर’ भत्कायो

सरकारले विप्लव नेतृत्वको नेकपाले प्रयोग गर्दै आएको  ‘रातो घर’ भत्कायो

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७५

रूपन्देही । सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति कठोर बन्दै गएको छ। बुटवलमा शुक्रबार उक्त पार्टीले प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले भत्काएको छ। बुटवल पाल्पारोडस्थित तत्कालीन वाणिज्य बैंक कार्यालय रहेको घर सशस्त्र द्वन्द्वकै बेला माओवादीले कब्जामा लिएको थियो। त्यसयता माओवादीको कब्जामा रहेको ‘रातो घर’ पछिल्लो समय विप्लव नेकपाले पार्टी कार्यालयको रूपमा प्रयोग गर्दै आएको थियो। केही दिनअघि प्रहरी र वाणिज्य बैंकका कर्मचारीले नेकपाको झन्डा, ब्यानर, कागजपत्र र कार्यालयमा रहेका फर्निचर नियन्त्रणमा लिई ताला लगाएका थिए।

शुक्रबार भने प्रहरी तैनाथ गरेर भवन नै भत्काएको छ। विगत १३ वर्षदेखि पार्टी कार्यालयका रूपमा प्रयोग गर्दै आएको भवन भत्काइएपछि आक्रोशित नेकपा (विप्लव)ले चेतावनीसहितको विज्ञप्ति जारी गरेको छ। शुक्रबार जारी विज्ञप्तिमा सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिइएको छ। पार्टी जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटेरी अमर आरसिद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यालय भत्काएर सरकारले पार्टीलाई उद्देलित बनाएको र आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै यसको परिणाम गम्भीर हुने उल्लेख छ। 

हाम्रो पार्टीको झन्डा, ब्यानर, साईन बोर्ड सहित नाराहरू मेटाएर पार्टीका फर्निचर तथा कार्यालय प्रयोजनार्थ राखिएका सामग्रीहरू समेत कब्जा गरि अपमानित ढङ्गले बिना सुचना पार्टी कार्यालयमा डोजर लगाई गरिएको तोडफोडले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।