मनहरी सिम्पानीमा कोरोना अस्पताल

मनहरी सिम्पानीमा कोरोना अस्पताल

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ६, २०७७

मकवानपुर । मनहरी गाउँपालिका वडा नं ८ सिम्पानीमा अवस्थित आइसोलेशन कक्षलाई नै २४ श्ययाकोे कोरोना विशेष अस्पतालमा रुपान्तरण गरिएको छ ।  स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अगाडि आइसोलेशनको व्यवस्थापनको जिम्मा स्थानीय निकायबाट हुने जनाएको थियो ।  मन्त्रालयको १० लाख अनुदानमा अस्पतालको स्थापना गरिएको र वाग्मती प्रदेश सरकारबाट समेत १० लाख  विनियोजन भइसकेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले  जानकारी दिनुभयो । 

अब कोरोना सङ्क्रमित बिरामीलाई थप उपचारको लागि हेटौँडा, भरतपुर, काठमाडौँ लगायतका अस्पतालमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो ।  अस्पतालमा एक  चिकित्सक नियुक्ति र  मिनि आइसियु सञ्चालनको लागि उपकरण खरिदको काम भइरहेको अस्पतालका संयोजक ज्योतिराज लुइँटेलले जानकारी दिनुभयो ।

मन्त्रालयले ५ श्ययाको अस्पताल स्थापना गर्न  निर्देश गरेपनि गाउँपालिकाले २४ श्ययाको अस्पताल स्थापना  छ । सो आइसोलेशनमा स्वयंसेवकको रुपमा चिकित्सक अनिल उप्रेतीले कोरोना सङ्क्रमित बिरामीलाई उपचार तथा परामर्श सेवा दिइरहनुभएको छ । 

मनहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि वडा नं ७ रमन्टारमा पनि आइसोलेशनको स्थापना गरिएको छ । यसअघि वडा नं ८ सिम्पानीमा मात्रै आइसोलेशन रहेको थियो । सिम्पानीस्थित आइशोलेशनमा अहिले ५ जना महिला र १३ जना पुरुष  उपचाररत रहेका छन् । त्यसैगरी रमन्टारस्थित आइसोलेशनमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् ।