मालीका सैनिक प्रमुख उपराष्ट्रपति हुन तयार, विपक्षीको विरोध
आश्विन ६, २०७७

अफ्रिकी मुलुक मालीका सेना प्रमुख कर्णेल आसिमी गोइटाले मुलुकमा गठन हुने संक्रमणकालीन सरकारमा उपराष्ट्रपति हुन आफू तयार रहेको बताएका छन् । 

तत्कालीन राष्ट्रपतिविरुद्ध एक महिना पहिले सैनिक बलमा सत्ता विद्रोहको नेतृत्व गरेका कर्णेल गोइटाको घोषणासँगै मालीमा लोकतन्त्र पुनर्स्थापित हुने अपेक्षा गरिएको छ । 

तर गोइटाको सो घोषणालाई अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गर्ने सम्भावना रहेको छ । गोइटाले पूर्व रक्षा मन्त्री एवं अवकाशप्राप्त जनरल बाह एन–डालाई राष्ट्रपतिका रुपमा प्रस्ताव गरिएको बताएका छन् । नयाँ सरकारको घोषणा यही २५ सेप्टेम्बरमा हुनेछ ।

दुबै नाम सेनाले बनाएको एक छनौट समितिले प्रस्ताव गरेको हो । यस समितिमा सेनाका अधिकारीहरु, केही राजनीतिक दलका नेताहरु, नागरिक तथा धार्मिक समूहका व्यक्तिहरु रहेका छन् । 

इकोवास नामको १५ सदस्यीय पश्चिम अफ्रिकी देशहरुको समूहले कुनै पनि प्रकारको संक्रमणकालीन सरकारको राष्ट्रपति र प्रधानमन्त्रीमा गैरसैनिक व्यक्तिको नेतृत्व हुनुपर्ने अडान राखेको छ । इकोवासले गोइटालाई उपराष्ट्रपतिका रुपमा स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट भइसकेको छैन । 

इकोवास समूहका सदस्य राष्ट्रहरुले मालीसँगको अन्तर्राष्ट्रिय सीमा बन्द गरेका छन् भने वित्तीय सहायता पनि रोकेका छन् । सोमबारको घोषणापछि इकोवासको थप कदमका बारेमा स्पष्ट भएको छैन । 

मालीमा १८ महिनाभित्र नयाँ निर्वाचन गर्ने घोषणाप्रति इकोवासले केही लचकता देखाएको छ । तर राष्ट्रपति र प्रधानमन्त्रीमा गैरसैनिक व्यक्ति भएको अवस्थामा मात्र माली विरुद्धका प्रतिबन्धहरु फुकुवा गरिने जनाएको छ । 

मालीका राजनीतिक दलहरुले अगस्टमा तत्कालीन राष्ट्रपति इब्राहिम बौबाकर केइटा विरुद्ध प्रदर्शनहरु गरेका थिए । तर पछिल्लो समयमा विपक्षी र सैनिक नेतृत्वबीचको मतान्तर अझ गहिरिएको छ ।