नेपाल बारका दस हजार मतदाता

नेपाल बारका दस हजार मतदाता

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७५

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व छान्न शनिबार निर्वाचन हुँदैछ। १० हजार तीन सय १३ मतदाताले बार केन्द्रीय कार्यसमिति छान्न मतदान गर्ने छन्।

बार निर्वाचन समितिका अनुसार, मतदातामध्ये ६ हजार आठ सयजनाले सर्वाेच्च अदालत परिसरमा तोकिएको मतदात केन्द्रमा मतदान गर्नेछन्। बाँकी तीन हजार दुई सय ६३ मतदाताले विभिन्न जिल्लामा तोकिएका ३४ वटा मतदानकेन्द्रबाट मताधिकार प्रयोग गर्नेछन्। बार न्यायालयका गतिविधिसँग जोडिने भएकाले यसको निर्वाचनलाई महत्वसाथ हेर्ने गरिएको छ।

सत्तारुढ नेकपा निकट मानिने पेसागत तथा प्रगतिशील समूह मधेसी तथा आदिवासी जनजाति कानुन व्यवसायीसँग गठबन्धन गरेर चुनावमा होमिएको छ। त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन पनि प्रजातान्त्रिक कानुन व्यवसायीको बृहत गठबन्धन बनाएर चुनावमा उत्रिएको छ। यी दुई समूहबीच निर्वाचनमा कडा प्रतिस्पर्धा हुने कानुन व्यवसायी बताउँछन्। प्रजातान्त्रिक कानुन व्यवसायीको गढ मानिने काठमाडौं जिल्ला अदालत बार एसोसिएसनमा दुई हजार पा“चसय ८९ मतदाता र प्रगतिशील तथा पेसागत कानुन व्यवसायीको पकड मानिने उच्च अदालत बार एसोसिएसन पाटनमा दुई हजार तीन सय चार मतदाता छन्। आजको नागरिक दैनिकमा खबर छ ।