फुड बैंकमार्फत ३८५ परिवारलाई खाद्यान्न सहयोग

फुड बैंकमार्फत ३८५ परिवारलाई खाद्यान्न सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ७, २०७७

जिल्लाको डुम्रेस्थित स्थानीय युनिटी ग्रुपमा आबद्ध युवाहरुको सक्रियतामा स्थापना गरिएको फुड बैंकमार्फत दुई पालिकाका ३८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको छ । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियानअनुरुप एक हप्ताको अवधिमा बन्दिपुर र भानुनगरपालिका क्षेत्रमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

बन्दिपुर–१ डुम्रेमा तीन दिन, भानु नगरपालिका–२ को नारेश्वरटारमा तीन दिन र भानु–१ स्थित सालबिस्नेमा एक दिन गरी सात दिन फुड बैंकमार्फत खाद्यन्न वितरण गरिएको हो । कोभिड–१९ का कारण रोजगार गुमाएका, वृद्धवृद्धा, आपङ्ग, न्यून आए भएका र बिहान बेलुका खान धौधौ भएका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको गु्रपका संयोजक विक्रम गुरुङले जानकारी दिनुभयो । 

एक हप्ताअघि डुम्रेबाट कार्यक्रम शुरू गरेको ग्रुपले प्रतिपरिवार चार केजी चामल, एक पोका नुन, एक/एक पोका तेल, मसला, तरकारी र सोयाबिन वितरण गरेको हो । फुड बैंक सञ्चालनका लागि गु्रपका सदस्यहरु, देश विदेशमा रहेका व्यक्ति तथा शुभचिन्तक दाताहरुबाट सहयोग जुटाएर सहयोग गरिएको संयोजक गुरुङले बताउनुभयो ।