मल र 'हाइब्रिड' बिउमा रेल र जहाजको भर: हरियाणाको धान, थाइल्यान्डको धनियाँ रोपेर समृद्धिको फाइँफुट्टी !

मल र 'हाइब्रिड' बिउमा रेल र जहाजको भर:  हरियाणाको धान, थाइल्यान्डको धनियाँ रोपेर  समृद्धिको फाइँफुट्टी !

रूपक अलङ्कार  |  जीवनदर्शन  |  आश्विन ७, २०७७

बालखमा बाख्राको पछि लागेर भिरभिर कुदिन्थ्यो । दाउराको बिटो बोकेर वनबाट आइन्थ्यो । मकैको पोको बोकेर घट्ट गइन्थ्यो । खाजा लिएर खेतमा जानु त भुराभुरीको कर्तव्य नै थियो । आलीमा बसेर हजुरबाले पोको फुकाउनुहुन्थ्यो । रोटीको टुक्रो पहिले नातीलाई दिनुहुन्थ्यो । घरमाभन्दा खेतमा रोटीको स्वाद सय गुनाले बढेको हुन्थ्यो । ऐंसेलु र चुत्राको काँडाले घोच्दैन थिए । सुराल फुकालेर माछा मारिन्थ्यो । रुखमा छोइडुम खेलिन्थ्यो । घुँडा ठोकिए थुक लाएर माडिन्थ्यो । रगत आए बनमारा निचरेर हालिन्थ्यो । सिस्नाले पोले सिगान लगाइन्थ्यो । पिसाप फेर्दा नजिकै पीपल भए `बिनाबी´भनिन्थ्यो ।

अलिकति पखेँटा पलाएपछि गाउँ छोडियो । गाउँसँगैका अभ्यस्तता पनि छुटे । गाउँले नहुनका लागि अनेकौँ अभ्यास थालियो । न सहरिया भइयो न गाउँले रहियो ।

कोरोनाले नियमित जीवनलाई अनियमित बनाइदियो । अनिवार्य  र अत्यावश्यकीय ठानिएका कुराहरू एकदम गौण भए । गौण अनुभूत कुराहरू आवश्यक बनेर देखिए । यस प्रकारका संकटापन्न अवस्थाको सामना मानिसले इतिहासमा पनि कयौँ पटक गरेको छ । जगत सृष्टि र प्रलयको पुराण हामीले यसै पढ्न पाएका हैनौँ । मान्छेले यस्तै विषम परिस्थितिमा मात्र जीवनको परिभाषा बदल्यो होला । अहंकार रहित भएर सोच्योहोला । जीवनको क्षणभंगुरतालाई सत्यापन गर्‍यो होला । समग्रमा जीवनबोध गर्‍यो होला । कोरोनाको विश्वव्यापी व्याख्याले पनि जीवनलाई नयाँ सिराबाट अर्थ्याउने निश्चित छ । रोगले भन्दा पनि सम्पत्ति र विपत्तिको नयाँ व्याख्यामा संसार अलमलिन सक्छ । 

मलखाद भिटामिन र विषादी आफ्नै देशले उत्पादन नगरेसम्म किसानको छट्पटी कसरी शान्त हुन्छ ? किसानले काम गर्न पर्‍यो भनेर कहिल्यै दु:खी भएका छैनन् बरु समयमा काम गर्न नपाएर चिन्तित भएका छन् । अहिले सरकारमा भएका प्राणीहरू किसानका वंश हुन् । यिनका बाउबाजेले खेतीपाती गरेरै यिनका मुखमा माड लगाउन सकेका हुन् भन्ने कुरा यिनलाई याद हुनुपर्ने हो  । श्रमजीवी किसानका सन्तान सत्तासीन भएका बेलामा किसानलाई नै रुवाउनु आफ्नै बेइज्जत गर्नु होइन र ?

दैनिकीमा आएको फरकपनको स्वाद लिने अवसर मैले पनि पाएँ । यसलाई अवसर भनेर म आदर्शवादी बन्न खोजेको मात्र हो । खेतीपाती गर्न पर्नुलाई अवसर भन्ने वर्गको मान्छे होइन म पनि । खेतीपातीलाई बाध्यात्मक तबरले स्वीकारेको परिवारको मान्छे भएकाले अहिले नै यसरी आदर्शवादी बन्न मलाई नसुहाउन सक्छ । पहाडको खेतीपातीको दु:ख नरकीय नै छ । भारी बोकेर उकाली ओराली गर्नु कसैका लागि पनि सुखदायक हुँदैन । जति मिहिनेत गरे पनि वर्षभरि छाक टार्न मुस्किल पर्नु किसानी जीवनको चरित्र हो । कृषि प्रधान मुलुकमा किसान नै भोकले मर्छन् ।

हाम्रो देश कृषि प्रधान हो भन्ने कुरामा धेरै तर्क गर्न परोइन । तर हाम्रो मुलुक कसरी कृषि प्रधान भयो ? भन्ने प्रश्नले जहिल्यै घोचिरहन्छ मलाई चाहीं । इच्छाले रहरले खेतीपाती गर्ने मान्छे कति होलान् हाम्रो देशमा ? हामी घर अन्नपात र गाईबस्तुले भरिभराउ होस् भनेर कामना गर्छौं । आशीर्वाद दिन्छौँ । तर कसैले आफ्ना सन्तानलाई सफल कृषक भएस् भनेर आसिक दिएको मैले सुनेको छैन । बरु बाउआमाले हामीले जस्तो माटो खोस्रेर खान नपरोस् खरदार सुब्बा भएस् भनेर आशिर्वाद दिएको मात्र सुन्न पाइन्छ । पढिनस् भने हलो जोतेर खानुपर्ला, गोठालो लाग्नुपर्ला भनेर तर्साउँछन् । कुनै अभिभावकले आफ्ना सन्तानलाई किसान बनाउनका लागि विद्यालय पठाएको मलाई त के कसैलाई पनि थाहा छैन होला ! कसैले एगृकल्चर पढ्छन् तर किसान हुनका लागि हैन कृषिसम्बद्ध क्षेत्रमा जागिर खानका लागि !जागिरेले खेतीपाती गर्नुहुन्न भन्ने कुरा हाम्रो संस्कृति  हो । यसरी सबैतिर अपहेलित, पिछडिएको र अन्तिम विकल्पका रूपमा कृषि परिचित छ । बरु विदेशमा भेडा चराउन तयार, चौकीदारी गर्न तयार, अर्काका सीमासुरक्षाका लागि मर्न तयार तर आफ्नो बारीको टुक्रो खोसृन तयार नभएको कृषि प्रधान मुलुकका बासिन्दा हौँ हामी !

कृषिमा हामी सनातनी हौँ । हामीले कृषिबाहेक अरू व्यवसायमा समय खर्च गरेको इतिहास छैन । व्यापारी वर्गको ठुलो हिस्सा यहाँको रैथाने हैन । शैक्षिक इतिहास अत्यन्त छोटो छ हाम्रो । धार्मिक क्षेत्रको आम्दानी पनि चुहेर पुग्ने अन्तै हो । उद्योग धन्दा कलकारखानामा बाहिरी मुलुकको लगानी बढी छ । त्यसकारण हाम्रो पैतृक पेसा भनेको कृषि नै हो । अधिकांश जनता 'खाए खा नखाए घिच' को सूत्रमा बाँधिएर कृषिमा लागेका छन् त्यसैले नेपाल कृषिप्रधान देश भएको होला । 

हुन त खेतीपाती गर्नु कुनै पाप वा अपराध हैन । आफू बाँचेर धर्तीमा अरूलाई बचाउने यो भन्दा अर्को कुनै पुण्य कर्म छैन । तर अनपढ, अशिक्षित, पौरषहीन र उपायविहीनले मात्र हो माटो खोसृने, बाठो मान्छे त उडेर अन्तै पुग्नुपर्छ भन्ने सोचसागरमा हामी डुबेका छौँ । सुकिला लुगा ट्ल्काउन सक्नु अनि माटोमा चोपिनबाट आफ्ना खुट्टा जोगाउन सक्नुलाई हामीले सफलता मानेका छौँ  । माटामा पसिना छर्केर जीवन फलाउने किसानीकलालाई हेय ठान्ने मतिहीनहरू गैरकिसान मात्र हैन किसान पनि हुन् । किसानलाई आफ्नो पेसा चित्त नबुझ्नु वा आत्माभिमान नहुनु पछाडिको कारण कृषिबाट जीवनस्तरमा उल्लेख्य सुधार नहुनु हो ।

परम्परागत कृषि प्रणालीबाट जीवनस्तरमा परिवर्तन आउन गाह्राे हुन्छ । भए पनि कछुवा गतिमा परिवर्तन हुन्छ तर जमाना भने बुलेटको छ । विकसित मुलुकको कृषि प्रणाली आश्चर्यमय छ । हुन त विकसित मुलुकका कृषकलाई हाम्रो तरिका आश्चर्यमय लाग्ला । हाम्रो प्रविधि अत्यन्त झन्झटिलो र खर्चिलो छ अनि उत्पादित सामग्रीको उचित मूल्यांकन र व्यवस्थापन पनि छैन ।

हाम्रो देश कृषि प्रधान भए अनुसार हामीले प्रविधिको घनघोर विकास गर्नुपर्ने हो । उन्नत बिउविजन कस्तो हुन्छ संसारलाई देखाउन सक्नुपर्ने हो । मलकारखाना हाम्रै हुनुपर्ने हो । विषादी र भिटामिन हामीले निर्यात गर्नुपर्ने हो । नयाँ नयाँ जातका अन्नबाली फलफूल अन्वेषण हुनुपर्ने हो । आधुनिक कृषि औँजारको अन्तर्राष्ट्रिय बजार हाम्रो हुनुपर्ने हो । कृषि प्रविधि हामीले सिकाउनु पर्ने हो । जसरी हामीलाई औद्योगिक मुलुक उद्योग सिकाउँछन् । वैज्ञानिक मुलुक विज्ञान सिकाउँछन् ।

निकट भूतमा हामीले कृषि प्रणालीमा कुनै आविष्कार गर्न सकेका छैनौँ । जनक राजाको हलाले हाम्रो कृषि अहिलेसम्म धानिरहेको छ । गोमा ब्राह्मणी धान छोडाएर भात पकाइरहेकी  पढिन्छ र पढाइन्छ । उन्नाइसौँ शताब्दीका पश्चिमा प्रविधि नेपाल आइपुग्दा झन्डै एक्काइसौँ शताब्दी भयो ।  जब आयो त्यसले हामीलाई खर्लप्पै खायो ।  हाम्रो माटो र हावापानी अनुकूलको कृषिमा हामीले नै केही गर्न नसकेकाले बाह्य प्रणाली हाबी हुनु स्वाभाविक भयो । भूमण्डलीकरण कला, साहित्य र संस्कृतिमा मात्र हैन कृषिमा पनि भरभराउँदो भएर आयो । विश्वपूँजीवाद  किसानको ढाडमा 'फर्टिलाइजेसन' भएर आइपुग्यो र 'हाइबृड' भएर मौलायो ।

मल जहाज चढेर आउँछ र बिउ रेल चढेर आउँछ । धान हरियाणाको, धनिया थाइल्यान्डको रोपेर कृषिबाट देशले कहिलेसम्म समृद्धि हासिल गर्नेहोला ? 'यो वर्ष किसानले समयमै बिउ र मल पाउँछन्´भनेर धेरै भाषण गरेको वर्ष मल र बिउविजन  ढिला आइपुग्छ । किसानको आँसुमाथि देशको राजनीति टिकेको छ । दस दिन किसानलाई नरुवाइकन बजारमा बिउ,विजन र मल ल्याउँदैन सरकार ! नत्र प्रत्येक वर्ष ढिलो किन हुन्छ ? एक वर्ष ढिलो भएपछि अर्को वर्ष बेलैमा चेत्नु पर्दैन ? हरेक मन्त्रीले समयमै कृषि सामग्री आयात गर्छु भनेर भोट तान्ने कि मल, भिटामिन र विषादीको उद्योग देशमै खोल्छु पनि भन्ने  ? र काम गरेर देखाउने ?

मौलिक बिउ, विजनको संरक्षणमा ध्यान नदिने हो भने कृषिमा हामी कसरी आत्मनिर्भर हुनसक्छौँ ? मलखाद भिटामिन र विषादी आफ्नै देशले उत्पादन नगरेसम्म किसानको छट्पटी कसरी शान्त हुन्छ ? किसानले काम गर्न पर्‍यो भनेर कहिल्यै दु:खी भएका छैनन् बरु समयमा काम गर्न नपाएर चिन्तित भएका छन् । अहिले सरकारमा भएका प्राणीहरू किसानका वंश हुन् । यिनका बाउबाजेले खेतीपाती गरेरै यिनका मुखमा माड लगाउन सकेका हुन् भन्ने कुरा यिनलाई याद हुनुपर्ने हो  । श्रमजीवी किसानका सन्तान सत्तासीन भएका बेलामा किसानलाई नै रुवाउनु आफ्नै बेइज्जत गर्नु होइन र ?