निरन्तरको वर्षाले बेँसीशहर–चामे सडक अवरुद्ध

निरन्तरको वर्षाले बेँसीशहर–चामे सडक अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ७, २०७७

लमजुङ । लमजुङ र मनाङको एक मात्र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाले गएरातिदेखि बाढीपहिरो जाँदा यसखण्डको बेँसीशहर नगरपालिका– ७ पुवाखोला र वडा नं– ६ खरखरेभीरमा सडक अवरुद्ध भएको हो । 

निरन्तर वर्षाले बाढी आउँदा पुवाखोलाले करिब पाँच/छ मिटर सडक खोलेको र खरभरेभीरमा सडकमाथिबाट ढुङ्गामाटोसहितको पहिराले करिब ४० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सवइञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो । सडक अवरुद्ध हुँदा सवारीसाधन आवजात हुनसकेको छैन । 'पुवाखोलामा बाढी आउदा सडक खोल्ने गर्छ, हामीले ढुङ्गा माटो राखेर सडक सञ्चालन गर्ने गर्छौ तर दिगो समाधान हुनसकेको छैन', उहाँले भन्नुभयो । 

त्यस्तै, खरखरेभीरमा सडक माथिको ठूलो पहिरो भएकाले त्यसलाई नियन्त्रण गर्न कठिन हुँदा पटक–पटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको छ । वर्षा निरन्तर भइरहेकाले उक्त स्थानमा गएको पहिरो तत्काल खुलाउन सम्भव नहुँदा यातायात सञ्चालनमा समस्या भएको उक्त कार्यालयले जनाएको छ ।