राजपरिवारसहित आरोहण टोलीको खुम्बु जाने कार्यक्रम प्रभावित

राजपरिवारसहित आरोहण टोलीको खुम्बु जाने कार्यक्रम प्रभावित

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०७७

मौसम प्रतिकूल बन्दा बहराइनी राजपरिवारसहितको टोली खुम्बु जाने कार्यक्रम प्रभावित भएको छ । 

हिमाल आरोहणका लागि राजपरिवारसहितको टोली विमानमार्फत लुक्ला जाने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौँमा नै रोकिएको हो । 

समिट एयरमार्फत राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली लुक्ला जाने कार्यक्रम तय भए पनि मौसम प्रतिकूल हुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा कुनै उडान हुन सकेन । 

खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार गत बुधबार नेपाल आएका थिए । राजकुमारको टोली शेख इशा एअरवेजबाट विशेष विमानमार्फत गत बुधबार काठमाडौँ आएको थियो ।

टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन  बेलायती रहेको बताइएको छ ।

विश्वव्यापी कोरोना महामारीका बीच लामो समयपछि मङ्गलबार दुई जर्मन नागरिक खुम्बु भित्रिएका छन् । उनीहरु काठमाडौँबाट पीसीआर परिक्षण गराएर विमानमार्फत खुम्बु आएको गाउँपालिकाले जनाएको छ । लामो समयपछि खुम्बु आएका विदेशी पर्यटकलाई खुम्बुबासीले स्वागत गरेका थिए ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्रसमेत बन्द गरिएपछि थलिएको खुम्बु क्षेत्रको व्यवसाय फस्टाउने आशा जागेको व्यवसायीको भनाइ छ ।