शान्ति समाजले पाँच महिलासहित ११ स्रष्टालाई सम्मान गर्ने

शान्ति समाजले पाँच महिलासहित ११ स्रष्टालाई सम्मान गर्ने

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन ८, २०७७

काठमाडाैं । स्रष्टा सम्मान अभियानअन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न पुरस्कारद्वारा पाँच महिलासहित ११ स्रष्टालाई सम्मान गरिने भएको छ ।

विसं २०७७ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान अशेष मल्ल, पवित्रादेवी चौलागाँइ मानव अधिकार स्रष्टा सम्मान विश्वभक्त दुलाल ‘आहुति’, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान नीलम कार्की ‘निहारिका’, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रदीपकुमार राई ‘व्याकुल माइला’, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रमोद प्रधान र महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिनुभयो ।

जोगमाया बराल स्रष्टा सौगात ज्ञानुवाकर पौडेल, राधादेवी दाहाल स्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थर, भूमिप्रसाद बराल स्रष्टा सौगात वसन्ती शाही, श्रीप्रसाद दाहाल स्रष्टा सौगात बालिका चौधरी तथा श्रीनारायण दाहाल स्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ । 

पुरस्कृत स्रष्टा पाँच महिलासहित सातवटै प्रदेशका हुनुहुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका दिन विशेष कार्यक्रम आयोजना गरी जनही  २० हजार रुपैयाँ राशिको पुरस्कारसहित पुरस्कृत स्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । एक दशक अघिदेखि मासिकरूपमा शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको समाजले साहित्यको आराधना र स्रष्टा सम्मानलाई अभियानको रूपमा अघि बढाएको छ ।