ग्रीसको मोरिया क्याम्पबाट करिब ५०० आप्रबासी बालबालिकालाई फ्रान्स ल्याइने

ग्रीसको मोरिया क्याम्पबाट करिब ५०० आप्रबासी बालबालिकालाई फ्रान्स ल्याइने

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ८, २०७७

एजेन्सी । ग्रीसस्थित डढेलोबाट प्रभावित मोरिया क्याम्पमा रहेका ५०० बालबालिकालाई फ्रान्समा ल्याइने सरकारी अधिकारीले बिहीबार बताएका छन् ।

फ्रान्सका यूरोपेली मामिला मन्त्री क्लेमेन्ट बिउनीले स्थानीय रेडियो आरटिआरसँग भन्नुभयो, 'फ्रान्सले केही दिन पहिले डढेलो प्रभावित शिविरका ३५० बालबालिकालाई फ्रान्स ल्याउने प्रतिवद्धता जनाइसकेको थियो । थप १५० बालबालिकासहित उक्त क्याम्पका कूल ५०० आप्रबासी बालबालिकालाई फ्रान्समा शरण दिइने छ ।' 

सेप्टेम्बरको सुरुमा करिब १२ हजार शरणार्थी रहेको शिविरमा आगलागी भएपछि उनीहरूलाई यूरोपका विभिन्न स्थानमा व्यवस्थापन गर्ने इयू नेताहरूबीच सहमति भएको र फ्रान्सले यसै आधारमा ती बालबालिकालाई आफ्नो मुलुकमा भित्र्याउन तयार भएको हो । 

‘आप्रबासी र शरणार्थी व्यवस्थापनका लागि भएको नयाँ सम्झौता’मा इयूका २७ सदस्य राष्ट्रहरूले शरणार्थीको बोझ लिने सहमति गरिएको यूरोपेली आयोगले बुधबार सार्वजनिक सूचनामा जानकारी गराइएको थियो । यद्यपि केही साना मुलुकहरूले बराबर शरणार्थी बाड्ने सहमतिमा असहमति जनाएका छन् ।

यसैबीच बिउनीले फ्रान्सको मार्सेलीतर्फ हिँडेको भनिएका तर इटालीबाट उद्धार गरिएका १३० आप्रबासीहरूलाई इटालीमा व्यवस्थापन गर्न भन्नुभएको छ । उहाँले फ्रान्सले यसबाट आफ्नो हिस्सामा पर्ने बोझ लिन तयार भएको पनि बताउनुभएको छ ।