बलात्कार आरोपमा दुई जनालाई जेल सजाय

बलात्कार आरोपमा दुई जनालाई जेल सजाय

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ८, २०७७

एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत चितवनले एक जनालाई आठ वर्ष कैद सजायको फैसला गरेको छ । 

आरोपित भरतपुर महानगरपालिका –११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो ।

धादिङ जिल्ला नीलकण्ठ गाउँपालिका –५ घर भई नवलपुर, गैँडाकोट आफन्तकहाँ जाने क्रममा अटो रिक्सा चढाई चालक परियारले भरतपुर–१२ स्थित जंगलमा लगी बलात्कार गरेको भन्दै पीडितले गत २ मंसिरमा जिल्ला प्रहरी कार्यालय चितवनमा उजूरी दिएकी थिइन् । 

उजूरीलगत्तै आरोपित परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । 

यस्तै ३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले भरतपुर महानगरपालिका– ९ शरदपुर घर भएका ३३ वर्षीय दीपक सापकोटालाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ । 

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–१२ घर भएकी महिलालाई गत २३ जेठमा शरदपुर घर भएका सापकोटाले आफ्नै घरको कोठामा बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।