वासु रोटरी भोकशनल अन गुड गभर्नेन्स रोटरी पुरस्कारबाट पत्रकार पुरस्कृत

वासु रोटरी भोकशनल अन गुड गभर्नेन्स रोटरी पुरस्कारबाट पत्रकार पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ९, २०७७

काठमाडाैं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले आफूले स्थापना गरेको वासु रोटरी भोकशनल अन गुड गभर्नेन्स रोटरी वर्ष २०१९–२० का लागि खोजी पत्रकारितामा संलग्न दुई  पत्रकारलाई दिने निर्णय गरेको छ ।

स्वतन्त्र पत्रकारिताका माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशन तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनाका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले  दश लाख रुपैयाँको उक्त पुरस्कार  छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्राकुरा डट कम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीलाई दिने निर्णय भएको छ ।

प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने उक्त अवार्ड यस पटक पुरस्कृत व्यक्ति र संस्थालाई जनही पाँचपाँच लाखका दरले वितरण गरिने रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरणलाल श्रेष्ठले जानकारी दिनुभयो । 
 । 
उक्त पुरस्कार इञ्जिनीयर रोटेरियन सुरेन्द्रगोविन्द जोशीले आफू र आफ्नी श्रीमती बद्रीलक्ष्मीका नाममा स्थापना गर्नुभएको हो । इ जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर)का संस्थापक सदस्य तथा पूर्वअध्यक्ष हुनुहुन्छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशका एकएक  गरी सात उत्कृष्ट पत्रकार र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच पत्रकारलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि जनही २५ हजार  छ ।

रोटरी वर्ष २०१९–२० मा सो अवार्ड आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडाैं, वातावरण पत्रकारिता क्षेत्रबाट टीका बन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौँ, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह (न्यूजकारोवार डटकम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौँ र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौँले पाउनुभएको छ । 

यसैगरी प्रदेशअन्तर्गत विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडाैं, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगबोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह 
(कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केरिन्युज डटकट) कैलालीलाई वितरण गरिने जनाइएको छ ।