निःस्वार्थ सामाजसेवी भावना भएकाे ‘हाम्रो संसार’

निःस्वार्थ सामाजसेवी भावना भएकाे ‘हाम्रो संसार’

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ९, २०७७

बलेवा । कोरोना कहरका कारण लकडाउन हुनुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक झण्डै दुई हजारदेखि पच्चीस सय युवा विदेशिन्थे । त्योभन्दा ठूलो लर्को खुला सिमाना हुँदै भारत पस्नेको छ । सामाजिक काम र सेवाभाव भएका युवा कमै भेटिन्छन् । तिनै कम युवाको प्रतिनिधित्व गर्छन् ‘हाम्रो संसार’ समूहमा आबद्ध युवा । 

प्राकृतिक विपत्ति, सामाजिक तथा आर्थिक बहिष्करणमा परेको समुदाय, खर्च नभएर छाक टार्न नसकेको परिवार होस् वा बेसहारा सबैको घरदैलोमा पुगेर धेरथोर सहयोग गर्दै सामाजिक सेवाभाव राख्छन् यो समूहमा आबद्ध युवा । जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भएको यो समूहले स्वःस्फुर्त सहयोग सङ्कलन गर्छ । सार्वजनिक स्थानको सरसफाइ, सचेतनाका कार्यक्रम सञ्चालन गर्छ, विपद् र समस्या रहेका ठाउँमा पुगेर समूहले सहयोग गर्छ ।

'हामी सकारात्मक सन्देश प्रवाह होस् भनेर सङ्गठित भएका छौँ, न कुनै दल न राजनीतिक आस्था, निःस्वार्थ सामाजसेवी भावना भएका युवा हौँ हामी', हाम्रो संसारका अध्यक्ष नवराज पौडेलले भन्नुभयो । समूह सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मिएको हो । अहिले समूहका सदस्य २६ हजारभन्दा बढी छन् ।

'त्यही सामाजिक सञ्जालको समूहमा हाम्रो छलफल, योजना बन्छन् र कार्यान्वयन हुन्छ', समूहका सदस्य हरि पौडेल भन्नुहुन्छ, 'देशभरिका युवाको स्वःस्फुर्त सहभागिता छ ।' अहिले यो समूहले बाढीपहिरो पीडितको राहतका लागि  एक सहयोग अभियान चलाएको छ । अभियानमा  ७२ हजार सङ्कलन भएको छ । बागलुङको ढोरपाटन, जैमिनी, सिन्धुपाल्चोकका बाढीपहिरो पीडित र देशका अन्य ठाउँका पीडितलाई यो समूहले धेरथोर सहयोग गरिसकेको छ । 

मिर्गौला, क्यान्सर पीडितदेखि बेसहारालाई खाद्यान्न किनेर घरघरमा पुर्‍याउनेसम्मका काम समूहले गर्छ । 'कुलत युवाको शत्रु हो, सामाजिक भावनाले सबैले साथ पाउँछन्', अध्यक्ष पौडेल भन्नुहुन्छ ।