कालीमार्सीका बाला झुलेसँगै स्थानीयवासी खुसी : रोग लागेर किसान चिन्तित

कालीमार्सीका बाला झुलेसँगै स्थानीयवासी खुसी : रोग लागेर किसान चिन्तित

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ९, २०७७

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटहरुमा उत्पादन हुने कालीमार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरको कालीमार्सी धान पाक्न थालेको हो । स्थानीयबासी मायादेवी बुढा भन्नुहुन्छ– यहाँका खेतका फाँटहरुमा कालीमार्सी धानका बाला झुलेसँगै स्थानीयवासीमा पनि खुसीयाली छाएको छ ।  
 
गाउँपालिकाको आर्थिक सहयोग र कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहजीकरणमा यस वर्ष यो धान रोपिएको थियो । गाउँपालिका अध्यक्ष लछिमान बोहोराले भन्नुभयो, 'गत वर्ष सो स्थानमा दुई हजार वर्गमिटर क्षेत्रफल जग्गामा धान रोपिएकोमा यो वर्ष पाँच हजार वर्गमिटर क्षेत्रफलमा रोपिएको छ ।' उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोको संरक्षण गर्नको लागि कालीमार्सी धान रोपिएको अध्यक्ष बोहोराले बताउनुभयो ।

सो स्थानमा फलेको कालीमार्सी धानको चामल देशका विभिन्न शहरमा राम्रो मूल्यमा बिक्री वितरण हुने गरेको छ । देशका विभिन्न भागबाट यो चामलको माग आउने गरेको छ । कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कलिमान महताराले भन्नुभयो 'पछिल्ला वर्षहरुमा मानिसमा स्वास्थ्यसम्बन्धी चेतनाका कारण हो या मिठो खाने चाहनाले हो यो धानको माग निकै नै बढ्न थालेको महसुस हामीले गरेका छौँ ।' 

उहाँले भन्नुभयो, 'कालीमार्सी धानको संरक्षणको कार्य स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश र सङ्घीय सरकारले धान खेती गर्ने किसानलाई विभिन्न प्रकारका राहतका कार्यक्रम ल्याउनु आवश्यक छ ।' यो धानको बीउ संरक्षण मात्र होइन कि यसको थप व्यावसायिक खेतीका लागि पनि यहाँका किसानलाई अझ उत्प्रेरित गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

नेपालको जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । नेपालमा राणा शासनको समयमा समेत केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन् । 

करीब ७०० वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ भित्र्याएको विश्वास गरिन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । यहाँका किसानले लगाएकोे प्रायः सबै खेतको धान यो याममा पाकेर झुल्न थालेको किसान बताउँछन् । उनीहरु गत वर्षभन्दा यसवर्ष धान राम्रो फलेको बताउँछन् । 
 
यतिखेर पाक्न थालेको कालीमार्सी धान कात्तिकको पहिलो हप्तातिर काट्ने तयारी हुन्छ । ज्योतिष हेराएर, शुभ साइतमा धान काट्ने यहाँको स्थानीय चलन छ । यसरी रोपिएको यो धान स्याहार्न भने निकै दुःख हुने गरेको छ यहाँका किसानलाई । खेतमा धानसँग झार निकै बाक्लो आउँछ । कम्तीमा पनि दुई देखि तीनपटक झार गोडेर फाल्नुपर्छ । दसैँको घटस्थापनाका दिन वा यसको भोलिपल्ट प्रतिपदाका दिन स्वाती नक्षत्र पर्छ र यस दिन एक अँगालो नयाँ धान ल्याएर त्यसको चिउरा बनाइन्छ । शुरुमै तयार पारेको त्यो चिउरा चन्दननाथ बाबा र कनकासुन्दरीलाई चढाइन्छ र घरका सबैजनासँगै बसेर बराबर बाँडेर खाने गरिन्छ । त्यो चिउरा एकले अर्कोलाई क्रमशः दिँदै तथा छिमेकीमा समेत बाँडेर खाने खुवाउने परम्परागत रहेकोे संस्कृति सम्बन्धी जानकार रमानन्द आर्यालले बताउनुभयो । 

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले बताउनुभयो । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यहाँका किसान बताउँछन् यो चामलको माग शहरबाट बर्सेनि बढेर आएको छ ।