ज्ञानलाई अनुभवमा नल्याएसम्म आफ्नो भन्न पाइँदैन, त्यो गुरु होइन, गुरुघण्टाल हो

ज्ञानलाई अनुभवमा नल्याएसम्म आफ्नो भन्न पाइँदैन, त्यो गुरु होइन, गुरुघण्टाल हो

ज्ञानमित्र  |  साहित्य  |  आश्विन ९, २०७७

तपाई जुन शैली गतिविधि व क्रियाकलाप अन्तर्गत जीवन निर्वाह गर्नुहुन्छ त्यससँग सम्बधित प्रश्नहरुको सामना तपाईँले गर्नैपर्छ।  यसका लागि  तपाईँ सफल उद्यमी, 'हाइली एजुकेटेड', प्रोफेसर, निपुण वकिल वा कुनै  अन्य क्षेत्रको सम्मानित अथवा चर्चित व्यक्ति हुनु आवश्यक छैन ।  एक भिखारी र चोरसँग पनि समाजका सम्बधित वर्गबाट जिज्ञासा र प्रश्न सोध्ने कार्य भइरहेको हुन्छ ।

सन्यासी जीवनको मौजमा रमन थालेपछि  मैले पनि  समाजका पूर्व परिचित एवं साथी भाईका अनेको प्रश्नको सामना गरीरहनु पर्ने अवस्था रह्यो  । वास्तवमा मसँग सोधिएका कुनै पनि प्रश्नको मसँग सम्यक जबाब हुँदैनथ्यो र अहिले पनि छैन  । तर, सधै गोलमटोल जबाब दिएर उम्किन कहाँ पाइन्छ ?  कहिले काही प्रश्नकर्ता आफ्नो अग्रज ,सम्माननीय अथवा प्रेमपात्र नै हुन्छ । मसँग सोधिने जिज्ञासाजनक प्रश्नमा सबैभन्दा बढ़ी सोधिएको  प्रश्न- तपाईँ सन्यासी भएर यतिको घुम्नु भयो,  भन्नुस त सबैभन्दा राम्रो गुरु को हो ?

तपाईँका लागि यस प्रश्नको उत्तर सहज होला ? शायद तपाईँ तुरुन्तै उत्तरमा आफ्नो गुरु बाहेक पनि एक दुइ अन्य व्यक्तिको (यो तपाईँको उदारताको पराकाष्ठा नै हुनेछ , हुन त यस्तो हुनुको सम्भावना अति नै न्यून हुन्छ ) सिफारिश गरी दिएर प्रफुल्लित मुद्रामा प्रश्नकर्ताबाट यस विषयमा अन्य जिज्ञासा आउने प्रतीक्षा गर्नुहुन्छ ...।

 तर मेरा लागि यो प्रश्न अति जटिल हुन्छ, लाग्छ यस प्रश्नको सट्टा प्रश्नकर्ताले मसँग हेमामालिनी अथवा रेखा जस्ता पुराना अभनेत्रीहरुको रूप- लावण्य  एवं अभिनय सम्बन्धी प्रश्न गरेको भए उत्तम हुन्थ्यो ! कारण सर्वविदित छ, यस्तो चर्चामा केही त रस एवं आनन्दको समावेश हुने थियो ।  यो सर्वश्रेस्ठ गुरु विषयक चर्चा 'फगत म गेरुआधारी'लाई दृष्टिगत गरी उत्पन्न भएको 'मशान वैराग्य समान' को अति क्षिप्र जिज्ञासा हुने गर्छ  । क्षमा माग्दै दुई जना अग्रजको नाम उल्लेख गर्दै उहाँहरुको यस्तै प्रश्नमा मैले दिएको जबाब लिपिबद्ध गर्न चाहन्छु ।

 पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दज्यू तथा डा‍‍.हरिप्रसाद पोखरेलले यही प्रश्न सोध्दा मैले प्रत्युत्तरमा पन्जाबका गुरु बुध पुरीजी महाराजको नाम लिएको थिए । मलाई लाग्दैन नेपालबाट मेरा मित्रद्वय  सुस्मिता थापा र सरोज शर्मा बाहेक कोही पन्जाब पुगे । अब त महाराजजीले पन्जाब आश्रमको बसाई परित्याग गरेर हिमालयबास गरेको ५ वर्षभन्दा  बढी भइसक्यो ।  मेरा लागी नै अब उहाँलाइ भेट्नु दुर्लभ भइसक्यो ।

मैले त जीवनमा कसैलाई  गुरु बनाइन । एकजना गुरु पाइलेट बाबा बाहेक कसैले मलाई शिष्य बनाउने प्रस्ताव गरेनन् । पाइलेट बाबाले पनि मात्र एकपटक सन् २००४ को उज्जैन महाकुम्भ पछि नैनीताल आश्रममा रहदा मलाई सन्यास दीक्षा लिन भन्नु भएको  थियो।

मैले सोधे ,बाबा के सन्यासी हुनलाई  दीक्षा लिन आवश्यक छ ?

उहाँको जबाब थियो - 'बेटा यदि आप अकेले चल सकते है तो कोई जरुरत नहीं' ।

बस पुग्यो, मैले उहाँका यिनै शब्दलाई  गुरु माने, र स्वयंसँग भने- म जस्तो सुकै परिस्थितिमा एक्लै हिडनसक्छु, 'सो आई डोन्ट नीड एनी काइन्ड अफ क्रचेज (CRUTCH) ( बैशाखी ) नेम्ड एज गुरु'  ।

मैले गुरुरूपी अबलम्बनको सहारा लिइन । मेरो बोध नै मेरो गुरु बन्यो । मानिस गुरु सम्बन्धी चर्चा एवं गुरु के का लागि बनाउँछन, मैले आजसम्म यो रहस्य बुझ्न सकेको छैन ? केही  दिन पहिला एकजना महिला भन्दै हुनुहुन्थ्यो -मेरा गुरु त विश्व प्रसिद्ध हुनुहुन्छ, उहाँको जन्मदिनको समारोहमा १५० देशका शक्तिशाली मानिस भेला हुन्छन् !

मैले उहाँसँग सोधे, के तपाईँले आफ्ना गुरुसँग बसेर बात मार्ने  मौका पाउनु भएको छ ?

उनको जबाब थियो - कहाँ पाउनु म जस्ताले गुरुसँग बात मार्ने अवसर ? कस्ता- कस्ता दिग्गजहरुलाई त गुरुसँग भेट्ने मौका पाइन्न !

जुन व्यक्तिका लागि  सामान्य र दिग्गजको भेद हुन्छ, त्यों गुरु होइन,  गुरुघण्टाल हो।  

गुरुसँग तपाईँले के सिक्नु भयो भन्ने प्रश्नमा जबाब आयो, 'भेट्न पाए पो सिक्ने र सोध्ने 'चान्स' पाइन्थ्यो ! उहाँका शिष्यहरुले शिविर आयोजना गर्छन त्यसमा भाग लिन्छु र उहाँका पुस्तक पढेर यसो उसो बोल्न जानेकी छु '।

तपाईँलाई  लाग्दैन ती महिलासँग भेटेर  बिताएको  मेरो सम्पूर्ण समय व्यर्थ गयो  ?

मानिसले गुरु आध्यात्मिक जिज्ञासा एवं तिनको समाधानका लागि  बनाउँछन  कि सामाजिक प्रतिष्ठाका लागि  ! मैले आजसम्म यही भेद बुझ्न सकेको छैन ।

 प्रसिद्ध गुरु, सर्वज्ञानी गुरु, 'इनलाइटेंड  गुरु,  दिनमा दस पटक टीभीमा अनुहार देखाउने गुरुहरु  मानिसको छनोटमा किन पर्छन ? ल अहिलेको अति चर्चित गुरु जग्गी वासुदेवन कै कुरा गरौं ।  तपाईँले उनलाई गुरु बनाउनु भयो । के उहाँलाई  गुरु थापीसकेपछि उहाँसँग भेटेर आफ्ना प्रश्नको समाधान सोध्ने अवसर तपाईँलाई  पुनः  प्राप्त होला ?

तपाईले उहाँका उपदेश टीभी, अन्य स्क्रिन अथवा पुस्तकमा पढ्नु बाहेक तपाईँसँग अर्को विकल्प  के नै हुन्छ ? यदि तपाईँसँग आफै पढेर ज्ञानयात्राको शिखरमा पुग्ने लियाकत छ भने कुनै पनि धर्ममा धार्मिक-आध्यात्मिक ग्रन्थको अभाव छैन । आफ्नो परिब्राजक  जीवनको निचोड़ भन्ने हो भने ,बूढ़ानीलकण्ठमा रहनु भएका स्वामी चन्द्रेश जतिको योग्य गुरुमूर्ति सम्पूर्ण भारतमा खोजेर पाउनु सजिलो छैन । के २०० जना नेपाली पनि स्वामी चन्द्रेशलाई  भेट्न उहाँको आश्रम पुगेका छन ? जुनसुकै भारतीय चटके गुरु नामधारीका पछाडि हजारौं नेपालीको ताँती लागेको सर्वविदित नै छ।

मेरो मन- हृदयमा स्वामी विवेकान्दप्रति असीम सम्मान एवं आदरभाव छ । तर एउटा कुरा सम्झिदा उहाँप्रतिको मेरो अहोभावको ग्राफ 'बटम लाइन' मा झर्छ । उहाँको जीवनकालमै घटना खुबै प्रचारित भयो -गुरुले छोई दिनासाथ उहाँलाई  समाधि लाग्यो । विवेकानन्दले जीवनको उत्तरार्धमा गुरुबाट पृथक हुने चेष्टा गर्नु भयो । मायापुरीको अद्वैत  आश्रममा उहाँले कुनै पनि तस्वीर राख्न मनाही गर्नु भएको थियो, गुरुको तस्वीरलाई  पनि मनाही गर्नुभएको थियो । कुनै व्यक्तिले रामकृष्ण परमहंसजीको एउटा तस्वीर लगाई दिएछ ।


हेर्नसाथ विवेकान्दको मुखबाट निस्कियो- ' बूढ़ाले यहाँ पनि छाडेनन' । तर पहिलो समाधि विषयक प्रपन्चबारे उहाँले आजन्म मुख खोल्नु भएन । आम मानिस  विवेकानन्द कै गाथाका भाँति गुरुसँग आशीर्वादमा समाधिको चाहना  राख्ने गर्छन  ।

विवेकान्दप्रति सम्मान उहाँको विद्धता निम्मित्त हो, बाँकी न उहाँ मेरो आमा पटीको, न पिता पटीको । सत्य कुरा बोल्न  किन परहेज ? आज पनि कुनै गुरुले ध्यान, समाधि, कुण्डलिनी,  ईश्वर साक्षात्कार,  मुक्ति, निर्वाण  जस्ता विभिन्न शब्दको प्रलोभन देखाई सर्वसाधारणलाई  मुर्गा बनाउँछन  भने त्यसको दोष विवेकान्दलाई  दिनु न्यायोचित हुन्छ । उनको पहिलो 'गुरुप्रसादरूपी समाधि' को जति चर्चा विभिन्न तथाकथित गुरुले गर्छन त्यसले सर्व साधारण झुक्किनु स्वाभाविक नै हो । विवेकानन्दलाई  उपलब्ध भयो भने मलाई किन नहुनु ? आखिर विवेकान्द पनि पहिला त म जस्तै  साधारण र आवारा नै थिए ।

यदि कसैमा  सिक्ने प्रबल इच्छा छ भने  गुरु नै किन  ? सामान्य व्यक्तिका साथै घटना, परिस्थिति  र यहाँसम्म कि बालुबाको एउटा कणदेखि पानीको एक थोपो पनि  उसका लागी  'राम कृष्ण झै परम गुरु'  हुनसक्छ । र, यसको अभावमा  कृष्ण जस्तो परम गुरुको सानिध्यमा पनि कोही 'भीमसेन' नै भइरहनसक्छ ।

मेरै जीवनमा एउटा घटना यसरी घटित भयो कि मेरा  मित्र गुरुतुल्य हुनपुगे मेरा लागी । तर, अझै उहाँ  मेरो मित्र नै हो , उहाँको भनाइ छ- यदि कोही गुरु तपाईसँग मित्रका माफिक खुलस्त छैन भने यार उसलाई  भन्नुस- 'तू नहीं और सही ,और नहीं और सही '।

पुणेको शहरी र राजसी रहनसहनले बाक्क बनाइ सकेको थियो । २००६ को जुलाई महिनादेखि  महाराष्ट्र राज्यको पुणे शहर ३ वर्षका लागि मेरो केन्द्रविन्दु बनेको थियो । पुणेमा  हाम्रो बसाइ शहरबाट २५ किमि टाडा एउटा नवनिर्मित शान्त कोलोनीमा थियो र  मेरो जिम्माको काम भने बिहान ७ः३० बजे साथीसँग बसेर चिया खानुपर्ने हुन्थ्यो  । उनी बिहान आठ बजे नाश्ता  गरेर कार्यालय प्रस्थान  गर्थे ।

उनी एक्लै टेबुलमा बसेर नाश्ता गर्न मनपराउँदैनन् थिए, उनको भनाई हुन्थ्यो - मित्रसँगै हुँदा मैले किन टुहुरो जस्तो  एक्लै बसेर खानुपर्ने ? चिया मात्रै खाएर भए पनि  मलाई कम्पनि देउ । उनी अफिस गएपछी साँझ सात बजे मात्रै फर्किन्थे । म दिनभरी मुक्त, सातामा दुई दिन जति ‘कोरेगाव’ गएर ‘जर्मन बेकरी’ र ओशो सन्यासीसँग घुमिन्थ्यो । ड्राइभर सोमनाथ भने काम नभएर छटपटिन्थे । म जस्तो मालिक पाएर सोमनाथ ‘काम नपाएर’ आराम गर्दा गर्दा थाकी सकेका थिए । बिचराले दिनभरी ड्राइभिङ सीटमा सुत्नुपर्ने  हुन्थ्यो । बाँकीका दिन चार पाँच घन्टा योग र ध्यान गरेर बिताइन्थ्यो । प्रायः  दिउसो भोजन गरिन्थ्यो र साँझमा फेरी साथीलाई कम्पनी दिन टेबुलमा बस्नुपर्ने अनिवार्यता हुन्थ्यो  ।

सात आठ महिनामै  यस शाही जीवनले मलाई  अति  भयो । मार्च  महिना प्रारम्भ नहुँदै पुणेमा गर्मी चढिसकेको थियो, म भने गर्मी खप्न नसक्ने । मैले अप्रिल, मई, जून, कुनै पहाडमा गएर बस्ने विचार गरें । यसका लागि   मस्तिष्कले चुन्यौ बद्रीनाथ । साथीसँग दुई तीन महिनाका लागि पलायन गर्ने स्वीकृति लिइ पुणे छाडियो ।

हरिद्धारबाट बद्रीनाथ पुग्न अझै पनि कष्टकर  यात्रा गर्नुपर्छ । बसबाट ३०० किमिको पहाडी यात्रा र बस भने जवाहरलाल नेहरु पालाका । बिहान ५ बजे हिडेको बस बद्रीनाथ पुग्नसकेन, बस्नु पर्यो जोशीमठमा । म ४० डिग्रीबाट आएको मानिस ,जोशीमठको जीरोको छेउछाउको तापमानले सातो  उडायो । शंकराचार्य आश्रमले दिएको कम्बलको क्षमता थिएन जाडोसँग जुध्नसक्ने ! जेनतेन रात बिताएर भोली  बिहान पुनः हरिद्वारबाट चढेर आए  कै गाडी पुनः  चढेर ११ बजेतिर बद्रीनाथ पुगियो ।

 यो मेरो तेस्रो चौथो पटकको बद्रीनाथ भ्रमण थियो। बद्रीनाथमा मेरा सन्यासी मित्र राम गिरी र प्रकाश बस्थे । राम गिरीलाई त्यहाँ मन्दिर समितिले बनाएका कुटीमा बस्ने व्यवस्था सन्यासी मित्र अवघेशानन्दले मिलाई दिएका थिए । प्रकाश भने आफ्नै गुरुले बनाएको कोठामा बद्रीनाथ आउँदा बस्थे। उनी बद्रीनाथको कोलाहल र रमझममा  बस्न मन नपराएर त्यहाँबाट २४ किमि टाढा सतोपन्थ भन्ने स्थानमा  बस्थे ।

 म सोझै राम गिरीलाई खोज्दै उनी बसेको कुटीमा पुगे । बद्रीनाथ पुग्दा झलमल घाम लागेको थियो, तर जाडो भने ८–१० डिग्रीभन्दा माथि थिएन । राम गिरीले हार्दिकताका साथ स्वागत गरे । हिन्दु मान्यताअनुसार भगवान विष्णु विराजमान बद्रीनाथको सौन्दर्य भने अतुलनीय नै छ। चारैचिर अग्ला अग्ला डाँडाको बिचमा अवस्थित सुन्दर उपत्यका,  डाँडामा हिउँ भने अझै पग्लिएको थिएन । बिचबाट  बगेकी अलकन्दा  अझै पनि ठाउँ ठाउँमा हिउँ ओढेर बसेकी देखिए पनि भित्रभित्रै बगेकी थिइन । बद्रीनाथका बारे निकै कथाहरु सुनेको थिए ‘यहाँका गुफा कन्दरामा अझै पनि हज्जारौ वर्षदेखि  बसेका तपस्वीहरु साधनारत छन्, धेरै सिद्धपुरुष्हरु यहाँ भेटिन्छन्' ।

दिउँसो  भेट्न आइपुगे सन्यासी मित्र अमृतानन्द गिरी । उनलाई हामीले नयाँ नाम दिएका थियौ खरगोश गिरी । उनी विगत केही  वर्षदेखि बद्रीनाथको  एउटा प्राकृतिक गुफामा बस्दै आएकाले साथीहरुले उनलाई यो नया नाम जुराएका थिए । उनीसँगको  बातचित पछि स्पष्ट भयो, धेरै साधु सन्यासी त्यहाँ पाँच सात महिना बिताउनुको कारण पनि अर्थलाभ नै रहेछ । आफु बसेको कुटीमा नै बद्रीनाथ यात्रामा आउने  तीर्थालुहरुले सबै कुराको बन्दोबस्त मिलाइ दिने रहेछन् । सिजन भरीमा २५–३० हजार रुपैया सजिलै हुने रहेछ । बद्रीनाथका पट बन्द भएपछि सन्यासीहरु वर्षको बाँकी अवधि त्यहाँ  दान पाएको पैसाले भारत भ्रमण गरी बिताउँछन् । उनको भनाइ थियो, भगवान बद्री विशालको कृपाले हामी सन्यासीहरुको जीवन मजैले निर्वाह भइरहेको छ । यसका साथै अमृतानन्दले आफु २ वर्षदेखि बद्रीनाथ छाडेर कतै  नगएको उल्लेख गरे । शीतकालमा बद्रीनाथमा बस्नु चानचुने  कुरा होइन  । ३०-४० फिटसम्म हिउँ पर्छ, बिजली लगायत कुनै पनि सुविधा हुन्न ।

आफु बस्ने कोठामा ५-६ महिना पुग्ने सबै सामाग्रीको जोहो गर्नुपर्छ, पकाउनेदेखि खानेसम्म  । हिउँ पर्न  थालेपछि कोठाबाट बाहिर आउने कुनै चान्स हुँदैन ।

सन् २०१९ मा बद्रीनाथ जाँदा  पनि अमृतान्दसँग भेट भयो, उनले बद्रीनाथ छाडेका रहेनछन । तर अन्य साथीहरु राम गिरी, प्रकाश, प्रणवानन्द, गिरधर गोपाल पुरी जस्ता साथीहरुले बद्री नाथ बस्न छाडी सकेको अमृतान्दले नै जानकारी दिए।

 राम गिरी खाना पकाउन निकै सिपालु थिए, धेरै पटक चिया र खाजा ख्वाए उनले दिन भरी नै। तर जाडोले भने मुटु कामेको काम्यै गरी रह्यो  । कुटीबाट २५ मीटर पर धाराविहीन  शौचालय थियो  । धाराको पाइप भने १० मीटर जतिमाथि । पानी स्पर्श गर्दा हातमा करेन्ट लगे झै हुन्थ्यो।  कुटीभित्र सम्पत्तिको नाममा २०–२५ वटा कम्बल र राम गिरीले जोडेको एउटा ग्यास सिलिण्डर र ग्यास चूल्हो,  ८–१० वटा भाँडाकूडा  बाहेक अरु केही  पनि थिएन । भूमिमा चार पाँच कम्बल ओछ्याएर एवं  ५–७ वटा कम्बल ओढ्दा पनि जिउ नतात्ने ।

नुहाउनलाई भने सजिलो थियो,  मन्दिर छेबैमा तातोपानीको प्राकृतिक कुण्डमा नुहाउने सुविधा थियो  । कुण्ड बाहेक अन्य ठाउँको पानी छुन  ठूलो आँट गर्नुपर्ने हुन्थ्यो  । उत्तराखण्डका चारवटै धाम मध्ये बद्रीनाथ अलिक बढ़ी  विकसित छ । ठूलठूला आश्रम एवम् सुविधासम्पन्न होटेलहरु बनेका छन् त्यो ३००० भन्दा अग्लो हिमाली उपत्यकामा र गाडी पनि सोझै  बद्रीनाथसम्म पुग्छ, हिड्नु पर्दैन । योग ध्यान गर्न त्यहाँ पुगेको म बबुरोको प्रातः कालीन  सारा क्रियाकलापहरु शून्यमा  झरे । दिउँसो कुटी, कन्दरा र छाप्रा  हालेर बसेका अनेकन सन्यासीहरुलाई भेट्न गइन्थ्यो । जहाँ पनि चिलिम र चियाले स्वागत हुन्थ्यो, चिलिमले आफुलाई नै चिलिम पार्ने भएकाले चिया सेवन गर्दै उनीहरुको गफमा गफ्फीदै  दिन बितेको थाहा हुँदैनथ्यो ।

 केही  दिनपछि आइपुगे सन्यासी मित्र अवधेशानन्द । उनले यस वर्ष बद्रीनाथ नबस्ने बिचार बनाएका रहेछन् । जोशीमठबाट भविष्यबद्री जाने बटोमा बडगाउँ भन्ने स्थानको एउटा सानो आश्रममा बस्ने योजना रहेछ उनको । उनी कुटीमा भएको आफ्नो सामान लिन आएका थिए  । उनका अनुसार उनले रोजेको नयाँ स्थान बद्रीनाथभन्दा  अपेक्षाकृत कम चिसो थियो । उनले मलाई पनि त्यस आश्रममा गएर बस्ने निमन्त्रणा दिए, म विकल्पको खोजीमा थिए नै, उनको प्रस्ताव नमान्ने कुरै भएन । दोश्रो दिन बिहानै हामीले आफ्नो ब्याग बोकी बद्रीनाथबाट प्रस्थान गर्यौं । बडगाउँको बंगाली स्वामी गणेश भारतीको आश्रममा अवधेशानन्दका मित्र देवनारायण पहिलादेखि नै बसीरहेका थिए ।

 हामी दुबैले एक अर्कालाई नभेटे पनि एक अर्काका विषयमा परिचित थियौं । मध्यम शरीरको अग्लो, दाह्री- कपालले आधीभन्दा बढी अनुहार छोपिएको । प्रायः नबोल्ने, बोलेपछि अरु सबैको तर्क- कुतर्क समाप्त पारी दिने,  हुँदै  नभएको आफ्नो मतमा अडिग, बाहिरी व्यक्तित्वमा कुनै आकर्षण नभएका, गेरुवारंगको  लामो गाउनमाथि, गेरुवा रंगकै पातलो  सल, यस्तो  व्यक्तित्वविहीन  व्यक्तित्व थियो देवनारायणको । एउटै कोठा रोज्यौ हामी तीनै जनाले, लहरै भईंमा ओछ्यान  लाएर हामी तीनै जनाले बस्ने प्रबन्ध गर्यौ   ।

देवनारायण आफु बाहेक कुनै सिद्धान्त, मत विचारधारा वा उपदेशमा किन्चित पनि विश्वास गर्दैनथे । उनी भन्थे- पानीको फार्मूलाले मेरो तिर्खा  मेट्दैन, पानी  जे छ त्यो छ, चाहे हाइड्रोजन होस, अक्सिजन होस अथवा अन्य केही, मलाई त्योसंग के सरोकार ? तिर्खा लाग्दा म हाइड्रोजन अक्सिजन खोज्दै हिड्दिन, पानी खोज्छु । एवमरीतले मेरा लागि सत्य पनि शास्त्रवर्णित हुन्न, जबसम्म त्यो मेरो अनुभवको कसीमा खरो उतारिदैन  । म शास्त्रमात्र होइन समस्त  शास्ताहरुको  पनि बहिष्कार गर्छु ।

देवनारायण खानपानमा पनि उति नै सजग थिए । मैले केही लामा उपवास गरेको प्रसंग उनले सुनेका थिए। उनी  स्वयं पनि बेलामौकामा उपवास गरी राख्थे । बडगाउमा गाईको दुध प्रशस्तै उपलब्ध थियो, उनले दुधकल्प गर्ने प्रस्ताव राखे । अवधेशान्द र मैले सहर्ष  स्वीकार गर्यौ र शुरु भयो हाम्रो आफ्नो तबरको आफ्नै साधना ।

 एउटै कोठामा भएपनि बिहान १०–११ बजेसम्म हामी आपसमा बोल्दैन थियौं, दूध तताउने कामको जिम्मा अवेधशानन्दको थियो र भाडा माझ्ने मेरो र देव नारायणको  । दुग्धपान पछि हाम्रो चर्चा  परिचर्चा प्रारम्भ  हुन्थ्यो । म त्यसबेलासम्म ‘ओशो’ लाई पढ्ने गर्थे, देवनारायण भने ओशोका कटु आलोचक, घण्टौ हाम्रो वादविवाद हुन्थ्यो । ओशोको ‘पाथलेस पथ', 'डिजाएरलेस डिजाएर’ को मजाक उड़ाउदै  उनी भन्थे - होइन, यो मान्छेले मन नै बुझेको रहेनछ, 'डिजाएरलेस डिजाएर'  पनि त मन कै 'प्रोडक्ट'  हो ! यो त दुधरहित दुध खाने कुरा भयो ।

देवनारायणका भनाइमा उनको आफ्नो मौज र चिन्तन  हुन्थ्यो । ओशोका  ध्यान पद्धति, विपासना, 'ट्रांसडेंटल  मेडीटेसन'  जस्ता अनेको  विधिको उनी सविस्तार आलोचना गर्थे । बुद्ध त उनको नजरमा विक्षिप्त मानसिकताका व्यक्ति थिए । उनी भन्थे, ‘कि त बुद्धको उपलब्ध साहित्य उनले नलेखेर उनका अनुयायीहरुले लेखेर फ्याकेको हुनुपर्दछ, उनकै हो भने त श्रद्धा गर्न सकिन्न' । अब जसले आत्मालाई मान्दैन, त्यै अनेकौ पुनर्जन्मको कुरा गर्छ, जन्मियो को त ? बुद्ध दर्शनमा यति विरोधाभास छ कि एउटा सामान्य प्रतिभा भएको मानिसले पनि यसको वास्तविकता थाहा पाउनसक्छ । देउतालाई मान्दैन र स्वर्गमा गएर देउतालाई प्रवचन दिन्छ कस्तो बिडम्बना ?

देवनारायण उमेरमा म भन्दा दुई चार वर्ष कान्छा भए पनि उनीसँग अपार अध्ययन थियो र अध्ययन पनि म जस्तो एकांगी होइन, उनको अध्ययनको आयाम मीलौ फराकिलो थियो । उनीसँग अनेको अप्राप्य पुस्तकहरुको संग्रह थियो । वैदिक गणितमाथिको पुस्तक पुणेको पुस्तकालयबाट झिकाउन लाएका थिए उनले मलाई । पुस्तकालयबाट   फोटोकपी गराउन  पुस्तक बाहिर लैजान मैले ४ वटा  'कनेक्शन' प्रयोग गर्नुपरेको थियो ।  मैले पछी  देव नारायणलाइ सोधे, ‘तपाईलाई कसरी  थाहा भयो यो पुस्तक पुणेको यसै  पुस्तकालयमा छ ?’ उनले हाँस्दै भने ‘मित्र जहाँ चाह हुन्छ त्यहाँ राह हुन्छ ।'

एक दिनको  चर्चामा बुद्धको चार आर्य सत्यमाथि  देवनारायणले भने, 'जीवनमा दुख छ', 'दुखको कारण छ',' दुखबाट मुक्तिको उपाय छ' र 'दुखरहित अवस्था छ' ।  होइन, कोसँग बोल्दैछन बुद्ध ? जीवनमा  दुख छ भने कारण त त्यसमै निहित छ ! दोश्रो आर्य सत्य घण्टाको सत्य ? र उपाय पनि कही  सत्य हुन्छ ? क्षणभंगुरताको व्याख्या गर्नेले उपायलाई सत्य मान्छ , हरे विडम्वना ! ? देवनारायणसँग भारतमा भएका र रहेका प्रायः जसो सबै गुरुहरुको राम्रो अध्ययन थियो, रामकृष्ण परमहंस उनको नजरमा ‘भाव’ भन्दा माथि उठेका व्यक्ति थिएन, रामतीर्थ संकल्पभन्दा माथिको वास्तविकतामा पुग्नसकेका थिएनन् । विवेकानन्द एउटा मेघावी व्यक्ति मात्र थिए, साइबाबा मदारी र अन्य सबै  गुरु कुशल व्यवसायी ।

यसरी नै हाम्रो बडगाउँको बसाई चलीरहेको थियौ। रात्रि १–२ बजेसम्म हामी आफ्नै धुनमा तल्लीन हुन्थ्यौ, तर यो बसाइ लामो हुनसकेन । आश्रम धनी बंगाली बाबा गणेशजीलाई हाम्रो दिनचर्या योगीको नभएर भोगीको लाग्न थाल्यो । मुखले त उनले केही भनेनन् तर उनको व्यवहारमा आएको परिवर्तन  हामी तीनै जनाले महसूस गर्यौ । देव नारायण यस्तो मामलामा एकदम संवेदनशील । उनको भनाई थियो, गणेशजीको हामी प्रतिको भावमा नकारात्मकता आयो । यसले हाम्रो साधनामा हानि पुर्याउछ, हामीमा पनि नकारात्मकता वृद्धि गर्छ । अब हामीले यो स्थान छाड्नु पर्छ  नत्र स्वामीजीको हामी प्रतिको भावऊर्जाले हामीलाई सखाप बनाउँछ  । देवनारायणको धारणामा सहमत नहुने प्रश्न नै  थिएन, हामी सहमत भयौं र एक महिनाको बसाइ पछी हरिद्धार झर्यौ । हरिद्वारमा हामी तीनै जनालाई सँगै बस्ने उपयुक्त स्थान पाइएन । देवनारायणसँगको सानिध्यमा विराम लाग्यो ।  हरिद्धार आएको दुइ दिनमै  गर्मी खप्न नसकि म काठमाडौँ आए  ।

त्यसपछि देवनारायणसँग २००९  मा पाइलेट बाबा आश्रम हरिद्धारमा पुनः  भेट भयो । यसबिचमा एउटा रमाइलो घटना घट्यो । राम गिरी जुन एउटा अल्लारे  सन्यासी थियो, मेरो र अवधेशानन्दको संगतको असरले आफ्ना गुरुबाट मुक्त भयो । आफुले गर्ने अनेकौ अनुष्ठान, मूर्ति पूजा, जाप, महावतार  बाबादेखि लिएर योगानन्दसम्मका तस्बीरमा बालिने धूप, दीप  आदि उसले  तिरोहित गर्यौ  । राम गिरीले हामीसँग बस्ने इच्छा व्यक्त गर्यौ तर आफ्नै कुनै ठेगान नभएका हामी उसलाई  के नै मदद गर्न सक्थ्यो !  उसले हरिद्वार कै एउटा अर्को गुरुलाई  गुरु बनाएर बस्ने ठेगान  गर्‍यो । अर्को एकजना युवा सन्यासी देबर्षि पनि मेरो र देवनारायणको संगतले गुरु र सन्यासबाट मुक्त बने  । देवर्षि अहिले गुजरातको एउटा रेस्टुरेण्टमा काम गर्छन । संगीत , चित्रकलाका साथै उनले कुकिङ्गमा आफुलाइ दक्ष  बनाए  । भेट हुँदा पहिलेका देवर्षि र अहिलेका देवेश भन्छन भन्छन  ‘स्वामीजी तपाइ नभेट्टिनु भएको भए यो सब सम्भव थिएन, तिनै पाखण्डी गुरुलाई मान्दैमा जीवन खरानी हुन्थ्यो' ।

 देवनारायणसँगको यस भेटमा भने  मैले उनलाई साधना एवं तपको  अनुभवले झनै खारिएको पाए । २००७ को अप्रिलमा हामीले थालेको दुग्घकल्प तीन महिना गरेपछि उनले गहुँमात्र सेवन गर्न थाले । सय ग्राम जति गहुँको टुसा उमारेर उनी त्यै टुसा पलाएको गहुँ कहिल्यै चबाएर र कहिल्यै मिक्सीमा पिधेर झोल खान्थे । ६४ केजीको मानिस ४८ केजीमा झरीसकेका थिए । उनी शरीरबाट जति दुब्लो भएका थिए संकल्प र विचारमा उति नै पुष्ट । दुई महिना जति म पनि उनको गहुँ अभियानमा सम्मिलित भए  । पुणेका साथीहरु तीनवर्षे भारत बसाइ पछी स्वदेश फर्किदै थिए, उनीहरुसँग अन्तिम केही दिन बिताउन म देवनारायणको संगत छाडेर पुणे गए । र पछि देवनारायण पनि हरिद्वारमा बस्ने  ठाउ  नपाएर   ऋषिकेशको  एउटा योगा सेन्टरमा कोठा भाडामा लिइ बस्न गए ।

२०१० को हरिद्वार कुम्भमा फेरी देवनारायणसँग भेट हुने संयोग जुर्‍यो  । यस पटक भने म  भारतका अति चर्चित एवं विवादित गुरु चन्द्रा स्वामीको  कुम्भ क्याम्पमा बसेको थिए। देवनारायण ऋषिकेशमा नै बसीरहेका थिए, उनलाई कुम्भको घुइचो मनपर्दैन थियो । म उनलाई भेट्न ऋषिकेश गए र हरिद्वार आएर दुई चार दिन  कुम्भमा बस्ने आग्रह गरे । देवनारायण  कुम्भ क्याम्पमा आएर बस्नु भयो । जाडोमा शुरु भएको हरिद्वार कुम्भ अब गर्मीले आक्रान्त भइसकेको थियो ।

देवनारायण र म एक दिन केही किन्न बजार गएका थियौं, फर्किदा रात पर्न लागि सकेको थियो, हामी टेम्पोबाट फर्किदै थियौं गन्तव्य स्थल पुग्नुभन्दा केही  पहिला नै  मैले खल्तीबाट  पैसा झिके र त्यो पैसाबाट दस रुपैयाको नोट हातमा लिइ बाँकी पैसा पुनः खल्तीमा राखे । ओर्लेपछि ड्राइभरलाई त्यो दसको नोट दिइ हामी क्याम्पतिर हिड्यौ । बाटोमा देवनारायणले काँधमा धाप दिदै भने ‘बन साधु गए पर रहे बनियाँ ही' ।

प्रसंगविहीन  उनको यस कुराको मैले छेउ टुप्पो  केही पनि बुझ्न सकिन ।  सोधे ,   के प्रसंगमा तपाईले  यो कुरा भन्नु भयो।  मैले त केही बुझिन ।

 उनले हाँस्दै  भने - खल्तीबाट पैसा झिकेर जुन सबैभन्दा पुरानो फाट्न लागेको नोट थियो, तपाईँले त्यै नोट ड्राइभरलाई  दिनु भयो  । पुरानो फाटन लागेको नोट अरुलाई  दिएपछि  आफु  खतरामुक्त भइयो । आफुसँग त्यों नोट रही रहदा आफ्नो नोक्सान हुने खतरा विधमान रहन्थ्यो । अध्यारोको लाभ उठाई आफ्नो नोक्सान हुने सम्भावना  तपाईँले ड्राइभरको  थाप्लोमा बिसाई  दियौ । बनियाले यही त गर्छ, आफु कहिल्यै घाटामा जाँदैन, घाटा अरुलाई होस् आफ्नो भने सधैं फाइदा नै हुनुपर्छ । तपाईँ  अवचेतनमा अहिले पनि बनियाँ नै हौ, साधुको त भेष मात्रै हो ।

यो भन्दा ठूलो गाली अरु के हुन सक्थ्यो ? शायद अरु कुनै बेला भएको भए  वा अन्य कुनै व्यक्तिले भनेको भए म आफ्नो सम्मान रक्षार्थ अनेकौं तर्क दिन्थे होला। तर म त्यो बेला कुरुक्षेत्रको अर्जुन झै थिए र मेरा सामु थिए आधुनिक गीता प्रवक्ता ।

मैले भने ‘स्वामीजी तपाईँको यो अर्जुन अठारह अध्यायसम्म गीतालाई तन्काउदैन, सारा सम्मोह, सारा ज्ञान  नष्ट भयो । हे पार्थ ,हे वासुदेव ! बनिया मुक्त भयो ।'

'यार तपाईको यसै क्षमताले  मलाई कहिले काही ईर्ष्या लाग्छ । क्या सुन्दर, क्या सटीक, कति  गूढ़ ,मर्मस्पर्शी  अभिव्यांजनाले रंगाई दिनु भयो  यस सामान्य प्रसंग र परिहासलाई  । सामान्य परिहास र कटाक्षलाई  ज्ञान गंगोत्री कै माफिक ग्रहण गरी दिनु भयौ ' ।

देवनारायण मलाई किन मन पराउँथे मलाई आजसम्म ज्ञात भएन । दैनिक  जीवनमा मभित्र उनको संगत गर्ने कुनै गुण थिएनन्, अझै पनि छैनन । म  'चैन स्मोकर'  उनलाई चुरुटको धुवा २० फिटदेखि नै सहन नहुने, उनलाई प्याज लहसुन पनि गन्हाउने । म अराजक, उनी अत्यन्त अनुशासित, म चार्वाकगामी उनी कणाद ऋषि !  तर पनि अटूट मित्रता रह्यो हाम्रो ।

 अहिले पनि मलाई संगै आएर बस्ने निमन्त्रणा छ उनको, तर म आफ्नै स्वछन्दतामा बरालिएको छु । अहिले पनि उनी ऋषिकेशमै बस्छन् ।  सन  २०१५  मा उनीसँग ३ महिना बसेको थिए । उनले मेरा लागि गंगा किनारमा रहेको एउटा गेस्ट हाउसमा कोठा लिई दिएका थिए । उनी मेरा गुरु होइनन मित्र हुन ।   उनीसँग ज्ञान र साधनाको अतुलनीय  भणडार छ । पछिल्लो भेटमा  उनलाई एकजना पोर्चगीज़ युवती जेनी अफांसो भेट्न आएकी थिइन, उनको कोठा पनि म बसेकै गेस्ट हाउसमा थियो । देवनारायण गेस्ट हाउसभन्दा ३०० मीटर पर फ्लैटमा बस्थे ।  दिनको एक दुई घण्टा ( ती युवती आएपछि )  लागि  देवनारायण म बसेको कोठामा आउँथे । मेरो कोठा नै ती युवतीको साधना स्थल थियो । साधना शुरू गरेको १० दिन पछि  युवतीले मलाई एउटा कापी दिएर  पढ़न  भनिन् । उनले सृष्टि उत्पत्ति सम्बन्धी वैदिक धारणा लेखेकी थिइन । पढ्दा म हतप्रभ भए, त्यति सूक्ष्म प्रकारले लेखन मेरो लागि  पनि सम्भव थिएन ।

मैले सोधे, के तिमीले वेदको अध्ययन गरेकी छौ  ? यति विस्तारपूर्वक लेखनलाई  त वेदको गहिरो अध्ययन हुनुपर्छ ।

 उनले प्रत्युत्तरमा आफुले कुनै पनि वेद नपढ़ेको भनिन । मेरो आश्चर्य झनै बढ्यो ,सोधे त्यसो भए तिमीले यो सब कसरी लेख्यौ ?
उनको उत्तरले मलाई झनै अचम्मित बनायो ।

 उनले भनिन, हिजो राति  ध्यानमा बसेको बेला देवनारायणले मसँग लेखाउनु भयो ।

के हिजो राति देवनारायण तिम्रो  कोठामा आएका थिए ?

'नो', 'नो', उनले मेरो ध्यानमा आएर भनेको कुरा मैले ध्यान उपरान्त लेखेकी  हुँ । देवनारायणलाई  देखाउनुभन्दा पहिला तपाईलाई  देखाईकी हुँ, मैले ठीकसँग लेखन सके कि सकिन ?

पछि त यो ती महिलाको  दैनिकी नै बन्यो । ती महिलाले २ महीना ऋषिकेश बसुन्जेल फल र हरिया सागपातको जूस मात्रै खाइन।

देवनारायणका विषयमा  पढ़ेपछि तपाईँलाई  पनि उनीसँग भेट्ने कौतुहल भयो होला। तर ,देवनारायण व्यावसायिक गुरु होइनन ।

 उनी गुरुभन्दा बढी  मित्र हुन तर उनको मित्र लाभ पाउनु  भने अलिक कठिन छ । उनको मूड नभएसम्म उनलाई भेट्न पाईदैन । कुनै पनि हालतमा उनी बस्ने  फ्लैटमा प्रवेश गर्न पाईदैन । २०१७ मा उनको फ्लैटमा पस्ने हामी चारजना मात्रै थियो - म, अवधेशान्द  ,अम्बरीष  मिश्रा र देवेश । यसमा पनि अम्बरीष र देवेश देवनारायणले बोलाउँदा अथवा केही आवश्यक पर्दा फोनमा अनुमति लिएर मात्रै फ्लैटमा प्रवेश गर्थे।

यी दुबैजना देवनारायणप्रति गुरु भाव नै राख्थे  । आर्थिक लगायत विभिन्न कारणले मैले काठमाडाैँ फर्किनु पर्‍यो , अवधेशान्द सन्यासको यो नाम परित्याग गरेर  प्रेमजीत सिरोहीको नामले विचारक बन्नू भएको छ।  सम्पूर्ण समाधान नामक 'कन्सेप्ट'मा काम गरी राख्नु भएको छ।  अम्बरीष ओड़ीसामै रहेर प्रेमजीतसँग अभियानमा लागी राख्नु  भएको छ।  देवेश गुजरातमा छन।

देवनारायण बाहेक सबैसँग फोन अथवा विभिन्न  एप्लीकेसनमा कुराकानी हुन्छ। ऋषिकेशमै रहनु भएका  देवनारायणसँग काम नभइ 'हाइ हैल्लो' गर्ने अनुमति छैन। उहाँको सम्पर्क नम्बर मसँग छ।

२००७ देखि २०१७ सम्म पटक पटक उहाँसँग संगत भयो, सँगै बसियो।  प्रारम्भका ४-५ वर्ष खुबै वाद विवाद पनि गरियो।  तर पछिका वर्षमा वाद विवादको कुनै स्थान नै रहेन। वाद विवाद त के हामी बीच सम्बाद कै कुनै अर्थ रहेंन। वैदिक 'एस्ट्रोनॉमी' मा अहिले विभिन्न महानुभावका यूट्यूबमा भिडियो हेर्दा सम्झिन्छु खाश, यिनीहरुसँग देवनारायणको आधी पनि ज्ञान हुन्थ्यो।

देवनारायण व्यक्तिगत संवादमा विश्वास राख्छन, ग्रुपमा भेट्न  मन पराउँदैनन । उनको संगतमा बसेर साधना गर्नु सहज छैन ।  यसका लागि  भोजन छाड्नु पर्छ, विचार जलाउनु पर्छ, ज्ञानलाई अनुभवमा नल्याएसम्म  आफ्नो होइन अरुको ठान्नु पर्छ ।

 देवनारायणलाई   सम्झिदा, उनको सँगतलाई  सम्झिदा मन एउटा विचित्रको भावले आपूरित हुन्छ। एकपटक उनी  र म   भारतको एक जना 'पपुलर' गुरुको आश्रममा बसेका थियौं ।  ती  गुरुका थुप्रै विदेशी र स्वदेशी शिष्य आश्रममा आई  रहन्थे । एकपटक गुरु आश्रममा हुनु हुन्थ्यो।  गुरुको दर्शन गरे उपरान्त थुप्रै विदेशीहरु देवनारायणलाई  भेटेर अनेको प्रश्न र आफ्ना शंका सन्देह निवारण गर्थे ।  गुरुले थाहा पाउनु भयो।  भोलीपल्ट नै देवनारायणजी आश्रमबाट निष्काषित हुनु भयो।  थुप्रै विदेशी शिष्य पुराना गुरु  परित्याग गरी  देवनारायणको संगतमा गए। यस घटनाको सम्झना आउँदा अझै एक्लै हाँस्ने गर्छु।

विवेकहीन उलुकगामिनी नारीको चित्तमा सदमति विकसित भएर कथंकदाचित  यस दरिद्र माथि  उनले आफ्नो अनुकम्पाका दुई चार छींटा फ्यालीन भने म अविलम्ब ऋषिकेशको वरिपरि कतै   निर्जन स्थानमा बस्ने प्रबन्ध मिलाएर पुरानो टीमलाई एकजुट गर्ने थिए। जहाँ देवनारायण आध्यात्मिक प्रमुख हुने थिए।  प्रेमजीत सिरोही दर्शन प्रमुख,  अम्ब्रीश मिश्रा व्यवस्थापक, देवेश सिन्हा  किचेन तथा 'इभेन्ट म्यानेजर', प्रकाश योग 'इन्टरप्रेनर', सुस्मिता थापा 'पब्लिक रिलेसन' प्रमुख, सरोज शर्मा  'आईटी' विभाग प्रमुख , राम थपलिया 'कोर्डिनेटर' अन्य केही मित्रहरुलाई रूचि अनुसारको दायित्व हुनुका साथै म स्वयंलाई सरसफाई तथा मालीको दायित्व हुने थियो।