डा. कपिलदेव उपाध्याय : ठक्कर, हण्डर र मेहनतले मनोचिकित्साको क्षेत्रमा स्थापित नाम
आश्विन ९, २०७७

डा. कपिलदेव उपाध्याय नेपाली मनोचिकित्साको क्षेत्रमा स्थापित नाम हो । पाल्पाको खस्यौली थातथलो  भएका उहाँ पाल्पा, काठमाडौँ र इण्डियामा गरेको अध्ययन तथा विभिन्न देशमा भएका तालिम तथा लामो अनुभव पश्चात् देशमै एउटा सम्मानित व्यक्तित्वको रुपमा उभिन सफल हुनु भएको हो । 

आफ्ना कामका कारण चिनिने धेरै नाम देशमा भए पनि उहाँ आफ्नै एक किसिमको संस्कार, स्वभाव र समाजसेवाका कारण पनि अलग ढङ्गले चिनिनुहुन्छ । अध्यात्ममा गहिरो रुचि राख्ने उहाँ व्यक्तिगत आर्जन भन्दा पनि आफू जन्मेको माटो र समाजमा पनि केही योगदान गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । 

यस्तो मान्यताको विकास हुनुमा आमाबाट प्राप्त संस्कार अनि यसलाई जीवित र मलजल गर्न अध्यात्म तथा गुरुबाट प्राप्त ज्ञान नै आधार भएको उहाँको विश्वास छ । 

एउटा नाम स्थापित हुन अनि स्थापित नामलाई जोगाएर राख्न कति ठक्कर, हण्डर अनि मेहनत चाहिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो आलेख । 

जन्म, बाल्यकाल, शिक्षा

उहाँको जन्म पाल्पाको खस्यौलीमा भएको हो । बुटवलको खस्यौली भने निकै चर्चित छ । कतिपयलाई पाल्पामा पनि खस्यौली छ भन्दा अचम्म पनि लाग्न सक्छ । तर, वास्तविकताका अगाडि उदेक कति टिक्छ र !

पाल्पाको भैरवस्थान मन्दिरबाट करिब पन्ध्र बिस मिनेट अझ पश्चिम गएपछि पुगिन्छ उहाँको गाउँ । गाउँको नाउँ नै खस्यौली हो । 

उहाँको जन्म २००२ सालमा भएको हो । तर, नागरिकताले उहाँलाई दुई वर्ष तन्नेरी बनाएको छ । अर्थात् २००४ साल । त्यसबेला एसएलसी दिनलाई ठिक्क सोह्र वर्ष पुर्‍याउनु पर्ने कारणले स्कुलले त्यसो गरेको हो रे ! 

उहाँको बुबा सरकारी जागिरे । रुपन्देहीका एक जना ठुलो जमिनदारकहाँ पट्वारीको काम गर्नुहुन्थ्यो । उहाँको मुख्य काम भनेको जग्गाको मालपोत उठाएर माल अफिसमा बुझाउने हुन्थ्यो । 

आमा भने पहाडमा नै बस्नुहुन्थ्यो । बुबा चाहिँ कामको सिलसिलामा मदेसमा नै रहने गर्नुहुन्थ्यो । उहाँ पनि जाडोको समयमा रुपन्देहीको केरवानीमा बुबाकोमा जाने गर्नुहुन्थ्यो । 

उहाँ ब्राह्मण परिवारको । थर भने नेपाल । अहिले भने उपाध्याय लेख्नुहुन्छ । ब्राह्मणहरूले उपाध्याय, शर्मा पनि लेख्ने गर्छन् आफ्नो थर । यसलाई सामान्य नै मानिन्छ । 

उहाँका अनुसार आमाको कोखबाट नौ, दश सन्तानलाई जन्म दिए पनि जीवित भने उहाँ र बहिनी एक जना मात्रै हो । बहिनी उहाँभन्दा करिब छ, सात वर्ष कान्छी । उहाँ पछि पनि एक दुई भाइबहिनी बितेको समेत उहाँलाई सम्झना छ ।  

त्यस बेलामा उहाँको गाउँमा पढ्ने स्कुल रहेनछ । छ, सात वर्षसम्मको पढाई भनेको घरमै क, ख अर्थात् त्यस बेलाको ठूलोवर्णमाला मात्रै । 

आठ वर्षको उमेरमा उहाँको व्रतबन्ध भयो । व्रतबन्ध भएपछि एक वर्ष जति उहाँले दुर्गा कवच, चण्डी, रुद्री यजुर्वेद लगायत पढ्ने काम गर्नुभयो । 

नौ वर्षको उमेरमा उहाँको आमा अचानक बिरामी पर्नुभयो । ज्वरो आउने, खोकी लाग्ने हुन थाल्यो । तानसेन पाल्पाबाट वैद्यहरूलाई बोलाएर ल्याइयो । उनीहरूले आएर हेरे । दबाई पनि दिए । तर, निको भएँ । पन्ध्र, बिस दिनको बिरामी पछि झन् साह्रो हुँदै गयो आमालाई । 

एक दिन उहाँ र आमा बसिरहनु भएको थियो । बहिनी भने उतातिर सुतिरहनु भएको थियो । आमाले, बाबु म त अब बाँच्दिन होला । मर्ने भएँ । तिमीहरूले दुःख पाउने भयौ । तेरो बाले अर्को बिहे गरिहाल्नुहुन्छ । सौतेनी आमा आएपछि तिमीहरूले दुःख पाउँछौ भन्दै आमा रुनुभयो । आमा रोएपछि स्वाभाविक हो नौ वर्षको एउटा बालक रुनु । उहाँ पनि आमासँगै रुनुभयो । 

त्यस बेला आमा तपाईँलाई ठिक हुन्छ । मर्नुहुन्न । नरुनुस् भनेर पनि भन्न आएन उहाँलाई । बरु मनभित्र कता हो कता मैले जिन्दगीमा दुःख पाउँदिन भन्ने एउटा आवाज आयो । र, उहाँले आमालाई तपाईँ पिर नर्गनुस मैले जिन्दगीमा दुःख पाउँदिन भन्नुभयो । 

त्यसपछि आमाले उहाँलाई आशीर्वाद दिनुभयो । त्यसको केही दिनपछि आमाको देहान्त पनि भयो । त्यस बेला पाल्पाको रिडीमा रहेको कालीगण्डकीको किनारमा दाहसंस्कार गर्ने परम्परा थियो । रिडी झन्डै डेढ दुई घण्टा टाढा थियो खस्यौलीबाट । 

लासलाई चितामा राखेर अग्नि दिनु अगाडी मुखमा सुनको प्रतिमा राख्ने चलन थियो । व्रतबन्ध भएको छोराको नाताले यी सबै संस्कार उहाँले गर्नुभयो । 

यी सबै बताइरहँदा उहाँको आँखा रसाए । गला अवरुद्ध भयो । आवाज बन्द भए । एउटा शून्यता छायो । वातावरण मौन भयो । निःशब्द अनि निःशब्द । माहौल एकदमै भावनात्मक भयो । 

आफूलाई सम्हाल्दै उहाँ अगाडि बढ्दै भन्न थाल्नुभयो, ‘म अहिले ७५ वर्षको भएँ, तर त्यो चिजको ज्वाला चाहिँ अहिले पनि म भित्र छ ।’

मैले दुःख पाउँदिन भन्ने उहाँ भित्र रहिरह्यो । र, त्यो एकदमै बलवान विचारको रुपमा स्थापित पनि भयो । मैले दुख पाउनु हुँदैन र पाउँदै पाउँदिन भन्ने एउटा भाव उहाँको मनमा जब्बर भएर बसिरहो । 

उहाँ आमाको बरखीमै हुनुहुन्थ्यो । बिमारी पर्नुभयो । गाह्रो भयो भनेर छ महिनामा बरखी फुकाउनु पनि भो । छ महिनापछि बुबाले बिहे पनि गर्नुभयो । सौतेनी आमा पनि घरमा आउनु भो । यी सबै चिजले असर नगर्ने भन्ने त कुरै भएन । तर, अन्तिम अवस्थामा आमालाई दिएको वचन र आमाको आर्सीवाद भने उहाँको मनमा शिलालेख झैँ बस्यो । 

अब उहाँको पढाई शुरु भयो भैरव जनता विद्यालयमा । उहाँले कक्षा चारदेखि छसम्म पढ्नुभयो यस विद्यालयमा । उहाँले एकदमै राम्रोसँग आफ्नो अध्ययनलाई अघि बढाउनुभयो । उहाँ सबै कक्षामा प्रथम हुनुभयो त्यस बेला । 

सर्वोच्चका न्यायाधीश समेत हुनुभएका कृष्णजंग रायमाझी प्रधानाध्यापक हुनुहुन्थ्यो उक्त विद्यालयमा । उहाँले अङ्ग्रेजी, गणित, विज्ञान लगायतका विषय पढाउनुहुन्थ्यो । त्यो पनि उत्कृष्ट ढङ्गले । उहाँ आइएस्सी गरेर पढाउन आउनु भएको थियो त्यस बखत । 

बस्ने बेन्च, डेस्क थिएन त्यो बेला । घरबाट आफैँले लिएर गएको गुन्द्रीमा बस्नुपर्थ्यो । गुरुहरूले कालो पाटीमा सेतो चकले लेखेर पढाउनुहुन्थ्यो । 

स्कुलमा खेल्ने भनेको त्यसबेला कपर्दी यस्तै यस्तै हुन्थ्यो । गाउँघरमा भने उहाँ व्रतबन्ध हुनुअघिसम्म वनमा गएर काफल टिपेर खाने, फलफूल खाने गर्नुहुन्थ्यो । डण्डीबियो, खोपी, ढुङ्गाको ढ्याक भने त्यस बेलाको प्रमुख खेल थिए उहाँका । 

छ कक्षा भन्दा अघि उक्त विद्यालयमा पढाइ हुँदैनथ्यो । छ कक्षा सकाएर उहाँ मिनपचासको जाडोको बिदामा बुबासँग मधेस जानुभएको थियो । उहाँ केरवानीमा हुनुभएको बेला उहाँको मामा पर्ने ठुलीआमाको भाई पृथ्वीराज शर्माले उहाँलाई यो टुहुरो केटो छ, यसलाई म लिएर जान्छु भन्नुभयो । उहाँको घर थियो नवलपरासीमा । 

नवलपरासीमा रहेको एउटा राम्रो स्कुलमा उहाँलाई भर्ना गर्न भनेर लगियो । जाँच गर्नुपर्याे भनेर जाँच पनि लिइयो । उहाँसँग छ कक्षा पढेको प्रमाणपत्र पनि थियो । तर, जाँच लिइसकेपछि भने यो केटोलाई राम्रो आउँछ त्यस कारण यसलाई आठ कक्षामा भर्ना गर्दा हुन्छ भनेर उहाँलाई एक कक्षा फड्काएर आठ कक्षामा भर्ना गरियो । त्यस बेला पूर्व प्रहरी महानिरीक्षक ध्रुबबहादुर प्रधान पनि उहाँको दौँतरी हुनुहुन्थ्यो । उहाँ उक्त स्कुलमा आठ कक्षामा पनि प्रथम नै हुनुभयो । 

उहाँलाई अर्को दिक्क लाग्ने कुरो भनेको साइक्याट्रीमा कतिपय औषधि खाइरहनु पर्ने, निको नहुने दीर्घरोगहरु छन् । कुनै रोग एकपटक निको भएपछि फेरि फर्कन्छ । बिरामीले पूरै निको हुने औषधि दिनुस न भन्छन् । बिरामीलाई यस्तो लाग्छ कि डाक्टरले जानि जानि निको नहुने औषधि दिएर फेरी आइरहनु पर्ने बनाउँछन् । 

उक्त विद्यालयले माध्यमिक तहको पढाईकन लागि स्वीकृति नपाएकोले उहाँ अब थप पढ्नका लागि तानसेन बजारमा आउनुभयो । 

उहाँको बुबालाई केटोको पढाई एकदमै राम्रो छ त्यस कारण यसलाई पढाउनु पर्छ भनेर जमिन् दार लगायत बुबाको साथीहरूले पनि सुझाव दिएका थिए । 

तानसेनमा किस्मत बहादुर श्रेष्ठ ठुलो जमिन्दार हुनुहुन्थ्यो जहाँ उहाँको बुबा पट्वारीको काम गर्नुहुन्थ्यो । श्रेष्ठको ठुलो घर थियो तानसेन बजारमा । नौ कक्षा पढुन्जेल उहाँको घरमा निःशुल्क बस्ने खाने गर्नुभयो एक वर्ष । त्यसबेला स्कुलको फि थियो छ रुपैयाँ । 

त्यसपछि एक जना आमाले मेरो घरमा बस र केटाकेटीलाई पढाई देऊ भनेर नौ महिना जति ती आमाकोमा बस्नुभयो । त्यहाँ बुबाले अलि अलि चामल पनि पठाइदिनुहुन्थ्यो मधेसबाट । 

पछि दश कक्षा पढ्दा भने पढाईकन चाप अलि धेरै भएको हुनाले स्कुल नजिकै बस्नुपर्छ भनेर अर्को एक जना साथीसँग मिलेर डेरामा बस्नभयो तीन महिना । ती अर्का साथी भनेका हालका नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ हुन् । उहाँले पढेको र विद्यालय शिक्षा सम्पन्न गरेको भनेको पाल्पाको पद्मोदय पब्लिक मल्टिपर्पोज हाइस्कूल हो । 

गोरखापत्रको पहिलो पृष्ठ

उहाँले २०२० सालमा दिनुभएको हो एसएलसी । त्यसबेला उहाँको सम्झना रहेसम्म नेपालभरीमा ४ हजार २ सय परीक्षार्थी थिए होलान् । शायद, एकतीसजना प्रथम श्रेणीमा उतिर्ण भएका थिए क्यार । त्यसमध्ये एकजना उहाँ पनि हुनुहुन्थ्यो । 

त्यसबेला उहाँ अध्ययन गरेको तानसेनको स्कूलबाट तीनजना प्रथम श्रेणीमा उतिर्ण भएका थिए । त्यो बेला प्रथम श्रेणीमा उतिर्ण हुनेको नाम गोरखापत्रले प्रथम पृष्ठमा छाप्ने गथ्र्यो । त्यो नाम छापिने मध्ये एकजना भाग्यमानीमा उहाँ पनि हुनुहुन्थ्यो ।  

यसमा भाग्यको कुरा गर्दा कसैले असहमति जनाउन पनि सक्ला । तर, यसलाई मेहनत र भाग्यको संयोजन मान्नुहुन्छ उहाँ । 

प्लेन चढ्न खोज्दा

एसएलसी पछि उहाँ थप अध्ययनका लागि काठमाडौँ आउँदै हुनुहुन्थ्यो । काठमाडौं आउन यातायातको त्यति सहज सुविधा थिएन् । 

उहाँ प्लेनबाट आउन खोज्दै हुनुहुन्थ्यो । तर, संयोग वा के भनौं प्लेन कुरेर बस्दा बस्दा तीन दिन बित्यो । प्लेन उडेन् । गाडीमा कहाँबाट कहाँ कहाँ गर्दै आइपुग्नुभयो याद छैन । गाडीबाट फेरि प्लेन चढ्न भनेर अमलेखगंज पनि आइपुग्नु भो । तर, यसपटक पनि प्लेनको यात्राको अवसर मिलेन् । 

त्यसपछि कुनै उपाय नलागेपछि उहाँ ट्रकमा चढेर काठमाडौं आइपुग्नु भयो । पाल्पातिरका तीनजना साथी पनि थिए । 

काठमाडौं आइपुग्दा राति भयो । क्षेत्रपाटिको धौलागिरी होटलमा भयो बासचाँही । 

उच्च शिक्षा अध्ययन 

काठमाडौँ आइसकेपछि कलेज पढ्नका लागि उहाँले दुईठाउँमा फर्म भर्नुभयो । अमृत साइन्स कलेज र त्रिचन्द्र कलेज । उहाँको दुबै कलेजमा नाम निस्किएको थियो ।

तर, सँगैका साथीहरुको भने त्रिचन्द्रमा मात्र नाम निस्क्यो । साथीहरुले उहाँलाइ त्रिचन्द्रमा पढ्ने प्रस्ताव गरे । साथीभाई सबै सँगै पनि हुने । पढाइमा पनि सहयोगी हुने हिसाबले उहाँले साथीहरुको प्रस्ताव स्वीकार गर्नुभयो । 

त्यसबेला उहाँको कोठा क्षेत्रपाटीभन्दा अलिपरतिर धोबिचौरमा थियो । अरु दुईजना साथी थिए सँगै बस्ने । गोर्खाका भरत देवकोटा र तुलसी न्यौपाने । 

सबैमा काम बाँडफाँड गरिएको थियो । कसैले खाना बनाउँथ्यो । कसैले सफाइको काम भने कसैले रासन किन्ने काम । उहाँको भागमा रासनको जिम्मा परेको थियो । 

उहाँलाई बुबाले त्यसबेला खर्चका रुपमा महिनाको एकसय रुपैयाँ पठाउनुहुन्थ्यो । त्यो सय रुपैयाँले महिना भरिको खर्च धान्नु पथ्र्यो । कोठाभाडा शायद सात रुपैयाँ थियो होला उहाँ भन्नुहुन्छ । कलेजको फि भने दश रुपैयाँ थियो । 

उहाँ चारवर्षको उमेरमा बाबुआमासँग बद्री केदार जानुभएको थियो । पछि ठूलो भएर पनि गोरखपुर जानुभएको थियो । गाडी, बाटो, रेल, टेलिफोन आदिजस्ता कुरा त्यही बेला पनि देख्नुभएको थियो । तर, कार, ट्रक, जिप भने उहाँको मस्तिष्कले छुट्टयाउन सक्दैन थियो । 

त्यसबेला काठमाडौँमा टेलिफोन थियो, त्यो देख्दा उहाँलाई छक्क लाग्थ्यो । बत्ति थियो । बत्ति त तानसेनमा पनि थियो जस्तो लाग्छ उहाँलाई । 

हुनत् उहाँ अध्ययनका लागि पहिलो पटक काठमाडौँ आउनु भएको हो । तर, काठमाडौं कस्तो लाग्यो भन्ने कुराको ठोस जवाफ भने उहाँसँग छैन । कारणमा बताउनुहुन्छ, मलाई पढ्नुपर्छ भन्ने बाहेक अरु कुनै धुन थिएन् । मान्छे हिंडेको डुलेको देखिन्थ्यो । त्यति हो । तर, कुनै कुराको पनि खासै हेक्का भने रहँदैन थियो । 

त्रिचन्द्र कलेजमा आइएस्सी पढ्दै गर्दा बिएस्सी एग्रिकल्चरको लागि छात्रवृत्ति खुलेको थियो । त्यसका लागि एसएलसी पास भए पुग्थ्यो । उहाँले फर्म पनि भर्नुभयो । नाम पनि निस्कियो । तर, खै किन हो उहाँलाई त्यत्तिकै जान मन लागेन् । अरु कतिपय साथीहरु गएपनि । 

पछि उहाँका साथीहरुले आइएस्सी गाह्रो लाग्यो भनेर छोडे । त्यसपछि उहाँ एक्लै पर्नुभयो कोठामा । अनि उहाँले पनि कोठा छोडेर हालको अस्कल तथा त्यसबेलाको पब्लिक साइन्स क्याम्पसको होस्टलमा बस्न थाल्नुभयो । 

अमृत प्रसाद प्रधान त्यसबेला प्रिन्सिपल तथा होस्टेल वार्डन समेत हुनुहुन्थ्यो । आफूले खाएको भाँडा आफैं माझ्नेदेखि होस्टल सरसफाई गर्नेसम्म प्रधान सरका आफ्नै नियमहरु थिए । ती सबै नियम पालन गर्नुपर्थ्याे । यसले अनुशासनमा रहन सिकायो उहाँ भन्नुहुन्छ । 

अमृत सरले त्यसबेला नजानेको कुरा सोध्यो भने सिकाउनु पनि हुन्थ्यो । अनि कक्षामा गएर बस्न पनि भन्नुहुन्थ्यो । कुन सरले राम्रो पढाउनुहुन्छ त्यो मूल्यांकन गर्न पनि भन्नुहुन्थ्यो । 

त्यसबेला फिजिक्स पढाउने सरमा भर्खरको र पिएचडी गरेको ध्रुबमान अमात्य र उहाँको भाई हुनुहुन्थ्यो, प्रसन्न मान सिंह प्रधान हो क्यार केमेस्ट्री पढाउने, अर्को धौभडेल सरले पनि केमेस्ट्री पढाउनुहुन्थ्यो । डा.सुरेसराज शर्माले पनि पढाउनुहुन्थ्यो । बोटनी र जुलोजी पढाउने दुईजना म्याडम हुनुहुन्थ्यो । 

उहाँले डेढ वर्षमा आइएस्सी सकाउनु भयो । प्रथम श्रेणी आएन् । तर, राम्रो द्वितिय श्रेणी भने आयो । 

डाक्टरी पढाईको मेसो 

शायद, जिन्दगिमा मैले दुःख पाउन्न भन्ने बलवान विचारले यहाँ पनि पच्छ्याइरहेझैं लाग्थ्यो उहाँलाई । 

आइएस्सी पछि उहाँले छात्रवृतिका लागि निवेदन दिनुभयो । त्यसबेला सिंहदरबारमा शाखा अधिकृत हुनुहुन्थ्यो कृष्ण बहादुर मानन्धर । उहाँकोमा गएर प्रमाणपत्र बुझाएर पढ्न जानु भयो । कसैलाइ भनसुन गर्नु परेन् । 

उहाँ २०२३ सालमा इण्डिया पढ्न जानुभयो । उहाँसँगै हुनुहुन्थ्यो जगदिशलाल वैद्य । काठमाण्डौबाट पट्ना अनि पट्नाबाट वैद्य अमृतसर र उहाँ भने पटियाला मेडिकल कलेजमा हवाइ उडानबाट पुग्नु भयो । 

कागजपत्र तयार थियो । अब पढाई शुरु भयो । कलेजले महिनाको दुईसय आइसी पनि दिन्थ्यो । यहाँ महिनाको सयमा बल्ल गुजारा चलाइरहेको मान्छेलाई सबै सुविधा सहित त्यो दुईसय छेलोखेलो भैगो । 

उब्रेको पैसाले उहाँले आफ्ना शोख पूरा गर्न थाल्नुभयो । राम्रा कपडा हाल्ने, घुम्ने, अनि सिनेमा हेर्न जाने जस्ता यहाँ पूरा गर्न नपाएका शोखहरु उहाँले त्यहाँ पूरा गर्नुभयो । 

डाक्टरी सकेर फर्कँदा 

पटियालाबाट दिल्ली अनि दिल्लीबाट नेपाल हुँदै उहाँ साँढे चार वर्षको डाक्टरी अनि एकवर्ष इन्टर्नसीप गरी साँढे पाँच वर्षमा स्वदेश फर्कनुभयो । २०२८ सालमा । डा.कपिल बनेर । 

डाक्टर बनेर फर्केपछि स्वास्थ्य मन्त्रालय गएर जागिरको कुरा गर्दा अहिले कहाँ जागिर पाइन्छ भन्ने जवाफ आयो । कर्मचारीले केही घुमाए । 

पछि वीर अस्पताल जाँदा अहिले पद त छैन तर केही समय अनररी गर पछि राखौला भने । चार महिना उहाँले सर्जरीमा अनररी गर्नुभयो । 

उहाँले वीर अस्पतालमा अनररी गर्दैगर्दा २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहण भएपछि धेरैजना मान्छे छाती दुख्यो भनेर अस्पतालमा देखाउन आएको उहाँ सम्झनुहुन्छ । त्यसबेला सबैलाई कपाल खौरन पनि लगाइएको थियो । 

त्यसबेला उहाँले अनररी गर्दै गरेको सर्जरी टिममा डा. अञ्जनी कुमार शर्मा, डा. दिनेशनाथ गंगोल, डा. भट्टाचार्य अनि डा. विश्वराज दली हुनुहुन्थ्यो । 

उहाँले डा. दलीसँग काम गर्नुभयो । डा.अञ्जनी कुमारको बागबजारमा रहेको अन्नपूर्ण क्लिनिकमा कहिले काँही सहयोग गर्न पनि जानुहुन्थ्यो । गएको पैसा पनि केही प्राप्त हुन्थ्यो । 

त्यसपछि उहाँलाई सरकारले अस्थायी नियुक्ति दियो । बस्नलाई क्वार्टर पनि थियो । त्यसबेला उहाँको तलब थियो चारसय पचहत्तर । यो उहाँको पहिलो तलब थियो जागिरेका रुपमा । पहिलो तलबले न्युरोड गएर नेशनल पानासोनिक रेडियो किन्नुभयो । त्यसबेला नेशनल पानासोनिकको अर्कै शान थियो । 

तीन महिना पछि उहाँको पोष्टिंग लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भयो । पद भने मेडिकल अफिसर । 

बुटवलका केही स्मृतिहरु छन् उहाँको । गर्मी तथा वर्षाको समयमा त्यो बेला सर्पले टोकेका धेरै केसहरु आउँथे ।  बजारमा एन्टी स्नेक भेनम त्यति किन्न पाइँदैन थियो । र, उहाँहरुले त्यसको उपचार गर्न पनि जान्नुभएको थिएन् । त्यस सम्बन्धी पढाई नेपालमा पनि भएन र इण्डियामा पनि । 

अस्पतालमा दुई तीन वटा एन्टी स्नेक भेनम हुन्थ्यो । तर, विषालु सर्पले टोकेको केसमा एउटै व्यक्तिलाई धेरै भाइल चाहिन्थ्यो । कोही बाटोमा ल्याउँदा ल्याउँथे मर्थे । यस्तो देख्दा भने विरक्त लागेर आउँथ्यो । र, अस्पतालबाट क्वार्टरमा जाँदा पनि उहाँ सर्पको डरले बुट लगाएर टर्च र लट्ठी लिएरै हिंड्ने गर्नुहुन्थ्यो । 

अर्को भनेको इण्डियाबाट डकैतीका लागि डाँकाहरु आउँथे । तिनीहरुको प्रतिवाद गर्दा मान्छेलाई छातीमा गोली ठोकेर मार्थे । अनि ती मानिसको पोष्टमार्टम गनुपर्थ्याे ।त्यसले पनि उहाँलाई धेरै नै दुःखी बनाउँथ्यो । 

सामान्यतः मृत्युको घटनाले सबैलाई दुःखी बनाउँछ नै । तर, उहाँलाई भने मृत्युको घटनाले अलि बढी नै पिरोल्थ्यो । शायद, सानोमा आफ्नो आँखा अगाडी नै आमाको मृत्यु देखेका कारण त्यसो भएको हुनुपर्छ, उहाँ भन्नुहुन्छ ।

बुटवलमा त्यो बेलामा ओपिडीको टिकट निःशुल्क थियो । सामान्य औषधि पनि निःशुल्क नै दिइन्थ्यो । भर्ना गरेको बिरामीलाई खाना तथा औषधि पनि निःशुल्क नै थियो । 
डाक्टरहरु पनि बिहान आठ बजेदेखि एक बजेसम्म अस्पतालमा ड्युटी गरेर बस्थे । बाहिर कसैको पनि क्लिनिक थिएन् । 

एक बजे ड्युटी सकेपछि क्वाटरमा खाना खाने तथा दुई तीन बजे भने कोही प्राइभेट प्राक्टिसमा र कोही बिरामी आयो भने क्वाटरमा आउँथे र तिनीहरुलाई हेर्ने काम हुन्थ्यो । त्यो बेलको सम्पूर्ण वातावरण नै बिरामीलाई कसरी सेवा दिने भन्ने मात्रै थियो । 

मेडिकल कलेजमा त्यो बेला सिकाइएको नै बिरामीको सेवा नै मूख्य हो । र, आफूकहाँ आएको बिरामीलाई म ठीक हुन्छु, मेरो रोग ठूलो होइन भनेर खुशी भएर जानुपर्छ  भन्ने नै थियो । 

आएको बिरामी हाँसेर, खुशी भएर पिडीत नभैकन जाओस भन्ने नै मेडिकल कलेजमा त्यसबेला सिकाइन्थ्यो । त्यसबेला पढाउने तरिका नै त्यस्तो थियो । त्यो बेला यदि त्यसो गरिएन भने आत्मग्लानीको भाव हुन्थ्यो । पढाई नै त्यस्तो थियो । 

कहिलेकाँही त बिरामी यस्तो आउँथे कि लुगा पनि च्यातिएको हुन्थ्यो । पैसा हुँदैनथ्यो । अनि क्वाटरमा आएका ती बिरामीलाई इमर्जेन्सीमा लगेर उपचार गरेर पठाइन्थ्यो, उहाँ सम्झनुहुन्छ ।

आफूभन्दा कमजोर र न्यून आर्थिक स्थिति भएको मान्छेसँग पैसा लिनुहुन्न भन्ने उहाँको पहिले देखिको मान्यता पनि थियो । सक्ने मान्छेसँग मात्रै फि लिने भन्ने थियो । 

उहाँको आमा पनि एकदम धार्मिक प्रवृतिको हुनुहुन्थ्यो । त्यसबेला पहाडमा बाहुन खुवाउने भन्ने परम्परा थियो । शायद, उहाँको ब्रतबन्ध भन्दा अघि एकसय आठ जना बाहुन बोलाएर खुवाएर दक्षिणा दिएको जस्तो लाग्छ उहाँलाई । 

उहाँको काम भने बाहुनको खुट्टामा घ्यू दल्ने अनि उहाँहरुबाट आर्शिवाद लिने थियो । शायद यी सबै परम्पराले गर्दा पनि आफूभन्दा कमजोर मानिसलाई आफूले सकेको मद्दत गर्नुपर्छ भन्ने एकप्रकारको भाव उहाँको मनमा थियो । 

बुटवलमा डेढ वर्ष बसिसकेपछि उहाँको सरुवा धादिङको सुकौरा बजारमा भयो । सुकौरा बजार हो खासमा तर, सुनौला बजार भनिन्थ्यो । धादिङमा त्यसबेला अस्पताल नै थिएन । हेल्थ सेन्टर मात्र थियो । 

तुइनबाट खोला तरेर जानुपर्थ्याे हेल्थ सेन्टरमा पनि । धादिङमा हुँदा उहाँ बिरामी पनि हुनुभयो । टाइफाइड भयो उहाँलाई । अनि वीर अस्पतालमा आएर उपचार गरेर फर्कनुभएको हो उहाँ । 

उहाँ दुई वर्ष बस्नुभयो धादिङमा । त्यही बेला सदरमुकाम पनि सुकौराबजारबाट धादिङ बेसीमा सरेको हो । उहाँहरुले हेल्थ सेन्टरलाई पनि धादिङ बेसीमा सार्नुभयो । 

त्यसबेला सिडिओ हुनुहुन्थ्यो बाबुराम पौडेल । अनि त्यो बेला धादिङ बेसीबाट मलेखुसम्म बाटो खन्ने एउटा योजना थियो । योजना अनुसार बाटो पनि खनियो । खन्ने क्रममा घाइते भएकाको उपचार भने उहाँको जिम्मामा थियो । 

उहाँलाई एउटा घोडा पनि दिइएको थियो त्यो बेला । बाटो खन्दै गरेका बेला तुरुन्त उपचार आवश्यक पर्याे भने उहाँ घोडा लिएर जाने गर्नुहुन्थ्यो । 

उहाँ त्यहाँ भएका बेला ‘इन्टिग्रेटेड हेल्थ सर्भिस’ भनेर १४ वटा हेल्थपोष्टहरु खुुले । त्यसबेला टिचिङ हस्पिटलबाट हेल्थ असिस्टेण्ट पास गरेकाहरु गएर हेल्थपोष्टमा सेवा प्रारम्भ गरेका थिए । 

अनि उहाँहरुले त्यसबेला ४८ जना ‘भिलेज हेल्थ वर्कर’ भनेर त्यहीँका स्थानीयहरुलाई भर्ना पनि गर्नुभएको थियो ।

तर, आठ कक्षा पास गरेका पनि नपाएर स्कूलबाट सर्टिफिकेट ल्याएको स्वास्थ्य राम्रो, इमान्दार र यसो हेर्दा यसले काम गर्छ भन्ने लागेको तर, गरिब साथै एकदमै न्यून आए भएको मान्छेलाई सिडिओ, उहाँ र अन्य सम्बन्धित मान्छे बसेर नियुक्त गर्नुभएको थियो । 

अहिले पछि यसो धादिङ जाँदा उनीहरुसँग भेट हुन्छ । अहिले उनीहरुको जीवनको कायापलट नै भएको छ । त्यो देख्दा साह्रै खुशी लाग्छ, उहाँ विगत तिर फर्कनुहुन्छ ।  

धादिङमा दुई वर्ष बसिसकेपछि फेरि उहाँको सरुवा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा नै भयो । बुटबलमा पाँच वर्ष काम गरिसकेपछि उहाँको सरुवा वीर अस्पतालमा भयो ।

वीर अस्पतालको इमर्जेन्सी वार्डमा उहाँले एकवर्ष काम गर्नुभयो । त्यसपछि वीरकै मेडिकल वार्डमा चारवर्ष लगातार काम गर्नुभयो । रजिष्ट्रारका रुपमा । 

त्यसबेला नेपालका नाम कहलिएका डा.मृगेन्द्रराज पाण्डे, डा.सच्चे कुमार पहाडी,डा.पुष्करराज सत्याल, डा.सुन्दरमणि दिक्षित, डा.गोपाल आचार्य सबैसँग पालैपालो काम गर्नुपर्थ्याे । त्यो चार वर्ष काम गर्दा उहाँलाई औषधि तथा मेडिकलका बारेमा धेरै नै ज्ञान भयो । त्यसले जग मजबुत बनाउने काम गर्याे । 

यसले सर्जरी र मेडिकल दुबैमा अनुभव भयो उहाँलाई । नेपालमा त्यो बेलामा एमडीको पढाई हुँदैनथ्यो । नत्र तीन वर्षमा एमडी यहीं सकिन्थ्यो । 
उहाँ वास्तवमा पढ्न जानका लागि भनेर काठमाडौँ आउनु भएको थियो । 

विवाह 

उहाँको विवाह बुटबलमा नै भएको हो । २०३१ सालको जेठ १४ गते । मागी विवाह नै थियो त्यो ।

उहाँको दुई छोरी र एक छोरा हुनुहुन्छ । जेठी छोरी नर्वेमा हुनुहुन्छ भने अर्की छोरी अमेरिकाको मिचिगन युनिभर्सिटीमा डाक्टर हुनुहुन्छ । छोरा पनि डाक्टर हुनुहुन्छ । फिजिसियन । बुहारी भने रेडियोलजिस्ट । छोरा बुहारी भने यहीं नेपालमा आफूसँगै हुनुहुन्छ ।

एमडीको बाटो 

उहाँले एमबिबिएस गरेर काम गर्न थालेको झण्डै दश वर्ष भैसकेको थियो । २०३६,०३७ सालको कुरा हो । त्यसबेलासम्म उहाँको बिहे भैसकेको थियो । बच्चा पनि जन्मिसकेका थिए । एउटा छोरा दुईवटा छोरी । 

आफ्नो बस्ने स्थायी बासको व्यवस्था भैसकेको थिएन् । देशमा राजनीतिक आन्दोलन चलिरहेको थियो । माहौल ठिक थिएन् । उहाँले पढ्न त फिजिसियन नै खोजेको हो । तर, त्यसको सम्भावना विविध कारणले धेरै टाढा देखेपछि अरु विषय भएपनि पढ्न जानुपर्छ भन्ने सोच बनाउनु भएको हो उहाँले । 

एनेस्थेसिया, एमडीजीपी पढ्न जाने अवसर पनि थियो उहाँलाई तर मन लागेन, उहाँ भन्नुहुन्छ । सिंगापुरमा छाती सम्बन्धी पढ्ने अवसर पनि थियो । तर, खोई यी कुनै विषयले पनि उहाँलाई आकर्षित गर्न सकेन् । 

अनि विश्व स्वास्थ्य संगठनले इण्डियाको बैंगलोरमा दुई वर्षे साइक्याट्रीको ‘पोष्ट ग्रयाजुएट डिप्लोमा’मा पढ्न दिएको अवसर भने उहाँले सदुपयोग गर्नुभयो । 

पढ्न जानु अगाडी साइक्याट्री के पढ्नु भन्ने नआएको त होइन । तर, उहाँले अध्ययन गरेको नेशनल इन्सटिट्युट अफ मेन्टल हेल्थ एण्ड न्यूरो साइन्सेज इण्डियाको उत्कृष्ट कलेजहरु मध्येको एक भएको हुनाले पनि ठीकै छ भन्ने लाग्यो उहाँलाइ । 

तर, जति पढ्दै गयो रमाइलो लाग्दै गयो । र, सबै कुरा मन हो भन्ने पनि लाग्दै गयो । पढ्दै गएपछि अरु जति पनि विषय छन् ती सबैसँग जोडिने वा सम्बन्ध भएको भनेको त साइक्याट्री नै रहेछ भन्ने लाग्यो उहाँलाई । 

त्यहाँ एकदमै कडा मानसिक असन्तुलन भएका मान्छेलाई देख्दा भने के पढ्न आइएछ भन्ने पनि लाग्थ्यो । तर, त्यो बाहेका साइक्लोजीको समस्या भएर जचाउँन आएका बिरामी देख्दा भने ठीक विषय पढ्न आएको रहेछु भन्ने पनि लाग्थ्यो उहाँलाई । 

मेडिसिनको ब्याकग्राउण्ड त उहाँको छँदै थियो । अब यो भने नयाँ विषय भयो उहाँको लागि । र, कलेजमा कुनै शारीरिक समस्या भएको बिरामी आए भने त्यो हेर्ने जिम्मा उहाँलाई दिन्थे । त्यस्तो केस हेर्नेमा उहाँलाई विशेषज्ञ नै मान्थे साथीहरुले । 

त्यो मेडिसिनको ब्याकग्राउण्डले पढ्न, सिक्न र जान्नलाई धेरै नै मद्दत गर्याे उहाँलाई । शारीरिक रोगसँग सम्बन्धित साइक्याट्रीक समस्या पहिचान गर्न पनि त्यसले निकै सजिलो भयो । साथै असम्बन्धित अर्को विषय पनि उहाँले पढ्नु भयो । 

बैंगलोरबाट पढाई सकाएर फर्केर आउँदा एउटा यस्तो घट्ना घट्यो जसले आज पनि उहाँको मन ढक्क भएर फुल्छ । 

बैंगलोर कलकत्ता अनि कलकत्ता काठमाडौं दुई घण्टे हवाई दूरी हो । उहाँ यात्रारत हवाई उडानमा समस्या देखियो । धावनमार्गमा बस्ने कोशिश गर्दा हवाईजहाजको चक्का नै झरेन् । जहाज आकाशमा उडाको उडाई छ । के भयो भनेर सबै आत्तिन थालिसके । यात्रुहरु रुन, कराउन थाले । पछि चक्का झरेन भन्ने थाहा भयो । कोशिश गर्दैछन् भन्ने पनि थाहा भयो । 

उहाँलाई पनि यत्रो दुःख गरेर पढियो तर, अब फल खाने बेलामा मरिने भैयो भन्ने लाग्यो । बच्चाबच्ची, श्रीमतीले थाहा पनि नपाउने भए भन्ने लाग्यो । मरिहालें भने पनि कसरी थाहा पाउलान भन्ने भयो ।

सञ्चारको खासै विकास भएको समय पनि होइन त्यो । अखबारमा निस्केर थाहा पाए भने हो भन्ने लाग्न थाल्यो । 

इन्जिनियरहरुले काम गर्दै थिए । चक्का झरेछ दुईघण्टा पछि । कलकत्ता एअरपोर्टमा उत्रिँदा भने एअरपोर्टभरि बेली ल्याण्डिंग गर्ने भनेर फोम विच्छ्याएको देखियो । सारा एअरपोर्टभरि एम्बुलेन्स नै एम्बुलेन्स थिए । अब कति मान्छे घाइते हुने हुन तिनलाई अस्पताल लैजानुपर्छ भनेर राखिएको रहेछ । 

अघि लागेको डर भन्दा कता कता धेरै डर एअरपोर्टको उक्त दुष्य देखेपछि लाग्यो । ओहो धन्न बाँचिएछ भन्ने लाग्यो, उहाँ भन्नुहुन्छ । उक्त घटनापछि भने उहाँलाई हवाई दुर्घटनामा अब कहिले पनि मरिन्न भन्ने लाग्छ ।

त्यो दिन उतै बास भयो। अर्को दिनमात्र उहाँ स्वदेश आइपुग्नुभो । 

पोखराबाट अभियानको शुरुवात 

बैंगलोरबाट पढेर फर्किएपछि उहाँले त्रिशुलीको अस्पतालमा चार महिना काम गर्नुभयो । उहाँले नुवाकोटमा केही साइक्याट्रीक र केही छारेरोगका बिरामी हेर्नुभयो । त्यसपछि उहाँ आफैंले म काठमाडौं बाहिर काम गर्न जान्छु भनेर अनुरोध गर्नुभयो ।

त्यसबेला रामरतन उपाध्याय हुनुहुन्थ्यो पोखरा अस्पतालको सुपरिटेण्डेण्ट । उहाँले पोखरा आउन आग्रह गरेपछि उहाँ पोखरा क्षेत्रिय अस्पतालमा जानुभयो काम गर्न । यहींबाट प्रारम्भ भएको हो उहाँको साइक्याट्रीको अभियान । 

पोखरामा त्यसबेला इन्टरनेशनल नेपाल फेलोशिपका तीन चार जना राम्रा डाक्टरहरु थिए । इंग्ल्याण्ड, न्युजिल्याण्ड लगायतका देशका । अनि नेपाली डाक्टरहरु पनि थिए । पोखरामा साइक्याट्री केसहरु नै छैन तिमी किन आएको भनेर त्यसबेला नेपाली डाक्टरले भनेको सम्झनुहुन्छ उहाँ । 

यहाँ साइक्याट्रीस्ट थिएन अब तिमी आयौ हामीलाई धेरै सजिलो हुन्छ भनेर विदेशी डाक्टरहरु भने धेरै खुशी भए । र, सबैभन्दा पहिले उहाँलाई रेफर गर्ने पनि विदेशी डाक्टर नै थिए । 

यो विषयमा विश्वास नहुने र एक्सपोजर नहुनेले यसलाई बुझ्दैन । साइक्याट्री भन्ने बित्तिकै दिमाग बिग्रेको पागल भनेर भन्ठान्छन् यहाँ । त्यो बाहेक साइक्याट्रीक समस्या त धेरै थरिका हुन्छन्, उहाँ भन्नुुहुन्छ । पछि नेपाली डाक्टरहरुले पनि केस रेफर गर्न थाले । दिनको एकदुई जना गरेर बिरामीको चाप बढ्न थाल्यो । 

समुदायमा गएर कसरी मानसिक समस्या भएका बिरामी चिन्ने र कसरी उपचार गर्ने भन्ने कार्यक्रमलाई सामुदायिक मानसिक स्वास्थ्य सेवा ‘कम्युनिटी मेन्टल हेल्थ’ भनिन्छ । गाउँमा गएर मानिसलाई हेरेर चिनेर मानसिक रोगको उपचार गर्ने ।

यसका लागि त समुदायका मानिस तथा अस्पतालमा काम गर्ने मानिसलाई पनि मानसिक रोगका बारेमा थाहा हुनुपर्याे  । यस अन्तर्गत समुदाय अनि गाउँ गाउँमा गएर बिरामी हेर्न थाल्नुभयो उहाँले । 

उहाँ पोखरा जाँदा युनाइटेड मिशन टु नेपाल अन्तर्गत डा.क्रिस राइट भन्ने बेलायतका र डा.सारा अब्लाइम भन्ने दुईजना डाक्टरहरु हुनुहुन्थ्यो । उहाँहरुले यदि तिमी काठमाण्डौ बाहिर गएर काम गर्ने हो भने समुदायमा कसरी काम गर्ने भन्ने बारेमा हामी सहयोग गर्छौं भन्नुभयो । 

त्यसबेला टिचिङ अस्पतालमा मेन्टल हेल्थ प्रोजेक्ट भन्ने एउटा कार्यक्रम थियो । डा.महेन्द्र नेपाल र डा.विद्यादेब शर्मा हुनुहुन्थ्यो त्यहाँ । उहाँहरुले यहाँबाट सहयोग गर्ने र डा.क्रिस, डा.सारा तथा उहाँले समुदायमा गएर मानसिक रोगका बारेमा जनचेतना फैलाउने तथा बिरामी चिनेर उपचार गर्ने कार्यक्रम उहाँहरुले शुरु गर्नुभयो । 

पहिले कास्की त्यसपछि स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, नवलपरासी र कपिलबस्तुसम्म सामुदायिक मानसिक स्वास्थ्य सेवाको कार्यक्रम शुरु भयो । यसरी सामुदायिक मानसिक स्वास्थ्य सेवाको कार्यक्रम शुरु भएपछि उपचार गराउन आउनेको संख्यामा वृद्धि भयो । 

छारेरोगमा विशेषज्ञता 

छारेरोग उहाँको रुचिको विषय पनि र कलेजमा पढ्दा पनि त्यसलाई राम्ररी नै पढाइन्थ्यो । सन् १९९४ मा नेपाल मेडिकल एशोसियसनलाई इजरायलले छारेरोग सम्बन्धी एउटा तीन महिने छात्रवृत्ति प्रदान गर्याे । उहाँको रुचिको विषय भएको हुनाले उहाँले आवेदन दिनुभयो । 

यसका लागि आउने जाने टिकटको खर्च भने आफैंले व्यहोनु पर्छ भनिएको थियो । तर, पछि इजरायल सरकारले टिकट लगायत बस्ने, खाने तथा थोरै पकेट खर्च पनि दियो । 

त्यो तीन महिना पढाई पनि राम्रो भयो । इजरायल पनि पूरै घुम्नुभयो उहाँ । र, छारेरोग सम्बन्धी एकदमै राम्रो तालिम भयो त्यो । रुचिको विषय र तालिम पनि भएपछि त्यो धेरै फलदायी भयो । 

छारेरोग सम्बन्धी एउटा पुस्तक पनि लेख्नुभएको छ उहाँले । उहाँले जति मानसिक रोगीको उपचार गर्नुभयो त्यत्तिकै छारेरोगीको पनि समुदायमा गएर उपचार गर्नुभयो । अहिले पनि छारेरोगका बिरामीहरु उहाँको सेवा लिनका लागि आउने गरेको बताउनु भयो उहाँले । 

अवलोकन भ्रमण

पछि फेरि डब्लुएचओको स्कलरसिपमा अल इण्डिया इन्स्टिच्युटको न्यूरोलोजीको तालिममा जानुभयो । जापानमा साइक्याट्रीक सर्भिस कसरी चलेको छ भनेर अवलोकन गर्न जापान पनि जानुभएको छ उहाँ । श्रीलंकामा गएर हेल्थ सर्भिस कसरी चलेको छ भनेर हेर्नुभएको छ । 

सिंगापुरमा गएर कसरी हस्पिटलहरु राम्रोसँग चलाउनुपर्छ भनेर हेर्नु भएको छ । हङकङमा गएर उपचार पछि ठिक भएका मानसिक बिरामीलाई कसरी पुर्नस्थापना गर्नुपर्छ भनेर पनि हेर्नु भएको छ ।

जिम्बाबेमा कम्युनिटि मेन्टल हेल्थ कसरी चलेको छ भनेर हेर्नु भएको छ । त्यहाँ भने नर्सहरुले चलाइराखेका छन् । नेपालमा भने हेल्थ असिस्टेण्ट र डाक्टरहरुले चलाइराखेका छन् यो कार्यक्रम । 

सिएमसी नेपालसँगको आवद्धता

युनाइटेड मिसन टु नेपालले सहयोग गर्न छोडेपछि त्यहाँ काम गर्ने मान्छेहरु मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सिएमसी नेपाल) मा परिणत भएका हुन् । उहाँ सन् १९८९ देखि अहिलेसम्म पनि सिएमसी नेपालसँग आवद्ध हुनुहुन्छ । 

अहिले पनि सिएमसी नेपालले कम्युनिटि मेन्टल हेल्थमा काम गरिरहेको छ । सिएमसी नेपालले अहिले देशका सातै प्रदेशमा काम गरिरहेको छ । साथै उहाँले लेखेका मानसिक स्वास्थ्य सम्बन्धी चार वटा पुस्तकहरु सीएमसी नेपालले नै निकालेको हो । 

मानसिक रोगका बारेमा कहिले परिवारलाई थाहा हुँदैन् भने कहिले मनोरोगी स्वयंलाई पनि थाहा हुँदैन् । कहिले हेर्ने डाक्टरलाई थाहा हुँदैन् । कहिले यसरी लुकेर बसेकालाई यो यस्तो खालको रोग हो भनेर परामर्श गर्नुपर्ने हुन्छ । कहिलेचाँही दिमाग सम्बन्धी रोगलाई पनि त्यही अनुसार उपचार गर्नुपर्ने हुन्छ । 

मान, सम्मान र पदक 
मान सम्मान र पदकका बारेमा उहाँ भन्नुहुन्छ त्यसका लागि भनेर लागिएन । र, त्यसका लागि भनेर काम गरिएको पनि होइन् । 

अध्यात्ममा लाग्नेहरुका लागि अष्टलौकिक धर्म लाभ, हानी, निन्दा, प्रशंशा, दुःख, सुख, यश तथा अपयश जिन्दगिमा आइरहने कुराहरु हुन । यी कुनै पनि कुरा आउँदा जिन्दगिमा विचलित नहुनु र कुनै कुराको लोभ, लालच तथा मोह नगर्नु भन्ने कुरा अध्यात्मले भन्छ । त्यसकारण पनि मान, सम्मान र पदकको लोभ भने रहेन्, उहाँ भन्नुहुन्छ । 

मानसिक अस्पतालको निर्देशक

उहाँ पोखरामा रहँदा २०५० सालतिर प्रथम श्रेणीको अधिकृत हुनुभएको हो । द्वितिय श्रेणीमा बढुवा हुन अलि ढिला भएपनि प्रथम श्रेणीमा छिटै बढुवा भएको हो भन्नुहुन्छ उहाँ । 

उहाँलाई पोखरामा झण्डै सोह्र सत्र वर्ष काम गरिसकेपछि पोखरामा नै बस्ने कि काठमाडौं जाने भनेर सोधिएको थियो । त्यसबेला उहाँले काठमाडाैँ जाने भन्नुभयो । 

अनि मानसिक अस्पताल पाटनको डाइरेक्टरको रुपमा चार वर्ष काम गर्नुभयो । डा.ध्रुबमान श्रेष्ठ उहाँ भन्दा केही सिनियर हो । श्रेष्ठ रिटायर्ड भएपछि उहाँ डाइरेक्टर हुनु भएको हो । डा.निराकार मान श्रेष्ठ भने उहाँको सहपाठी नै हो । 

उहाँ मानसिक अस्पतालबाट रिटायर्ड भए लगत्तै उहाँलाई युएन हाउस पुल्चोकले स्ट्रेस काउन्सिलरको रुपमा काम गर्ने प्रस्ताव राख्यो । उहाँले चारवर्ष त्यहाँ पनि काम गर्नुभयो । त्यो कामले आर्थिक रुपमा राम्रै भरथेग पनि गर्याे उहाँलाई । 

न्यूयोर्क, पेरिस, ट्युनिसिया, थाइल्याण्ड, क्यारिबियन आइल्याण्ड लगायतका ठाउँमा उहाँले बैठकमा भाग पनि लिनुभयो युएनको जागिरेको रुपमा । 

उहाँको भन्नु 

उहाँको जीवन धेरै जनाले माया, प्रेम, स्नेह तथा उत्प्रेरणा दिएर सफल भएको हो । उहाँ ती समस्तप्रति आभार समेत प्रकट गर्न चाहनुहुन्छ । 

मानव जीवनमा राम्रो कर्म गर्नुपर्छ भन्ने आमाबाट सिक्नुभयो । गुरुबाट अध्यात्मिक चिन्तनमा अगाडि बढ्न प्रेरणा मिल्यो । अहिले पनि त्यही कुरामा प्रयासरत हुनुहुन्छ । उहाँका गुरु हुनुहुन्छ विद्याधर आचार्य श्रीधर राणा रिम्पोच्छे । 

श्रीलंका सतप्रतिशत साक्षर भएको मुलुक हो । र, त्यहाँका बौद्धिकहरुले बुद्धप्रति श्रद्धा, सम्मान र भक्तिपूर्वक प्राथना गरेको देखेपछि उहाँ बुद्ध धर्मप्रति आकर्षित हुनुभएको हो । त्यसपछि उहाँले बुद्ध धर्मका विभिन्न ग्रन्थ तथा पुस्तकहरु अध्ययन गर्न थाल्नुभयो । 

आमाको माया र प्रेम अमूल्य छ । आमाले उहाँलाई अत्यधिक माया गर्नुहुन्थ्यो । जसका आमा हुनुहुन्छ उहाँहरुलाई धेरै भाग्यमानी ठान्नुहुन्छ उहाँ । आमालाई कसैले हेलाँ नगर्न पनि उहाँ सुझाउनुहुन्छ ।

मृत्युले दिने पीडा

उहाँ पोखरामा भएका बेला प्रहरी र माओवादीबीच अर्घाखाँचीमा भिडन्त भएको थियो । भिडन्तमा मारिएका सबैको शव पोष्टमार्टमका लागि पोखरा अस्पतालमा ल्याइएको थियो । तीस, पैंतीस शव थिए होलान् ।

पोष्टमार्टम अरु डाक्टरले नै गरेका थिए । तर, ती शव हेर्न जाँदा उहाँका आँखाबाट बलिन्द्र आँसु नै झरे । कारण थियो सबैलाई गोली पछाडीबाट हानिएको थियो । गोली छातीबाट निस्किएको देखिन्थ्यो । वास्तवमा त्यो भिडन्त नभएर हत्या थियो, उहाँ भन्नुहुन्छ । 

Death is hundred percent certain, only the time of death is uncertain यो उहाँको गुरुले भन्ने गर्नुहुन्छ ।

उहाँलाई आमाको मृत्युदेखि अहिले आफ्नै कैयौं दौंतरीको देहान्तले पनि यस्तै लाग्छ । अनि गुरुले भन्ने गरेको यो कुरा जहिले पनि उहाँको मनमा घुमिरहन्छ । र, यो सोचेर जहिले पनि राम्रो कर्म गर्नुपर्छ भन्ने उहाँलाई लागिरहन्छ । 

उहाँलाई अर्को दिक्क लाग्ने कुरो भनेको साइक्याट्रीमा कतिपय औषधि खाइरहनु पर्ने, निको नहुने दीर्घरोगहरु छन् । कुनै रोग एकपटक निको भएपछि फेरि फर्कन्छ । बिरामीले पूरै निको हुने औषधि दिनुस न भन्छन् । बिरामीलाई यस्तो लाग्छ कि डाक्टरले जानि जानि निको नहुने औषधि दिएर फेरी आइरहनु पर्ने बनाउँछन् । 

तर, दुर्भाग्य यो मेडिकल साइन्समा साइक्याट्री मात्र नभएर जुन अरु क्रोनिक अर्थात दीर्घ मेडिकल रोगहरु छन् मुटु, किड्नी, बाथ, दम जुनसुकै रोग पनि मेडिकल साइन्सले निको पार्दैन् । केवल रोकथाम गर्ने मात्र हो ।

यो सोच्दा भने के गर्ने भनेर उहाँलाई दिक्क पनि लाग्छ । वास्तवमा डाक्टर भएर हामी के के न गर्न सक्छौं भन्ने लाग्छ तर, बिरामीलाई पूर्ण रुपमा निको बनाउन सक्दैनौं । 

उपचारको क्रममा नजानेर, नसकेर वा अरु कुनै कारणले मृत्यु पनि भयो होला । डाक्टरले उपचार गर्ने क्रममा मृत्यु भएका छन् । पेन्सिलिनको सुई लगाउँदा समेत बिरामीको मृत्यु भएका घट्ना छन् । 

एकपटक सँधै पेन्सिलिनको सुई लगाउने एउटा बिरामी पेन्सिलिनको सुई लगाउँदा नै बित्यो । त्यसबेला उसमा मुटुको समस्या देखियो । बचाउन सकिएन् । 

अपरेशन गर्दा मर्ने त छँदैछ । सही सलामत मानिस उपचार गर्न आउँछ तर, अपरेशन गर्दा मर्छ । त्यसले उहाँलाई भित्रैदेखि हल्लाउँछ । 

कडा खालको मानसिक रोग लागेका बिरामीलाई उपचार नगर्दा, लुकाउँदा आत्महत्या गर्ने डर पनि हुन्छ भने आफ्नै परिवारका सदस्यमाथि शंका गरेर हत्या गर्ने डर पनि हुन्छ ।

कडा खालको मानसिक रोगलाई नलुकाउँ । अहिले सरकारले निःशुल्क औषधि पनि दिन्छ । औषधि खान नमान्नेलाई महिनाको एउटा सुई लगाउने व्यवस्था पनि छ । यो सन्देश समुदायमा जाओस भन्ने उहाँको चाहना छ । 

अर्को कुरा मेडिकल साइन्समा एकपटक डिग्री लिएर आउँदैमा पढेर आउँदैमा त्यो मान्छे सँधैका लागि त्यत्तिकै राम्रो हुन्छ भन्ने छैन । बारम्बार आफूलाई अपडेट गर्ने, लेख्ने, पढ्ने, अरुको जानकारी पनि लिने र इन्स्टिच्युटका सिनियरहरुको ज्ञान अनुभव सुन्ने बुझ्ने गरिरहनु पर्छ । 

अहिले मनोचिकित्सकहरुको संख्या निकै बढेको छ । प्रत्येक मेडिकल कलेजमा मानसिक विभाग छ । मनोविद्हरुको संख्या बढ्दै छ । काउन्सिलिङ सर्भिस राम्रो हुँदैछ । 

मध्य वानेश्वरमा एउटा संस्था छ, नेपाल पूजा प्रतिष्ठान । त्यहाँ प्रत्येक शनिबार विशेषज्ञ डाक्टरहरुले सेवा दिने गर्नुहुन्छ । उहाँ त्यसको आजीवन सदस्य हुनुहुन्छ । साथै बेलाबेलामा सेवा पनि दिने गर्नुहुन्छ । मानव सेवा आश्रमका बिरामीलाई पनि बेलाबेला सेवा दिने गर्नु भएको छ उहाँले । 

आभार 

आध्यात्मिक ज्ञान र ध्यानको लागि उहाँ श्रद्धेय गुरु विद्याधर आचार्य श्रीधर राणा रिम्पोच्छेप्रति हार्दिक नमन र कृतज्ञता प्रकट गर्नुहुन्छ । 

त्यस्तै माता, पिता, शैक्षिक यात्रामा पढाउने सिकाउने सबै गुरुवर्ग, उहाँलाई बस्न, खान दिएर पढाउने जमिन्दार किस्मत बहादुर श्रेष्ठको परिवार, पृथ्वीराज शर्माको परिवार, सम्पूर्ण प्रोफेसर, श्रीमती लगायतका परिवार साथै साथीभाईमा समेत आभार प्रकट गर्न चाहनुहुन्छ– डा.कपिल उपाध्याय  ।