बुढासुब्बा

बुढासुब्बा

ऐश्वर्य श्रेष्ठ  |  साहित्य  |  आश्विन १०, २०७७

हावाको सुमुधुर संगीतमा
गुराँसका हाँगाहरू नाचिरहेका थिए
नतमस्तक बनेर मन्दिरका
ढुंगाहरु हेरिरहेका थिए
कतिबेला पाउमा
गुराँसको थुँगा खस्छ भनेर
पुजारी ध्यानमग्न थियो
कालो भाले र बोकाको
रातो रगतको आहल सम्झँदै
के रगतमा फुल्ला गुराँस ?

टुप्पो नभएको बाँसमा अल्झेलान्
प्रेमका कोथाहरु सदाबहार भै ?
हात हेरेर जान्छन् मान्छेहरु
सपना झुन्डयाएर जान्छन् जोडीहरु
फेरि फर्की आउँदा
के ती जोडी सँगै हुन्छन् ?

समयको पता खसेर जान्छ
रित्तोे हाँगा चिहाइरहन्छ 
आकासतिर हेरेर
कहिले बगेर आउला खहरे
र समयले उमार्ला
संभावनाका टुसाहरु
अनि बुढासुब्बाले
प्रेमिल बासुरीको धुन सुनाउला
नव वरबधुलाई
प्रेमको टीका लगाइदिएर ।
                           

अरुण–७, भोजपुर