शब्द यात्रा

शब्द यात्रा

चन्द्रमा पौड्याल  |  साहित्य  |  आश्विन १०, २०७७

सजिलो थियो मलाई डोहोर्याउने
साउँ अक्षरको सोझो गोेरेटो
जसमा ताते गर्दै आमाको हात समातेर 
पुग्थेँ शब्दका बयेली खेल्ने टारबारीमा
उस्तै थिए मलाई गुन्न सिकाएका सग्ला अंकहरु
तिनकै लहरमा उकालीदै पुग्थेँ म पाखाबारीमा ।

आजैजस्तो लाग्छ शब्दै शब्द झुलेको खेतमा
एकपछि अर्को शब्दका आली नाघ्दै उफ्रेको
शब्दहरुको फराकिलो आकाशमा लुकीचोरी खेलेको
थाहा थिएन शब्दभन्दा परकोे अर्को अध्याय
थाहा थिएन सग्ला अंकभन्दा परको गणित ।

यिनै शब्दहरुका गोरेटोमा पाइला सार्दै
कुनैदिन पुगेँ म शब्दहरुको रमणीय गाउँ
चोर औँलाले देखाउँदै बा ले भन्नु भो
उ माथि छ शब्दहरुले भरिएको शहर
शहर पुग्ने बाटो फराकिलो भो
तानिदै पुगेँ म शब्दनगरीमा
आमाका ताते गराउने हात छुटे
बा को बाटो देखाउने चोर औँलो छुट्यो
गुरुले देखाएको शब्द दर्पण
कतै पारदर्शी त कतै धुमिल भयो
सरल शब्दहरु जटिल बने
सग्ला अङ्कहरु संयुक्त भए
जीवन जोड, घटाउ, गुणा र भागामा अल्झियो ।

अझै म शब्द जालमा जेलिएको छु
फुटाउन सक्दिनँ शब्दका पत्थरहरु
थुनिएको छु अङ्कजालभित्र
हल गर्न सक्षम हुन्न कुनै बीजगणित  ।

कुनै अक्करमा उम्रिएका भकिमिलाजस्ता 
तारेभीरमा लत्रिएका लालीगुराँसजस्ता
जब्बरदस्त बन्दै गए शब्दहरु
म अझै घस्रदैछु शब्द टाकुरी छुन
जहाँ फरफराउन सकुँ शब्द पताका
फुटाएर जटिल शब्दका अर्थ
उम्किनुछ  शब्दब्यूहबाट
जहाँ भेटिएलान् छुटेका हात र औंलाहरु ।