तारा पराजुली | साहित्य | आश्विन १०, २०७७
हुरीले घर हल्लाएपछि
मैले बलियो खाँबो गाड्न सिकेको हुँ ।
धुरीमा चोया थप्न
छानोमा छोरखर हाल्न
त्यसैपछि जानेको नै हुँ ।
घर बलियो भएपछि
मन पनि बलियो हुनेरहेछ ।
मलाई ढुङ्गामाथि पनि हरियो देखेर
एकफेर बजारमा खुब हल्ला चलेछ
जरा काँडा फूल पातसम्म
घन्टौँ पौडिएछ
एउटा कमसल लेन्स र रिमोट बिनाको ड्रोन
बस्ती माथि माथि ।
मलाई गर्वै थियो
तिनीहरूसँग जसले यति धेरै पछ्याइरहे
सबैभन्दा धेरै समय मेरै लागि व्यतित गरे
सबभन्दा धेरै पटक मेरै नाम पुकारा गरे
मलाई उनीहरु दुश्मन जस्तो नै लाग्दैन अचेल ।
तपाईं पत्याउनुहुन्छ ?
एकदिन उनीहरुले मलाई
मिनी सेमिनारमा बोलाए
एकैछिन अनपेक्षित प्रेम आतिथ्य दिए
उनीहरु बोलिरहे बोलिरहे
मलाई पनि बोल्न लगाए ।
म अविचलित बोलिरहेँ
जब उनीहरुले सत्यको आवाज रोक्न सकेनन्
छिनमै नजिकैको भूइँ खोस्रिएर
मलाई माटोमा पुर्न खोजे
पटकपटक माटैले छोप्न खोजे ।
अन्तिम पटक मैले उनीहरुलाई भनिदिएँ–
म बीउ हुँ
माटोमा झन छिटो उम्रन्छु र
अझै सहस्र फैलिन्छु ।