तिस वर्षमा माइत गाउँ : 'लु मलाई चिमोट्, चिमोट् !’

तिस वर्षमा माइत गाउँ : 'लु मलाई चिमोट्, चिमोट् !’

जानु काम्बाङ लिम्बू  |  साहित्य  |  आश्विन १०, २०७७

बिदाको समय घुमेरै बिताउँछु । २०१५ जनवरी ३ तारिक । डल्लै महिना दिन लामो बिदा मनाउन विजयजी (मेरो श्रीमान्) र म बेलायतबाट नेपाल उड्यौं । हामीसँग साइँला काका, काकी र ठूलो भाइ डिल्लीप्रसाद पनि थिए । ठुलो भाइ अलि असक्त भएकाले काकाकाकी हाम्रो सहारा लागेर हिंड्नु भएको थियो । लन्डनको हिथ्रो एअरपोर्टमा बिना झन्झट चेक इन गरिसकेर डिउटी फ्री लन्जमा केही स्न्याक्स र पेय पदार्थ सेवन गर्‍यौं । निर्धारित समयमा हाम्रो प्लेन लन्डनबाट टर्कीतर्फ उड्यो । नेपाल पुगेर गर्नुपर्ने कार्यतालिका नोटबुकमा उतार्न थालें । छातीभरि स्वदेशको झझल्को टम्म भरिंदै थियो । पहाडका याद मनमा बुरुरु पलाउँदा आँखा रसिएको पत्तै भएन । टर्कीको एयरपोर्ट स्तानबुल पुग्दा झमक्क साँझ परिसकेको थियो । हाम्रो छोटो ‘ट्रान्जिट टाइम’ निकै हतारोमा बित्यो ।

धेरै वर्षपछि आफन्तसँग भेट्न मौका पाउँदै थियौं । हर्षले आतुर र चञ्चल थियो मन । काठमाडौं ओर्लेको केही दिनमै हामी झापा हिंड्यौं । भर्खर स्टाफ नर्स सकेर छोरी कविता पनि जनकपुरबाट आएकी थिई । केही दिन झापा बसेर ताप्लेजुङ जाने हाम्रो योजना थियो । तर दुर्भाग्य, संविधानसभाबाट माघ ८ गते नै नयाँ संविधान बन्ने/नबन्ने अन्योलका बिच पूर्व क्षेत्र बन्द थियो । पहाड जान गाडी बन्दोबस्त गर्न मात्र तीन दिन लाग्यो । किनमेलजस्ता खुद्रे कामले अरु दुई दिन पनि बितिहाल्यो । बल्ल छैटौं दिनमा पहाड चढ्ने साइत त जुर्‍यो तर राति भागेर जानुपर्ने भयो ।

नेपाल बस्ने समय प्रतिदिन घट्दै थियो । फोन गरेर काकाकाकीलाई तुरुन्तै बिर्तामोड बोलायौं । दिउँसो गाडी चल्नेवाला थिएन । उहाँहरु पशुपतिनगर जाने रात्रीबसमा बुट्टाबारी झापामा आफन्तकहाँ आएर बस्नुभयो । एउटै रिजर्भ गाडीमा जाँदा सहज हुने सोचेकाले हाम्रो टिम जम्बो भयो । खासमा नौ जना हामी नै थियौं, पछि काकीको बहिनी र दुई बहिनी भदैनी पनि थपिए ।

‘जब राति बूढी ताती’ भने झैं बडो आपको झाप अवस्थामा थियौं । बेलुकी ७ बजे खाना खाएर घरमा गाडी बोलायौं । गाडी त सात सिटको मात्र परेछ । रिसमा छर्रा बन्दुक जस्तै विजयजी पड्की त हाल्नुभयो । तर गाडीवालाको पनि आफ्नै दुःख रहेछ । बन्दको कारण रिजर्भमा गएको ठुलो गाडी आई नपुग्दा सानो गाडी ल्याउनु परेको रहेछ ।

सानो गाडीमा बिर्ताबजारसम्म जाने र त्यहाँबाट साथीको ठुलो गाडी मिलाउने गाडीवालाको आश्वासनमा दुःखसुख सामान लोड गरेर हिंडियो । घरमा आमा, कान्छी बुहारी र मञ्जु मात्र भए । हाम्रो खैरे कुकुरले पनि हामीसँग जान नखोजेको कहाँ हो र ? कुइँकुइँ कराउँदै निकै वरसम्म पछ्यायो हामीलाई तर हुइँकिएको गाडीसँग हारेर ऊ घरै फर्कनुपर्‍यो ।

बन्द अवज्ञा गर्दै यसरी राति यात्रा गर्नु पर्दा हामी ठुला जतिलाई मनोवैज्ञानिक दबाब थियो तर केटाकेटीको जात न हो, सेसेहाङ र कविता मस्त थिए । शोक न सुर्ता भोक न भकारी । घुम्नडुल्न खुब मन पराउने बुबा झ्यालपट्टिको सिटमा ख्वाक्कख्वाक्क खोक्दै बस्नुभयो । अघि रिसले तातिएर रन्किएका विजयजीका ठुल्ठुला कानलाई धन्न गाडीले वेग मार्दै चिसो हावा हम्किदिंदै थियो । गाडी चन्द्रगडी काटेर उकालो बिर्तामोड हुइँकिंदै थियो ।

धेरै वर्षपछि म गाउँ जाँदै थिएँ । बाजेका चार भाइ छोराका सन्तान हामी चारतिर छरिएर बसेका छौं । कान्छा काका बाहेक अरु भाइ कोही लाहुरे कोही जागिरे । जेठा तुम्बा बुधबारे झापामा, मेरो बुबा माइला भद्रपुर । त्यसैगरी साइँला काका धरान । पहाडको सबै जग्गाजमिन गरिखाने कान्छा काका पर्नुभयो ।
मन एकोहोरिएर गाउँ पुगिहाल्यो ।

‘थेत् तेरिका ! कहाँको यस्तो गाडी पठाई दे’को यार ?’
रिस मर्‍यो सम्झेको होइन रहेछ, विजयजीले फेरि गुनासो गर्दै हुनुहुन्थ्यो, ‘झन् तेत्रो भनेको १२ जना छौं । होइट, नहुने रैछ !’

‘खोइ सर, बन्दको बेला हो, गाडी पाउँदैन, के गर्ने ? पहाड फसेका हाम्रा गाडीलाई आउनै द्या छै्रनन् ।’

गाडीवाला पनि दिक्क मान्दै फोन थिच्न थाल्यो । सायद गाडीको साहुजीसँग होला, एकछिन फोनमा बोलेर भन्यो, ‘ठिक छ सर, अर्को ठुलो गाडी बिर्ताबजारमा आइसकेको छ, चिन्ता नलिनुस् ।’

बिर्ता बजार पुगियो तर फेरि पनि ‘...कानै चिरेको’ गाडी परेछ, जम्मा १० सिटको । त्यहाँ अर्को ठुलो बम पड्कियो विजयजीको, ‘होइन यार, यी गाडीवालाले मेरो भाषा पो बुझ्दैनन् कि !’ उहाँको अनुहारमा आगो उड्यो । डराउँदै गाडीवालाले फेरि उही दुःख दोहोर्‍यायो, ‘होइन सर, बन्दले गाडी राति रिजर्भमा प्याक भइहाल्छन् । ई...मेरो पनि दार्जीलिङ रिजर्भ छाडेर आ’को ।’ यति भनेर ड्राइभरले गाडीको हुडबाट समान फटाफट फाल्न थाल्यो । ती सामान पहाड लैजानेवाला नयाँ ड्राइभरले थाप्दै आफ्नो गाडीको हुडमा लोड गर्न थाल्यो । विजयजीले गर्न सक्ने अब के नै थियो र ? कम्मरमा हात हालेर हेर्‍याहेर्‍यै हुनुभयो ।

अब पुछारे बाजेको घर छेउ हुँदै मुछेबुङ काटेर घरतिर निस्क्यौं । हाम्रो घर नयाँ थियो । पहिले बाजे बोजुसँग बस्दाको घर र बारी हेर्ने मेरो रहर कान्छा काकाको नयाँ आधुनिक घर र अलैंची बारीले चकनाचुर पारिदियो ।

त्यै सानो गाडीमा मिलेर जानु बाहेक हामीसँग अर्को विकल्प थिएन । दुई हजार रुपैयाँ, हामीलाई ल्याइपुर्‍याउने गाडीले भाडा माग्यो । यो भाडा जति महङ्गो थियो उति नै सस्तो थियो गाडीवालाको मोलमोलाइ, ‘रातिको समय...बन्दको बेला..., गाडी पनि सानदार... ।’ यस्तो फाल्टु फूर्तिले फेरि पड्कन तैयार थियो विजयजीमा अर्को बम तर छोरी कविताले ‘डिस्पोज’ गरिदिई, ‘होस् ड्याडी, झगडा नगर्नुस् । साइत बिग्रिन्छ ।’

बुबाले पनि थप्नुभयो, ‘ठिकै छ, रिसाएर हुँदैन ज्वाइँ, खाँदखुँद गर्दै भए पनि जाऊँ ।’

चित्त बुझाउनै पर्‍यो, विजयजीको हातबाट भाडा टिपेर गाडीवाला, मानौं, दुई हजार किलोमिटरको गतिमा अलप भयो ।

हामी बुट्टाबारी पुग्दा काकाकाकी बाटोमा पर्खिरहनु भएको रहेछ । रोकियौं र भारीतारी चढाउने काम भयो । अनि बल्ल पालो आयो- मान्छे खाँद्ने । यसो गर्‍यो अँटिदैन, उसो गर्‍यो हुँदै हुँदैन । जसै गरे पनि आँटिने थिएन, आँटिएन ।

‘होइन, कस्तो गाडी खोजेको यार, त्यत्रो दिन लाएर ?’ अब पड्किने काम काकाको पनि भयो । एउटा सेलाउन नपाउँदै अर्को थपियो । सबै चुप । बूढ्यौली बुबा फेरि सम्झाउन अघि सर्नुपर्‍यो, ‘होइन हो साइँला, कति खोज्दा पनि पाउँदै पाएन, के गर्ने त ?’ निभ्दैे अगुल्टोमा हल्का झिल्का उडे झैं हुनुभयो विजयजी, ‘ठिकै छ काका, मिलेर जाउँला नि । यो पनि निकै दुःखले आर्जेको पो ।’ मिलेर जान निक्कै समय लाग्यो । अग्र सिटमा आरक्षित बुबा कराउनुभयो, ‘छिटो गर है केटाकेटी हो । यहीं उज्यालो होला !’

ड्राइभरको छेउको सिटमा दुई दाजुभाइ काका र बुबा बस्नुभयो । लगत्तै पछाडि सिटमा काकी, उहाँको कान्छी बहिनी, म, विजयजी अनि सेसेहाङ र बाँकी पछिल्लो सिटमा काकीका भदैनीहरु बस्ने योजना बन्यो । चार जना मात्र अट्ने सिटमा पाँच जना भयौं । बस्दै जाँदा सेसेहाङ र मेरो लागि एउटै मात्र सिट बाँकी भयो । अघिदेखि चुपचाप ममा पनि कहाँबाट झोंक पलाई हाल्यो, ‘होइन हो, अस्तिदेखि खोजेको गाडी यै हो ? यत्रो टाढा बाटो कति वर्षमा हिंडेको अलिक सोचेर हिंड्नुपर्छ नि ?’

‘अब समय त्यस्तै पर्‍यो, के गर्छौ त ?’

विजयजी सम्झौतावादी भइसक्नु भएको थियो । खासमा काकाकाकी टोलीलाई गाडी चढाउन आएको काकीको भदैनी ज्वाइँको कुराले मलाई रिस उठाएको थियो । ‘ए, यस्तो गाडी बन्दोबस्त गर्नु भएछ ! भनेको भए म खोजी दिन्थें । यहाँ मैले चिनेको कति गाडी थिए’ कुरा यस्तै थियो । अब कुटुम्बसँग रिसाउन नमिल्ने । त्यै भएर विजयजीतिर रिसको कुलो फर्काउनु परेको थियो ।

हुन पनि गाडी बन्दोबस्त गर्न कम्ती सास्ती भएको होइन । त्यै भएर चिनजानका गाडी खोज्न काकाकाकीलाई पनि फोन गरेकै हो । तर आज उहाँको ज्वाइँले उल्टो कुरा गर्दा असह्य भएको थियो । 

कहिले पहाड नपुगेको सेसेहाङ यसपल्ट स्कुल छुट्टी परेकोले मेरो पछि लागेको थियो । ऊ उभेरै ताप्लेजुङसम्म पुग्नुपर्ने परिस्थिति बन्दा मेरो चित्त साह्रै दुख्यो । जहाँ गए पनि बहिनी र भदैनी लिएर हिंड्ने काकीको नियम यो पालि पनि लागू थियो ।

चन्द्रकला कान्छा काकाको माइली छोरी । माओवादी द्वन्द्वको बेला हुर्केका केटाकेटी छापामार भर्ती र राज्यपक्ष दुवैका तारो हुन्थे । द्वन्द्वबाट तर्काउन चन्द्रलाई काकाकाकीले मधेस (हाम्रोमा) पठाई दिए । पढाइमा सुरुचि राख्ने उसलाई कान्छी छोरीकै माया दियौं हामीले पनि । कान्छा काका वैदेशिक रोजगारीमा कुबेत हुनुहुन्थ्यो । घरमा काकी र नानीहरु मात्र । जेठी छोरी असारी माओवादीमा लागिसकेकी थिई । ती दिन सम्झेर अझै कत्ति भक्कानिनु हुन्छ काकी ।

बाटो काटिंदै थियो । गाडी इलामको कुटीडाँडा उकालो घुम्ती लाग्यो । अघि मैदानमा त ठिकै थियो तर अब पहाडको उकालो र नागबेली बाटोमा गाडीभित्र हाम्रो बसाइ कष्टकर हुन थाल्यो । बसाइ मिलाउन कसैलाई छड्के कसैलाई कोल्टे पर्न बिन्ती नगरेको होइन, तर कोही टसमस भए पो !

केहीबेरमा सबै घुर्न पो थाले । काखमा १२ वर्षे भदै सेसेहाङलाई लिएको मचाहिं रातभरि अनिदो ।

‘म तिम्रो सहर छाडी टाढा टाढा जाँदै छु...’ निस्पट्ट औंसीको रातलाई चिर्दै गुडिरहेको हाम्रो गाडीमा गीत बजिरहेको थियो । घच्याकघुचुक, उकाली ओराली तर्दै कन्याम, फिक्कल हुँदै इलाम उक्ल्यो गाडी । त्यसपछि तेर्सोतेर्सो सुल्किँदै थोरै ओरालो घुम्तीमा मोडिंदा बुबा ‘देउमाई ओरालो झर्‍यो है ! अब पुल तरेर उकालो लागेपछि राँके भन्ज्याङ पुग्छ ।’ तन्द्रावस्थामै बोल्नुभयो । गाडीको चक्का र गीतको क्यासेटमा सक्दोे तादाम्यता झल्कन्थ्यो । गाडीको चक्का उकालो गुट्किनेबित्तिकै सुहाउँदो गीत घन्किहाल्यो ‘उकालीमा पनि हजुर मोटर गुड्दो रैछ..., ड्राइभर दाइलाई सलाम छ...।’ सलाम त ड्राइभर दाइलाई गर्नै पर्‍यो । तर, ड्राइभर निदाएर सडक दुर्घटना भएका समाचार सम्झेर मेरो आङ सिरिङसिरिङ हुन्थ्यो । ननिदाओस् भनेर ड्राइभरलाई बेलाबेला हावातालका गफ लाउनै पर्‍यो । बुबा बेलाबेला खङखङ खोक्नुहुन्थ्यो । म सोध्थें, ‘बुबा पानी पिउने ?’ तर ‘भो ’ भन्दै निदाई हाल्नुहुन्थ्यो ।

बुबा र काका लगातार घुर्नुहुन्थ्यो । यता मेरो छेउमा बसेकी कान्छी छेमा झ्याल खोलेर वाकवाक गर्नुहुन्थ्यो तर वाकी चाहिं नहाल्ने । सोध्थें, ‘छेमा पानी पिउने ?’ बोल्नु हुन्न थियो उहाँ, सायद निकै सकसमा हुनुहुन्थ्यो । ताप्लेजुङ पुगुन्जेलसम्म ‘पानी पिउने हो ?’ भनी सबैलाई सोधें तर मेरो एक बोतल पानी कसैले पिइदिएन ।

राँके भन्ज्याङ काटेर हाम्रो गाडी पौवा भन्ज्याङ, कान्छी दोकान, लालीखर्क हुँदै ओरालो झर्‍यो । फेदेन बजार पुग्दा रातको १:३० बजेको थियो । बुढोलाई ‘हेर्नुस् त फेदेन, फेदेन..’ भन्दै कराएँ । मेरो आवाज सुनेर सबै ब्यूँझिए, सेसेहाङ पनि ब्यूँझियो । त्यत्रो लाठे भदैलाई काखमा राख्दा प्यरालाइसिस जस्तै बनेको मेरो खुट्टाले बल्ल आराम पायो ।

फेदेनमा एकछिन रोकिएर गाडी फेरि हुइँकियो जोरसाल ओरालो । हेङ्वा खोला नाघेर भारपा उकालो लागेपछि फेरि गाह्रो हुनु थाल्यो सेसेहाङलाई काखमा राखेर बस्दा । मनमनै नेपाली राजनीतिलाई सरापिरहें, ‘बल्लबल्ल नेपाल आउँदा पनि सुख छैन, साला, दिउँसो हिंड्न पाए कति रमाइलो दृश्य हेर्न पाइन्थ्यो !’

आँखा झिमिक नगरी चतुरे डाँडा काटेर जोरपोखरी हुँदै गोपेटार पुग्यो गाडी । जोर पोखरीदेखि गोपेटार जम्मा दुईतीन किलोमिटरको दूरी होला । यस बिचमा लालीगुराँस फुल्ने रमाइलो जङ्गल र कुल्कुल बग्ने केही खोल्साखोल्सी छन् । सेपिलो पाटा, घाम ढिलो लाग्ने र हिउँदमा निक्कै चिसो हुने गोपेटार पाँचथर जिल्लाकै एक पुरानो यो बजार ओयाम, च्याङथापु, थर्पु, सिनाम, थुमेदेन, तेल्लोक, सिकैचादेखि मेदिबुङवासीको किनमेल केन्द्र हो ।

बुबा कराउनुभयो, ‘हौ नानी, एकछिन गाडी रोकौं है ! दिसापिसाब गर्नुपर्छ, यत्तिकै त मरिन्छ हौ !’

अँध्यारो मुख लाउँदै ड्राइभरले गाडी छेउ लायो । सबै ओर्लेर झाडी पसी आफूलाई हलुङ्गो पारे । एक रातको यात्रा पनि मलाई भने सदीयौंको झैं बोझिलो थियो ।

गाडी फेरि हुइँकियो । लोग्नेस्वास्नीमा प्रायः स्वास्नी प्याउली हुन्छ, भनिन्छ । म पनि विजयजीसँग प्याउलिंदै थिएँ, तर मेरो प्याउलोपनलाई उहाँले बेवास्ता गरे झैं लाग्यो । पिसाबले पिरोलेर हो या रिसले, गोपेटारदेखि ३० मिनेटको बाटो काट्दै गर्दा मैले गाडी रोक्नु लगाएँ र झाडी छिरें- मेरो पालो ।

गाडी बिस्तारै गणेश चोक ओरालो लाग्यो । बुबाले थर्मसको पानी खन्याई औषधि खानुभयो । तेज रफ्तारमा हाम्रो गाडी सिंगापुर हुँदै काबेली पार गरेर केही बेरमै उकालो लाग्यो । रातभरको अनिदोले लखतरान म सेसेहाङलाई काखबाट ओरालेर उभिएँ । बेलुकी हिंड्ने बेला औषधि खाएर हिंडेकी छोरी कविता अझै ब्यूँझिएकी छैन, मस्त निद्रामा छे । कहीं हिंड्न नमान्ने ऊ यसैपल्ट हो हामीसँग रहरैरहरमा पहाड हिंडेकी ।

गाउँघर निकै रमाइलो देखिन्थ्यो । वारिपारि बिजुली बत्ती झिलिमिली थियो । रात-रातभरि बत्ती बल्ने गाउँ थेचम्बु अनि पारिपट्टि निगुरादेन, फूलबारी, हाङपाङ, छेन्ताङ त्यसैगरी चक्पुर, सान्थाक्रा हुँदै खोक्लिङ सबै-सबै देखिन थाल्यो । हेर्दाहेर्दै हामी ताप्लेजुङको मियाखा पुगिसकेछौं । बुबाले भन्नुभयो, ‘मेरो मावला गाउँ आयो है !’ मैले बोजुलाई सम्झिन थालें । ‘आहा ...कति रमाइलो हाम्रो पहाड !’ काकी पनि आङ तन्काउँदै निन्द्राबाट ब्यूँझनुभयो । सडक तलमाथिका घरहरुबाट पहिलो डाक भाले बासेको सुनिन्थ्यो । पहिले हामी ताप्लेजुङदेखि पान्थर सदरमुकाम फेदेन हिंडेर जाँदा माथि आठराई भदैैरे डाँडाबाट देखिने रमाइलो मियाखा र नाङखोलेङमा थियौं ।

त्यो बेलाका गाउँहरु आज सडक पुगेर बजार भएका छन् । जताततै घुम्ती दोकान, घर-घरमा पानीको धारा, घरका महिला अफिस, स्कुल र अन्य काममा लागेका छन् । लाग्छ, बल्ल गाउँघरको पालो आयो । सडक माथिमुनि मौसमी अलैंची, अम्लिसो, अदुवा र सखरखण्ड फलेका देखिन्छन् । साँच्चिकै रमाइलो र मनमोहक छ गाउँघर । गाउँलाई अविकसित र पिछडा सोच्नेलाई एकपल्ट गाउँ जान अनुरोध छ ।

ताप्लेजुङ पुग्दा बिहानको चार बजेको थियो । के-के न पाएजस्तो गाडी रोकेर ओर्लिएको मात्र के थियौं, फेरि गाडीभित्र फर्किहाल्नु पर्‍यो, कारण बिहानको समय खपी नसक्नु चिसो थियो । बजार सबै बन्द थियो । मुखबाट तातो बाफ उडाउँदै बस्यौं । ताप्लेजुङको नयाँ ट्याक्सी स्टेन्ड, ठाउँ ओरालोओरालो थियो ।

चिनी नसक्नु थियो ताप्लेजुङ मेरो लागि । जताततै घरैघर । ३० वर्ष पहिले मैले देखेका पुराना घर कुनै थिएनन् । बुबाले भन्नुभयो, ‘आगलागी नभा’को भए ताप्लेजुङ उस्तै रहन्थ्यो ।’ जहाँ ध्वंस त्यहाँ नयाँ निर्माण भने झैं बुबाको कुरो सही लाग्यो ।

‘लिङ्खिम जाने पेसेन्जर तपाईंहरु हो ?’ हाम्रो अगाडि एउटा जिप रोकियो र हामीलाई सोधियो । ‘हो, हो भाइ, तपाईंलाई श्री लिम्बुले पठाएको हो ?’ काकाले सोध्नुभयो । हो भन्ने भएपछि जिपचालक भाइले हाम्रा सामान जिपको हुडमा लोड गर्न थाल्यो ।

बाझ्दैजुध्दै झापाबाट ल्याएको ट्याक्सीसँग बिदा भयौं हामी । खुसीले गदगद हुँदै अब हाम्रो जन्मघर जान जिप चढ्यौं । काकी भन्दै हुनुहुन्थ्यो, ‘धन्न गाडी आयो लिन । नत्र त यो उज्यालो हुने बेला चिसो सिरेटोले खत्तम भइन्थ्यो ।’

कुरो गर्दै जाँदा थाहा भयो, काकीको भदैले हामी आउँदै गरेको खबर पाएर गाउँबाट जीप पठाएको रहेछ । रोड खुलेपछि गाउँका मान्छेले अचेल सवारी साधनमा लगानी गर्न थालेछन् ।

हामी १२ जना, कञ्चनजङ्घा हिमाल जाने तीन विदेशी र अरु यात्रु गरी जिपमा पनि फेरि अटेसमटेस भयौं । जिपचालक १७/१८ बर्षे केटो थियो । त्यसको साँढेलाई खुबै सदाए झै गुटुङटुङ हाँक्न थाल्यो ।

सडक उहिल्यै मान्छे हिंड्ने पुरानो बाटोबाट नलगेर माथि सुकेटार, बुङकुलुङ हुँदै हाङ्देवा सिरानबाट ओरालो झारेर फुरुम्बोतिर मोडिएको रैछ । सानोमा हिंडेको ताप्लेजुङ टुक्रे बजार हुँदै हाङ्देवा, आसाङ पार्टीबाट ओरालो झर्ने गोरेटोलाई माथि सडकबाट तल देख्दा कस्तो विरक्तै लागेर आयो । बाटोभरि सेतै हिउँ र कालो शीत झरेको थियो ।

‘दाइ आजभोलि उहिलेको पुरानो बाटोमा मान्छे हिंड्छन् ?’ मेरो सिट पछाडि बस्ने अञ्जान मानिसलाई सोधें मैले । ‘ए...अहिले त त्यो बाटो जङ्गल पो भएको छ । एक्लोदोक्लो हिंड्नै डरमर्दो छ ।’ उसको कुरा सुनेर मैले विगत सम्झें, हामी आसाङ पाटीबाट ओरालो झरेर फुरुम्बो खोलाको अप्ठ्यारो पुल तर्दै मित्लुङ र सेङ्वा निस्कन्थ्यौं । सेङ्वामा माघेसङ्क्रान्तिमा ठुलो माघे मेला लाग्थ्यो ।

अब, कोही नहिंडेपछि जङ्गल हुनु त स्वभाविक थियो तर ती अञ्जान मानिसले त्यो बाटोमा अहिले चोरडाका लाग्ने बताउँदा चाहिँ अचम्म लाग्यो ।

बेलुकी हिंडेदेखि तातो केही पिउन नपाएर सबैको ओठतालु सुकेको थियो । कालो अलकत्रे सडक सुकेटारमै छाडियो । कच्ची सडक यस्तो रफ थियो कि सायद भैंसी पनि हिंड्न सक्दैन थियो । तर जिप हिंड्नु मात्र होइन गुडी रहेथ्यो । अचानक गर्लम्म आवाज आयो । धुँवाको मुस्लो छुट्यो । सबै ‘एएऽऽ...एएऽऽऽ...’ भन्दै आत्तिहाल्यौं । ‘राम ! राम !! राम !!!’ छेउमा बसेको एक जना बाहुन बाबै भन्दै थियो । जिप पूरै चिप्ली सकेछ । धन्न, भित्तातिर जोतिएछ । गाडीमा अघिदेखि एउटा मान्छे खुब गफ लडाउँदै थियो, ऊ गाडी मालिक रहेछ । उसले ड्राइभरलाई साफ करायो, ‘होइन गधा कसरी चलाउँदै छस् ? अलिक हेरेर क्लज दबा । पत्ती जोगा, ओर्लेर ढुङ्गा ला’ ।’

मनमनै भनें, ‘कत्ति न मालिक भ’को ! उचाहिँ गफ चुटेर बस्ने, सबै काम ड्राइभरले नै गर्नु रे ।’

डरले काँप्दै गाडीबाट ओर्लियौं । बिचरा फुच्चे ड्राइभर होमवर्क गर्न भुलेको बच्चा जस्तै डराउँदै गाडी बनाउन ‘टुल्स’ खोज्न थाल्यो । ढल्केर हेर्‍यो । पत्ती नै गएछ । उसलाई फेरि कराउँदै मालिकले हामीलाई हैरानी भावमा आश्वस्त पार्‍यो, ‘तपाईंहरु एकछिन पर्खिनुस्, पत्ती भाँचिएछ, हामी फेर्छौं ।’ पूरै भासिएको थियो जिप । फुरुम्बोवारि ठुलो अलैंची र उत्तिस घारीमा थियौं हामी । अन्यत्र सडक सुक्खा भए पनि त्यहाँ अलैंचीमा कटाएको पानीले हिलाम्य थियो ।

लगभग ४० मिनेटपछि गाडी बन्यो । तब त्यसलाई बलियाबाङ्गा यात्रुजतिले धकेलेर हिलोबाट उकासे । ठेल्दै अलिक तल पुर्‍याए । हामीलाई चढाइवरि केही छिनमै फुरुम्बो खोला कटाए । उहिले मान्छेले तर्नै नसक्ने त्यो खोलालाई अहिले अलैंची सिञ्च्याउन ठाउँ-ठाउँमा कुलो कटाएर सुकाएछन् मान्छेले ।

गाडी सिस्नेखोला काटेर माङयुङको डाँडा निस्कियो । ‘ल, दिसापिसाप गरौं है !’ ड्राइभरले रोक्यो गाडी ।

यात्रामा खानपिन नमिल्दा मेरो ग्यास्टिक बल्झिएको थियो । निकै बिसञ्चो महसुस भयो । छोरा मान्छेजति भित्तालाई श्रद्धातर्पण गर्दै निहुरिए । छोरी मान्छे अफ्ठेरोमा पर्‍यौं । म बाटोमुनि निकै तलसम्म झरें । जताततै चिहान नै चिहान थियो । कुनै चिहान महिना दिनअघि मात्र पुरिएका आलो, कुनै चिहान मानौं, मृतकका आत्मा फूल भएर उम्रिएका, निकै पुराना । कुनै चिहान घरजस्तै दुरुस्त थिए भर्खर बरखी सकाएर सिमेन्टीले लिपिएका । बाँच्दा मात्र होइन मर्दा पनि घरै चाहिने रैछ- मान्छेलाई । चिहानको यस्तो सहर देखेर आइसकेको मेरो पिसाब पनि खै कहाँ हरायो । ‘नेपाली सल्लाह’ भने झैं उसै चराकचुरुक फेरेजस्तो गरेर फर्किएँ । आँखामा चिहानघारी छिपाएकोले डराउँदै गाडीमा चढें ।

माङयुङ काटेर करेङकरेङ उकालो लागेपछि फेरि रमाइला गाउँहरु देखिन थाले । उहिले अकबरे खुर्सानी, करेला, सिमी, स्कुस, अम्बक फल्ने कोठेबारीमा अलैंचीका ठुल्ठुला झ्याङ थिए । लिङ्खिम सिरान पान्दोलुङ पाताल हुँदै गाडी ओरालो झर्‍यो ।

‘पहिले एकलास जङ्गल अहिले बजार भएछन् गाँठे !’ लिङ्खिम नपुग्दै सुस्केरा हाल्नुभयो बुबाले ।

हामी साइँला काकाको ससुराली घर पुग्नै लागेका थियौं । आफ्नो जोवनमा फर्किनु भएछ काका, ‘हौ माइला दाइ, पहिलेको तरुनी सोराने कान्छी बिस्र्यौ ?’ हातले मुख छोपेर मुसुमुसु हाँस्नुभयो बुबा । मैले अन्दाज गरें, पक्कै उहाँ भाइबुहारीको छेउमा सर्माउनुभयो ।

केहीबेरमा गाडी रोकियो । सेसेहाङ बोल्यो, ‘फुपू हामी कहाँ आइपुग्यौं ? हाम्रो पहाड पुगियो ?’ बुबाले भन्नुभयो, ‘यो गाउँको नाम लिङ्खिम हो नाति, अझै दुई घण्टापछि मात्र थिवा सङ्बारो पुग्छौं । त्यहाँबाट पनि तीन घण्टा हिंड्नुपर्छ इखाबु पुग्न ।’

सेसेहाङलाई बाजेको कुरा भालुलाई पुराण भयो । कता लिङ्खिम कता थिवा ? पहिलोचोटि पहाड आएको ऊ ट्वाल्ल पर्‍यो ।

सानोमा खेली हिंडेका ठाउँ ठम्याउन नसकेर म पूरै अलमलिएँ । सानो छँदा यहीं लिङ्खिम गाउँ कति आउने जाने गर्थें । काकाको ससुराली मात्र नभएर मेरो जेठी फुपूको बिहे पनि लिङ्खिममै भएको हो । तमोर खोलातिरका सबै मेलाबजारमा डेरा बनाएर किराना दोकान थाप्नुहुन्थ्यो फुपा । उहाँकै दोकानमा रातो र शीतलु मिठाइ किनेर कत्ति खान्थें । दोकान थाप्दाथाप्दै उहाँको नाम सिराने कान्छाबाट दोकाने कान्छा पनि भयो ।

लिङ्खिमभन्दा उता हामी छ जना मात्र जानु पर्थ्यो । केही दिन ससुराली लिङ्खिम बसेर मात्र काकाकाकी इखाबु आउने सल्लाह थियो । सोही अनुरुप उहाँहरु त्यहीं ओर्लनुभयो । हामी छ जना ताप्लेजुङदेखि नै थिवा जाने कुरा गरेर हिंडेका तर गाडीमालिकले बखेडा झिकिहाल्यो । हामीलाई हिजै रिजर्भ गरेका छ जना मान्छे माङ्युङमा पर्खेर बसेकाले तिनलाई झ्वाट्टै लिएर आउने भनी बाटोमै ओरालिदियो । होला त नि, सबैले जानु छ गन्तव्यसम्म भनेर पत्याउन बाध्य भयौं ।

जाडो थियो । बाटोमा रुँगेर बस्नुभन्दा तल घरमा गएर चियापानी खाएर जान काकाकाकीले अनुरोध गर्नुभयो ।

रातभरको अनिदो । पानी पिउन नपाएर थाकेको शरीर घिसार्दै हामी काकीको माइती घरतिर ओरालो लाग्यौं । पुग्नेबित्तिकै तातो चिया मगाएर बुबाले आफ्नो केही औषधि गन्न थाल्नुभयो । तनाकतुनुक जिउ तन्कायौं हामीले । हतारहतार काकीको जेठी भाइबुहारीले चाउचाउ खाजा बनाई दिनुभयो । नाथु चाउचाउ पनि कम्ती मात्र मिठो भएन- लबरान हामीलाई  ।

खाना पनि बनाइदिने कुरो हुँदै थियो । त्यो सुनेर मैले काकीलाई गाडी आइहाल्ला, दुःख नगर्न भनें ।

गाडी मालिकले काकीको भदैलाई आफू आइपुगेको खबर गर्ने भनेको थियो । नभन्दै केही छिनमै फोन आइहाल्यो । हतारहतार बिदा भएर उकालो त लाग्यौं तर ओरालो झर्न जति सजिलो थिएन । विशेषगरी दुई वर्ष अघिदेखि मुटुको बिमारी बुबा । उकालोमा उहाँका सास बढ्न थाले झैं लाग्यो । यस्तो अशक्त अवस्थामा पनि बुबा शाखासन्तान जन्त लाएर जन्मगाउँ घिस्रिंदै हुनुहुन्थ्यो । फुपूहरु भन्नुहुन्थ्यो, ‘सुकु, उहिले यो गाउँमा तेरो बुबाजति धान नाच्ने अनि सुरिलो स्वरको तन्देरी नै थिएनन् ।’ त्यो बुबाको जवानीको कुरा भयो । अहिले झन्डै ६८ वर्ष पुगिसक्नुभयो । म सानो हुँदा भन्नुहुन्थ्यो बाजे, ‘सुकु, तेरो बाऊ मलाया भर्ती लाउन धरान घोपा पुर्‍याएँ । इण्डिया भर्तीलाई दार्जीलिङ बिजनबारी लगें । केही सिप लागेन । नेपाली सेनामा भा’ नि हुन्छ भनेर फुस्रे पुर्‍याएँ, प्रहरीमा पठाएँ । तर भर्ती नै भएन । अनि, घर ल्याएर ०२८ सालमा तेरो आमासँग बिहे गरिदिएँ । डेढ वर्षपछि तँ जन्मिस् । नुन र मट्टितेल लिनु फेरि धरान पठाउँदा पो फुस्रे पुगेर सेनामा भर्ती लाग्यो । त्यो बेला म कम्ता खुसी भएँ ! एक महिना पुगेको थियो- तँ जन्मेको । तेरो जन्म र तेरो बाउको भर्तीले मलाई पहिलो छोरीको जन्म लछिनको हुने विश्वास छ ।’

यो संयोगलाई बाजे बारम्बार दोहोर्‍याएर कुरा गुर्नहुन्थ्यो । आज म आफ्नै छायामा बाजे र  बुबाको उमेरको अन्तर खोजिरहेको छु ।

बुबा सजिलोसँग उकालो चढ्न सक्नु भएन । विजयजी र छोरीलाई गाडी आइहाले एकछिन पर्खाउन अगाडि पठाएँ । बिस्तारै डोर्‍याउँदै, अप्ठ्यारोमा समाउँदै बुबालाई निकै बेरमा बाटोमा निकालें । तर गाडी आउने अत्तोपत्तो अझै थिएन ।

बाटो छेउमा नीलो टिनको छाना हालेको एउटा नयाँ चौतारा थियो । चौताराको पल्लो छेउ र वल्लो छेउमा एक-एक युवक-युवतीको रङ्गीन फोटोधारी आकर्षक दुई शिलालेख थिए । सेसेहाङले हातमा बोकेको लौरोले घोच्दै  शिलालेखका अक्षर ठुलो स्वरले पढ्न थाल्यो ।

‘नाम: सबिना मोहेरेसङ, लिङ्खिम, जन्म २०५० साल पुष ७ गते । मृत्यु २०७० साल कार्तिक १२ गते ... । मृत्युको कारण सडक दुर्घटना...’ यसरी युवतीको शिलालेखको विवरण प्रस्तुत गरेर ऊ वल्लो छेउको युवकको शिलालेख पनि पढ्न थाल्यो । एउटै दुर्घटनामा दुवैको मृत्यु भएको थाहा भयो । मेरो छोरी कविता पनि २०५० साल असारकै हो । युवतीको जन्ममितिले मेरो मुटु नराम्ररी घोच्यो । त्यो अपरिचित युवतीको अनाम आमा सम्झेर मेरो कोख बेसरी चस्कियो । मेरो कुममा टाउको अड्याएर सुस्ताई रहेकी छोरीलाई पुल्लुक्क हेरें र मनमनै दीर्घायुको आशीर्वाद दिएँ ।

चेलीमाइती दुवैको मृत्यु (समय, मिति र स्थान) मिलेकोले संयुक्त चौतारो बनाइएको रहेछ । छेउमा आलो ढुङ्गामाटो र आगो फुकेर तापिछाडेको चुलो पनि थियो । यसले हप्ता दिनजसो अघिमात्र चौतारो सकिएको स्पष्ट हुन्थ्यो । लिम्बु संस्कारसंस्कृतिमा चौतारो बनाउने दिन रातभरि हाक्पारे गाउँदै रुँघ्ने विधिविधान छ । पक्कै, त्यो चुलोमा पनि आगोको ठुलो धुनी बालेर हाक्पारे गाइयो । तर अब सदालाई चिसो भइसकेको थियो- त्यो चुलो । त्यहाँ कुनै आगो भर्भराएजस्तो हाक्पारे भाका बाँकी थिएन, न जीवनको किञ्चित राप नै थियो ।

‘मृत्युले सानोठुलो नभन्दो रहेछ, के गर्नु ?’ बुबाले लामो सास तानेर खुइय गर्नुभयो । चन्द्रकलाले भनी, ‘दिदी यो केटी त मसँगैको हो । बिचरी आठ कक्षामा पढ्दै थिई । म चिन्थें नि !’ यो सुनेर सेसेहाङ र कविता पनि भावुक भए ।

यैबेला एउटी अधबैंसे महिला डोको र हँसिया बोकेर आइपुगी । हामीलाई देखेर ‘आत्ती केयुङ्बा तरेबासी नि बे ? (कहाँ बस्ने पाहुनाहरु होला ?) आसेवारो !’ भनी । ‘आनिगे थो युखाबु केयुङ्बासिगेरो नानी (हामी माथि इखाबु बस्ने बटुवा पो हौ है नानी ।) ।’ बुबाले जवाफ दिनुभयो । ‘ए...’ भन्दै ती महिलाले दुवै शिलालेखको शिरमा दुई थुँगा सेतो जुवारी फूल पोल्टाबाट झिकेर चढाई अनि भावुक मुद्रामा ढोगी । हामी यो दृष्यलाई निर्निमेष हेरिरह्यौं । 

‘नानी यी मर्ने दुई जना तपाईंको को पर्नुहुन्छ ? साह्रै दुःखको घटना भएछ कलिलै उमेरमा !’ बुबाले ती महिलासँग कुरा गर्न थाल्नुभयो । महिलाले भन्न थालिन्, ‘हो नि दाजु, अस्ति भर्खर कात्तिकको घटना हो । थेचम्बु पारि सिंगापुरको केटासँग यो छेउको नानीको जेठी दिदीका बिहेमा यहाँबाट लोकन्दी थुप्रै गएका थिए । यी दुई जना चेलीमाइती हतार भएकोले बिहे नसकी हिंडेछन् ।

दिउँसो चार बजेतिर काबेलीमाथि मियाखा धुसेनीमा उनीहरु चढेको गाडी चियाखाजा खान रोकिएछ । त्यहाँ गाडी मालिकले दुई बोतल बियर खाएर आफै कुदाएछ नि ! ड्राइभर त मानेको थिएन रे तर मालिकले खोसेरै गाडी कुदाउन थाल्यो रे ! केही माथि पुगेपछि गाडी पाँच सय मिटर तल भीरमा खसेछ । अनि यस्तो भयो नारान् !’

मजेत्रोले आँसु पुछ्दै ती महिलाले सुनाईन । छेउको शिलालेखको ‘हेन्डसम’ युवक तिनको कान्छा देवर अनि अर्को छेउकी युवती चाहिं काका ससुराकी छोरी रहेछ ।

सडक लिङ्खिम सिरान घुमाइएकोले हामी निकै लेकमा थियौं । भावुक भएर बुबाले देवरको बिहे भए नभएको बारे सोध्नुहुँदा ती महिला निकै झोंक्किई । कारण देवर बितेको चार महिना नपुग्दै देउरानी पोइला हिँडिछे । देवरका तीन जना नानी पाल्ने जिम्मेवारी पनि उसैलाई आइलागेछ ।

देवर र देउरानीबारे थप शब्द खर्च गर्दै थिई ती महिला, ‘एऽऽ बिचरा मेरो देवर, ताप्लेजुङकै टप भलिबल खेलाडी थियो । खेल्न कति दिनसम्म बाहिर बस्थ्यो । घरमा नानीहरुसँग देउरानी मात्र हुन्थी । दिनरात कराउँथी मेरो देवरलाई, सराप्थी । खालि झगडा मात्र गर्थी । म पनि कान्छालाई नै गाली गर्थें, ‘तिमी लोग्नेमान्छेहरु खालि बाहिर भुल्छौ, घरको दुःख देख्दैनौ । दिक्क मानेर ऊ मेरो घरै आउँदैनथ्यो । उसलाई सानैदेखि मैले हुर्काएको । मेरो बिहे हुँदा ऊ दुई वर्षको न थियो । सासु बितेपछि हुर्काउने जिम्मा मेरै भागमा पर्‍यो । जेठानीजेठाजु सबै छुट्टिएर हिंडे । म घरकी साइँली बुहारी । मेरो उमेर कति नै छिपिएको थियो र ? भर्खर सत्र वर्ष थिएँ । सबै देवरनन्द हुर्काएर बिहेदान मैले नै गरिदिनु पर्‍यो ।’

बेलाबेला लामो सुस्केरा हाल्थी । आँसु पुछ्दै देवरको शिलालेख हेर्थी । देवरको फोटो हेर्थी र भन्थी, ‘बजिया, दुःख मलाई सुम्पेर गइस् । हुन त कहिले पो सुख दिएको थिइस् र !’
ती महिलाको छताछुल्ल बिलौनामा हामी भत्किरहेको बेला हरन बजाउँदै माथि डाँडामा जीप देखियो । ठिक त्यहीबेला छोरा श्री ठुलो थर्मस बोकेर स्याँस्याँ गर्दै टुप्लुक्क आइपुग्यो । बिमारी बुबा खुसी हुनुभयो । कविता र चन्द्रले थर्मसको चिया बाँड्दाबाँड्दै आइपुग्यो गाडी । श्रीलाई धन्यवाद र ती दुःखी महिलालाई सान्त्वना दिएर हामी हिंड्यौं ।
बिहान सात बजे छाडेको गाडी दिनको १२ बजे मात्र आइपुग्दा विजयजी मुर्मुरिंदै हुनुहुन्थ्यो; तर, ससुराली गाउँमा कराई हाल्नु पनि भएन । सोध्दा थाहा भयो, गाडीले ती छ जना यात्रुलाई माङ्युङ होइन ताप्लेजुङ बजार नै पुगेर ल्याएको रहेछ । तर पनि केही भनेनौं हामीले ।

लिङ्खिम छाडेर गाडी तक्वा खोलातिर लाग्यो । सानोमा माघे सङ्क्रान्तिमा तरुल पुर्‍याउन फुपूको घर आउँदाको कुरा हो । तर्न नसकेर एउटा गोठालाले समातेर मलाई तारी दिएको थियो । तर अहिले त तक्वा खोला सुक्खै हाँसिरहेको थियो । अचम्म लाग्यो । सोचें, गाउँघर अब चिन्नै नसक्नेगरी फेरिएछ । स्वार्थसिद्धिका लागि मान्छेले खोलै सुकाउन थालेछन् ।

लिङ्खिमउता लागेपछि झनै नराम्रो बाटो भेटियो । सबैको मुखमा ‘एएऽऽ एएऽऽ’ शब्द मात्र हुन्थ्यो । पछाडि सिट परेका हामीलाई टाउकोमा हेल्मेट नै चाहिएला झैं गरी जीपले उफारेर हुडमा ठोकाउँथ्यो । कञ्चनजङ्घा जाने तीन जना विदेशी नागरिक हामीभन्दा अगाडिका सिटमा थरथर काँप्दै थिए । दुई घण्टापछि आधा सास बोकेर थिक्वा सङ्बारो पुग्दा मात्र बल्ल बाँचियो भनेर ढुक्क लाग्यो ।

सबै ओर्लिएर लुगाफाटा टक्टकाउन थाले । कपाल, आँखी भौं केही बाँकी थिएन पूरै अँध्यारो देखियो तमोर खोला । चन्द्रकला मलाई हेर्दै हाँस्न थाली । ‘के भयो, यो लाटी किन हाँस्छे ?’ बुबाले कराउनु भएपछि चन्द्रले आँखा घोचौंला झैं मेरो अनुहार पुछिदिई । मेरो परेला पूरै धुलोले पुरिएकोले ऊ हाँसेकी रैछ ।

परेला र आँखा पुछेपछि बल्ल सङ्लो र सफा देखें वरिपरि । सेसेहाङ जिपको हुडमा चढेर भारी झिक्दै थियो । उसको झोला माथि हुडमा राखेकोले ऊ हिजै रिसाएको थियो । आफ्नो झोलाको पिरले ऊ हुडमा चढेको बुझिन्थ्यो । चन्द्रकला र कविता तल उभिएर सामान थाप्दै थिए । म झोला गन्दै मिलाउँदै थिएँ । जिपको हुड खाली भैसक्यो तर सेसेहाङको झोला निस्केन ।

मलाई अघिदेखि कताकता त्यै झोला बाटोमा खसेको आभास त भइरहेको थियो, आखिर त्यै भएछ । विजयजी जीप मालिकसँग कराउन लाग्नुभयो, सेसेहाङ रुन थाल्यो । मैले फकाउन थालें, ‘के थियो नानी त्यो झोलामा ?’ उसको आँसु पुछी दिंदै सोधेंं । हुँक्कहुँक्क गर्दै उसले आफ्ना लुगाफाटा र मेरो पनि सरसामान भएको सुनायो । अब खङ्ग्रङै हुने पालो मेरो आयो ।

मेरो सामान कुन-कुन थियो ? कविताले भनी, ‘गाउँमा बाँड्नु भनेर बोकेका सबै लुङ्गी र बेलायती स्विटरहरु थियो ।’ मेरो होसहवास उड्यो । ३० वर्षमा माइत आएको कोसेली बिना भइयो भन्ने चिन्ताले खर्लप्पै निल्यो । फननन रिंगटा चल्यो । गाडीवालालाई दरो हप्कायौं । सामान ल्याइदिएपछि मात्र भाडा तिर्ने सर्तमा फोन नम्बर दिएर बाटो लाग्यौं ।
केही बेरमा जिप मालिकले फोन गर्दा थाहा भयो, हामीसँग तक्वामा क्रस भएको ट्याक्टरले बाटोमा खसेको झोला लगेछ । जिप मालिकलाई झोला लिङ्खिमको भाइ श्रीलाई जिम्मा दिन र भाडा पनि उसँगै लिन भन्यौं ।

सङ्बारो ओरालो झरेर थिक्वा खोलाको पुल तर्‍यौं । बिमारी बुबाकै तालमा बिस्तारै हिंड्न थाल्यौं । खोला पारि पहिले पैदल हिंड्ने बाटो, थिक्वाको सरकारी स्कुल, र त्यस मुन्तिरको ठुलो चौतारोमा वरपीपल अझै उस्तै देखिन्थ्यो । उहिले माघे मेला जाँदा त्यै चौतारोमा हो, धरानबाट आएको वीरे दाजुको क्यामेराले गाउँका सबै दमालीको ग्रुपिङ फोटो खिचेको । यस्तै पुराना यादका पानाहरु पल्टिँदै थियो । घाँटीको घन्टी हल्लाउँदै पिठ्युँमा भारी बोकेका चौंरीहरुको क्याराभान आइपुग्यो-हाम्रोअघि । त्यो क्याराभानलाई लौरो बोकेको एउटा सानो केटोले सिटी बजाउँदै ‘कमान्ड’ गर्दै थियो ।

हामीले भित्तातिर अडेस लागेर चौंरीहरुलाई बाटो दियौं । चौंरीको लहर पार हुन केहीबेर लाग्यो । मैले सोचें, गाउँले जीवन गाउँमै जिउनेलाई मात्र थाहा हुन्छ ।

थिक्वाको कहालीलाग्दो भिर काटेर छिरुवानीतर्फ लाग्दै गर्दा लिङ्खिमकी कान्छी लुङा हामीलाई लिन आइपुगी । पैराने जेठा तुम्बाको बर्खीको निम्त्तो मान्न ऊ इखाबु पुगेकी रैछे । लुङा बहिनीले हामीलाई केही भारी बोक्न सघाएपछि राहत मिल्यो ।  

अब हामी उहिले गड्तिरको बाटो हिंड्दा खाजा खाने ठाउँ खोङ्सो लुङजङ पुग्यौं । त्यहाँबाट पारिपट्टि तल तामाङ गाउँ नाघ्देन, माथि चिपेक्क, सेतोबा, साप्चुङ्वा सबैसबै देखियो । म खुब जान्ने भएर गाउँठाउँबारे विजयजी र कवितालाई भट्याई रहें । सानो झोला र हातमा लौरो बोकेको सेसेहाङ कान्छी लुङाको पछिपछि थियो । ऊ बाटो छेउको झारपात लौरोले हिर्काउँदै हिंडिरहेको थियो ।

केही बेरमा छिरुवानी पुग्यौं । चन्द्रकला र कान्छी लुङाले तामाङलाई फोन गरेर बिहानको खाना बनाउन लगाएका छौं भन्थे तर समय बेलुकीको खाना खाने बेला भैसकेको थियो । म पहिलेको छिरुवानी खोज्न थालें, दुइटा पुरानो दोकान घर, बाटोमाथि लुङथुङे राई र छेउको चौबिसेनी बडीमाको घर तर ती अलप भइसकेछन् । त्यहाँ त अरु नै घर थपिएर ठुलो बजार भैसकेछ । स्थानीयलाई सोधें, घर बेचेर लुङथुङे मधेसतिर बसाइँ गयो । पुछारे बूढो मर्‍यो, बूढी अलिक तल सरेकी छे । सुनेर म छक्क परें । बाटो मास्तिर नाघ्देन ठुले तामाङको ठुलो कपडा दोकान थियो । उसलाई माओवादीले फेदेन कि कतातिर मार्‍यो रे भन्ने सुनेथें । लुङथुङे तुम्बाको छोरी काली र पुछारेको छोरी कल्चुँडी मेरो साह्रै मिल्ने साथी थिए । सुन्छु, काली इटहरीतिर बिहे गरेर बसेकी छे । पहिलो श्रीमती मरेको माथि सेगुङ्वाको नयाँघरे जेठाले जबर्जस्ती बिहे गरी लगेको कल्चुँडीचाहिं एउटा प्रहरीसँग भागेर भोजपुरतिर गई रे ।

बालापनमा खेलिहुर्केका ठाउँ पुग्दा मन बेहिसाब रमायो । तामाङको दोकानमा मज्जाले खाना खाइयो । कान्छी लुङाले अघि तामाङ भन्दा साँच्चिकै तामाङ थरी सम्झेकी थिएँ । तर ऊ हामीसँगै पढेको खप्तारे लाबुङ लिम्बुको जेठो दाजु थियो । उसको जिस्क्याउने नाम तामाङ हो भन्ने पेट अघाएपछि मात्र सम्झें ।

छिरुवानी मुन्धुमी स्थल पनि हो । उहिलेको कुरा । यहाँको ओडारमा काप्पोरुङ र काप्मोरुङ नामका राक्षस र राक्षसनी बस्थे । तिब्बत ल्हासा सेग्या गाउँको सेग्या गुम्बामा हाडनाता करणी गरेका ती दाजुबहिनीलाई आफन्तले सेग्याको कप्तेला भन्ज्याङ कटाइदिएका थिए । छिरुवानी ओडारमा तिनको कान्छी छोरीको पनि जन्म भयो । भनिन्छ, मुक्कुम्लुङ्माले राक्षसलाई पारुङ येबाको शक्ति दिएको थियो । त्योसँग लड्न कसैले पनि साहस गर्दैनथे । हुँदाहुँदा तिनको छोरी पनि पनि शक्तिशाली येमा उत्रिई ।

छिरुवानीको विशाल जङ्गलभित्रका ठुल्ठुला ढुङ्गामा मान्छेका पाइतलाका छाप अझै भेटिन्छ । ती छाप तिनै राक्षसको भन्ने भनाइ छ । काप्पोरुङ र काप्मोरुङ माथि डाँडामा बसेर तल मान्छे आउँदै गरेको खबर छोरीलाई दिन्थे रे । अनि छोरी ओढारमा ढुकेर ती मान्छेलाई खान्थी रे ।

अति भएपछि ती राक्षसलाई तमर खोलाको सजारा लुङदाङ नामको शक्तिशाली येबाको चेला आठराई निगुरादेनको वीर येबा पोमु केच्छाङले बध गरेको कथा छ ।

पोमु केच्छाङ येबाले गुरु सजारा लुङदाङ येबाबाट उड्ने शक्ति पाएको थियो । एकदिन उसले मनमनै सोचेछ, त्यो लुङ्इक्वा छिरुवानीका निर्दयी राक्षस–राक्षसनीले गाउँलेलाई साह्रै दुःख दिए । अब तिनीहरुसित लड्नै पर्‍यो । उसले यसबारे आठराई छेन्ताङ निगुरादेन गाउँको अर्को शक्तिशाली येबा लेछर्बोसँग पनि सल्लाह गर्‍यो । राक्षसहरु कति बेला शिकार खेल्न जान्छन्, कुन बेला फर्केर आउँछन् ? मापाङ्फे भन्ने गाउँमा दुवै जना बसेर सल्लाह गरे । राक्षसहरु शक्तिशाली भएकाले दुवै जनाले यस्तो तान्त्रिक शक्ति र मन्त्र जगाए कि कदाचित् आपदविपत परे रगतको मुस्लो उठ्ने छ ।

उता राक्षसका बाबुछोरी पनि त्यस्तै बाचा बाँधेर हाङ्देवा र थेचम्बु गाउँतिर शिकार खेल्न हिँडेका थिए ।

पोमु केच्छाङ माफाङ्फेमै बस्यो । लेछर्बो चाहिं छिरुवानी ओडारभित्र भालाको धराप थापी बस्यो । बाह्र बजेतिर दिउँसो काप्पोरुङ राक्षसले एकजना अधबैंसे स्त्रीलाई मारेर ल्याउँदै थियो । ओडारको मुखमा आइपुग्दा लेछर्बोले झट्ट भाला प्रहार गरी मार्‍यो । थेचम्बुबाट छोरीले रगतको मुस्लो उठेको देख्यो । बाबुलाई केही विपद पर्‍यो भनी तुरुन्तै छिरुवानी आइपुगी । बाबु मरेको पाएर उसले यताउति हेर्दा लेछर्बोलाई लुगा फुकालेर ओडारमाथि घाम ताप्दै जुम्रा मारिरहेको देखी । तुरुन्तै मृगको सिङको बिँड जडित कर्दो मन्त्र जपेर हानी । लेछर्बोको तत्काल मृत्यु भयो ।

पोमु केच्छाङले छिरुवानीमा रगतको मुस्लो उठेको मापाङ्फेबाट देख्यो । हत्तपत्त येबाको लुगाफाटा र झिरिझ्याम्टा भिरेर छिरुवानी उडेर आइपुग्यो । उसले त्यहाँ दुईवटा अचानो र एउटा राक्षस मरिरहेको देख्यो ।

लेछर्बोलाई मार्ने राक्षसकी छोरी छिरुवानीको टुप्पामा भाले भएर बास्न लागेकी थिई । बाण हान्न लाग्दा त्यो तल तम्बरको पोखरीभित्र लुक्यो । अनेक जुक्ति लाउँदा पनि नभेटेर पोमु केच्छाङ पोखरी छेउको ठुलो ढुङ्गाको टुप्पोमा चढेर थाल बजाउँदै जङ्गल थर्कमान हुने गरी नाच्न थाल्यो । केहीबेरमा पोखरीमा तान बुन्दै गरेकी एक युवती प्रकट भई । तर, तल ओर्लेर हेर्दा त्यो युवती अभोलुङमा परिणत भइसकेकी थिई । दुम्सीको काँड लुइँचेको पुच्छरमा तन्त्रमन्त्र गरिएको वासाङ थुतेर पोमु केच्छाङले पोखरीभित्र लोहोरोलाई हानी पठायो । पोखरीमाथि निस्कन राक्षसनी बल गर्दै थिई, पोमु केच्छाङले थालले झट्कारेर यस्तरी हान्यो कि त्यहाँ एउटा रुद्राक्षको दाना खसेर रुख नै उम्रियो । तम्बर पोखरी राक्षसनीको रगतले रातै भयो ।

त्यो पोखरी रहेको ठाउँ अझै अवस्थित छ । धेरै पहिले त्यहाँ मङ्सिरे पुर्ने र राँके मेला लाग्ने गर्थ्याे ।

राक्षस मारेर ढुक्क भयो पोमु केच्छाङ । मित्लुङ दोभानको ठुलो ढुङ्गामा जुम्रा हेर्दै बसेको थियो । उसको खुट्टाको बूढीऔंलाबाट सानो माउसुली छिर्दै गरेको देख्यो । हतार-हतार समात्दा पुच्छर मात्र हात पर्‍यो । केहीबेरमा थाहा भयो, सावादेन र नाक्लाङ्वा बिचको ठुलो पहरामा बस्ने राक्षसनीकी दिदीले नल्लेक् तोःङ्ले हानेकी रैछ । बाण शरीरमा पसिहाल्यो । पोमु केच्छाङले रिसमा थालले एउटा ढुङ्गा तीन टुक्रा हुने गरी प्रहार गर्‍यो । त्यो थाल फेरि उडाई पठाएर राक्षसनीको दिदीको पनि टाउको र शरीर छिनाली दियो ।
भनिन्छ, पोमु केच्छाङले नेग्रादेन घरमा देह त्याग गर्‍यो, उसको समाधि चक्पारो भन्ने ठाउँमा छ ।

मुक्तोबुङ्मा गुरुले त्यै दिनदेखि बिजुवाको तन्त्रमन्त्रको असली शक्ति फिर्ता लगी लिम्बु जातिको पोमु वंशमा येबा–फेदाङ्मा नउत्रिने सराप दिएको किंवदन्ती छ ।

छिरुवानीमा खाना खाइसकेर हामीले पारि तर्‍यौं । त्यहाँको धार्मिक स्थल सेवाङ्देन फाँटलाई दाहिने छाड्दै ससिङ्बुङ उकालो लाग्यौं । त्यहाँका बाटाघाटा, रुखबिरुवा र ढुङ्गामाटो सबै उस्तै लाग्थ्यो । मुन्धुमअनुसार उहिले आदिम आमा मुजिङ्ना खियङ्नाले सुइसुइला खेल्दा हावाले गर्भधारण गरी पहिलो मानव पुर्खा सावा युक्पुङ्गेम्बा (सुसुवेन लालावेन) लाई यही सेवाङ्देनमा जन्माए र फाँटको नाम पनि सेवाङ्देन रहन गयो ।

ससिङबुङ उकालो काटेर हामी माङ्यक खेत निस्कियौं तर त्यहाँ उहिले म हुँदाको जस्तो पानी कुद्ने खेत थिएन । पूरै घरैघर बनेका थिए । छक्क परें । त्यहाँ एउटी महिला बस्तु चराई रहेकी थिई, उसलाई क-कस्को घर हो भनेर सोधें । बुबाले ‘सेवारो भाउजू, दाजुलाई उहिल्यै माथि पठाएर तपाईं एक्लै के गर्दै हुनुहुन्छ हौ ?’ भन्दै रेला गर्दा मात्र थाहा पाएँ, ऊ त माथि बरबुङ्गेनी तुम्मा पो रैछिन् ।

बुबाको कुरो सुनेर तुम्मा हाँस्नुभयो । तुम्माले भनेपछि थाहा भयो, त्यो अर्को दुई घर तलको लालवीरे दाजुको साइँला छोराको र माथिको कान्छाको रहेछ । बिहेदान गरेर छोराहरु छुट्दै जाँदा अंशबण्डा त्यहाँ परेकोले खेत मेटाई घर बनाएर बसेका रहेछन् ।  

केहीबेरमा इखाबु गाउँको मलामी खाजा खाने र मलामी चोखिएर घर जाने ठाउँ पक्लुङलेप्मा चौतारा निस्क्यौं । त्यहाँका जोडी वरपीपल पनि मान्छे जस्तै बूढाबूढी भएछन् ।

अब पुछारे बाजेको घर छेउ हुँदै मुछेबुङ काटेर घरतिर निस्क्यौं । हाम्रो घर नयाँ थियो । पहिले बाजे बोजुसँग बस्दाको घर र बारी हेर्ने मेरो रहर कान्छा काकाको नयाँ आधुनिक घर र अलैंची बारीले चकनाचुर पारिदियो ।

तमोर खोला भेगको निक्कै ठुलो गाउँ हो इखाबु । अहिले यो फक्ताङलुङ गाउँपालिका भएको छ । मेरो माइत घर भएको इलाकालाई सिङ्सेबुङ भन्छन् । हामी पुगेको दिन पनि सिङसेबुङमा निक्कै चहलपहल थियो । कारण त्यहाँ भर्खर पैराने जेठा तुम्बाको बरखी सकिएर टाढा-टाढाका निम्तालु अझै थिए । एक दिन ढिलो भएर हामीले तुम्बाको बरखी भ्याएनौं । गाउँघरका मान्छे भेला भएर धान नाच नाच्ने, हाक्पारे ख्याली गाउने क्रम जारी नै थियो ।

यात्रामा सुख, दुःख, हर्ष अनि आनन्दका अनुभूति महसुस गर्दा गर्दै बिती जाने रहेछ । समय, पहिलाको भन्दा अहिले मैले धेरै फरक पाएँ । सानोमा मलाई माया गर्ने काका विजय लाबुङलाई ख्याली समूहमा एउटी बूढीबूढी तरुनीसँग इत्रिंदै बसिरहेको देखें । छेउमा गएर ‘फङा सेवारो ! मलाई चिन्नुभयो ?’ भनी सोधें । उमेरमा निक्कै हेन्डसम काका दुःखले बूढो, ख्याउटे र माया लाग्दो हुनुभएछ । काकाले छक्क पर्दै ‘मेन्ना कन् ग हा?निबे ? (होइन यो त को पो ?)’ भनी सोध्नुभयो । मैले मेरो सानोको नाम भनेपछि आत्तिएर मेरो टाउकोमा छामेर ‘मलाई चिमोटी हेर् त दुख्छ कि दुख्दैन ?’ भन्नुभयो, ‘मैले किन फङा ?’ भन्दा ‘दुख्यो भने तँ गाउँ आएको रैछ । नत्र म सपनामा रैछु भन्ने थाहा पाउनलाई । लु चिमोट्, चिमोट् !’ भन्नुभयो । काकाको कुरो सुनेर सबै गलल्ल हाँस्यौं । यसरी धित् खोलेर गलल्ल नहाँसेको पनि तिस वर्ष भइसकेको रहेछ । यात्रामा पाउनु दुःख पाएकै थियौं । तर, दुःखलाई बिर्साउन माइत गाउँको त्यो हाँसो काफी थियो ।

अक्सफोर्ड, बेलायत