किन रोकियो प्रज्ञा–प्रतिष्ठानको स्रष्टा–कलाकार, साहित्यकार परिचयपत्र वितरण ?

किन रोकियो प्रज्ञा–प्रतिष्ठानको स्रष्टा–कलाकार, साहित्यकार परिचयपत्र वितरण ?

एलिसा ढुङ्गाना  |  साहित्य  |  आश्विन १०, २०७७

निकै तामझाम र हल्ला खल्लाका साथ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले अढाई वर्षअघि स्रष्टा–कलाकार परिचयपत्र वितरण अभियान नै चलायो । तत्कालीन प्रज्ञा परिषद्ले आफ्नो मुख्य उपलब्धिका रूपमा स्रष्टा–कलाकार परिचयपत्र वितरण गरेको सो अभियानमा धेरैलाई परिचयपत्र उपलब्ध गराइयो तर अहिले त्यो अभियान रोकिएको छ । नयाँ प्राज्ञ परिषद् आएको दुई वर्ष पुग्न लाग्दा पनि परिचयपत्र वितरणको ‘प’ पनि उच्चारण गर्ने गरिएको छैन । 

त्यस्तै नेपाल प्रज्ञा–प्रतिष्ठानको तत्कालीन प्राज्ञ परिषद्ले पनि आफ्नो कार्यकालको अन्तिम बैठकद्वारा लेखक साहित्यकार परिचयपत्र वितरण कार्यविधि सम्बन्धी निर्णय पारित गरेको थियो । नयाँ प्राज्ञ परिषद्ले परिचयपत्र वितरण सम्बन्धी अधुरो कार्यलाई पूरा गर्ने धेरैले अपेक्षा गरेका थिए तर उक्त प्रतिष्ठानले पनि आफ्नो कार्यकालको आधा समय पूरा वित्न लाग्दासमेत परिचयपत्र वितरणबारे कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

के सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले अब स्रष्टा–कलाकार परिचयपत्र वितरण प्रक्रिया अब बन्द गरेको हो ? यस सम्बन्धमा सदस्य सचिव श्यामप्रकाश तमोट भन्छन्– 'पहिला जे जति वितरण गरियो त्यसमा धेरै गुनासा आएकाले अब कार्यविधिमा केही परिमार्जन गरेर पुनः वितरण गर्ने योजना रहेको छ । पद, श्रेणी र तहको विषयमा केही विवाद आएका कारण सबैलाई मान्य हुने गरी र सम्मान हुने गरी छिट्टै परिचयपत्र वितरण गर्ने योजना रहेको छ ।'

यसबाट सहजै थाहा हुन्छ भक्तबहादुर श्रेष्ठ (सरुभक्त)को नेतृत्वको प्रज्ञा परिषद्ले लोकप्रिय हुनकै लागि मात्र हतार हतार ठुलो हल्ला खल्लाका साथ स्रष्टा–कलाकार परिचयपत्र वितरण कार्यलाई अघि सारेको थियो । यसले सर्वत्र विवाद निम्त्याएपछि नयाँ प्राज्ञ परिषद्ले त्यसलाई अहिले रोकेको छ । छाँटकाँट हेर्दा फेरि परिचयपत्र वितरण प्रक्रिया अगाडि बढिहाल्ला भन्ने अवस्था देखिँदैन । 

कार्यविधि बनाई पारित गरेर पनि परिचपयपत्र वितरण प्रक्रियाबारे मौन रहेको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय भन्छन्– 'यो विषय विचाराधीन छ । प्राज्ञ परिषद्ले यसबारे ठोस निर्णय नगरुञ्जेल म यसै भन्न सक्दिनँ ।' 

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परिचयपत्र वितरणका लागि तीन ओटा श्रेणी विभाजन गरेको छ । सङ्गीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्न थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा कार्यविधि बनाई परिचयपत्र वितरण थालेको थियो । सङ्गीत तथा नाट्य विधामा अतुलनीय योगदान पुर्‍याउने स्रष्टा, कलाकारलाई सम्मान गर्ने उद्देश्यले स्रष्टा–कलाकार परिचयपत्र वितरण सुरु गरिएको भनिए पनि त्यसले राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । बरू मनपरी वितरण गरेको भनेर सर्वत्र आलोचना भएको थियो ।

तत्कालीन उपकुलपति शम्भुजित बाँस्कोटाले स्रष्टार–कलाकार परिचयपत्र वितरण कार्य आफ्नै कारणले मात्र संभव भएको भन्दै त्यसैलाई भँजाएर अर्को कार्यकालका लागि कुलपति हात पार्ने दौडमा थिए । त्यसका लागि एक करोडसम्म खर्च गर्न तयार रहेको बताई हिँड्ने बाँस्कोटा आखिरमा हेर्‍याहेर्‍यै भएका थिए । प्रतिष्ठित श्रेणी, वरिष्ठ श्रेणी र साधारण श्रेणी विभाजन गरेर हतार हतार थालिएको उक्त अभियानले वास्तविक स्रष्टा–कलाकारलाई न्याय नगरेको भनेर सर्वत्र आलोचना भएको थियो । 

स्रष्टा तथा कलाकारको योगदानको कदर, पहिचान र अभिलेख राख्न परिचयपत्रले सहयोग पुग्ने प्रतिष्ठानले जनाएको थियो । परिचयपत्र प्राप्त गर्न दरखास्तका साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण, संगीत तथा नाट्य विधाको कुनै एक क्षेत्रमा गरेको योगदानका लागि प्राप्त मान सम्मान, पुरस्कार, आदिको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो तीन प्रति, आफू सम्बद्ध संस्थाको सिफारिस पत्र, सम्बन्धित विधामा प्रवेश गरेको मिति खुल्ने प्रमाणपत्र, आफ्ना प्रकाशित कृतिको नाम, लिन चाहेको विधासँग सम्बन्धित कागजात पेश गर्नु पर्ने जस्ता मापदण्ड राखिए पनि धेरै जसो राजनीतिक पहुँचमा आसिन व्यक्ति र केही मात्रमा स्रष्टा–कलाकारलाई घरघरमै गएर परिचयपत्र वितरण गरिएको थियो । 

नेपाल प्रज्ञा–प्रतिष्ठाने चाहिँ लेखक–साहित्यकार परिचयपत्र वितरण कार्यविधिमा दुई श्रेणी रहने र परिचयपत्र लिनका लागि न्यनतम मापदण्डमा अलि कडा प्रावधान राखेको छ । 
यस्तो परिचयपत्रले स्रष्टा–सर्जक तथा लेखक–साहित्यकारलाई राज्यको तर्फबाट अन्य कुनै सुविधा उपलब्ध नभए पनि कम्तिमा सानै भए पनि सम्मान हुने एक जना पूर्व प्राज्ञले बताए ।