स्वाभिमानको लडाइँले क्याम्पबाट स्कुलमा: खाजा पसलमा पनि सिद्धान्तका आधारमा जानु पर्ने बाध्यता !

स्वाभिमानको लडाइँले क्याम्पबाट स्कुलमा: खाजा पसलमा पनि सिद्धान्तका आधारमा जानु पर्ने बाध्यता !

हरिविनोद अधिकारी  |  साहित्य  |  आश्विन १०, २०७७

भोगाइको कुरा गर्दा यसो भनिन्छ-एउटै आमाका जुम्ल्याहा सन्तान छन् र एउटै वातावरणमा हुर्किएका छन् भने पनि उनीहरूका व्यक्तिगत भोगाइहरूमा भिन्नता आउँछ । एउटै चलचित्र हेरिरहेका दर्शकहरूका बिचमा पनि सिनेमाका बारेमा फरक फरक धारणाहरू हुने गर्छन् । ठिक त्यस्तै भयो मेरा भोगाइ र अरु व्यावसायिक शिक्षा पढेर क्याम्पसबाट बाहिर आउने स्नातकका लागि ।

जब म क्याम्पसबाट नियुक्ति च्यातेर भनौँ अस्वीकार गरेर शिक्षा मन्त्रालयमा पुगेँ अनि थाहा भयो, त्यो बेलामा अर्थात् नयाँ शिक्षा योजनाको सेरोफेरोमा साँच्चै  व्यावसायिक शिक्षाको महत्त्व बढेको रहेछ । त्यस्तो व्यावसायिक विषयमा स्नातक तहको प्रमाणपत्र लिएर आउनेलाई खालि ठाउँको आधारमा नियुक्तिको प्रक्रिया गरिहाल्ने रहेछन् । जब म त्यहाँबाट काठमाडौँ जिल्लामा खालि छ भन्ने थाहा पाएर क्षेत्रीय शिक्षा निर्देशनालयमा पुगेँ, त्यहाँ उमेश श्रेष्ठ भन्ने साथी रहेछन् । उनले तत्कालै काठमाडौँ जिल्लाका फोन गरेर खालि भएको जानकारी मात्र दिएनन्, हातले पत्र लेखेर तत्कालीन उप निर्देशक परशु प्रधानबाट सिफारिस पत्रमा हस्ताक्षर गराएर तत्कालै गणवाल जानका लागि सुझाव दिए । ती उमेश श्रेष्ठसँग सामान्य चिनजान थियो तर त्यो आत्मीयता जुन देखाए, त्यसपछि भने मित्रता नै बढ्यो । आज पनि त्यो मित्रता छँदै छ ।

सायद परशु प्रधानजीलाई मेरो बारेमा कवि मोहन कोइरालाले फोनबाट केही भन्नु भएको रहेछ क्या रे ! किनभने पत्र बुझ्न जाँदा उहाँले मलाई मोहन काकाको बारेमा सोध्नु भएको थियो । म एउटा नेपाल विद्यार्थी सङ्घको कार्यकर्ता अनि राष्ट्रपुकार साप्ताहिकसँगको सरोकारवालालाई नियुक्ति दिने काम सायद जोखिमपूर्ण नै थियो होला ! तर परशु प्रधानले तत्कालै काठमाडौँमा गएर पत्र दर्ता गरेर विद्यालय सम्पर्क गर्न पनि सुझाव दिनुभयो । त्यसपछि परशु प्रधानसँग कुनै साहित्यिक कार्यक्रममा बाहेक भेट प पनि भएको छैन र म उहाँलाई एउटा महान् साहित्यिकको रुपमा मान्छु । बरु त्यसपछि थाहा भयो, परशु प्रधान मेरा अग्रज अनि साथी जस्तै शैलेन्द्र साकारका दाजु हुनुहुँदो रहेछ । 

भनिन्थ्यो-त्यस लगत्तै जस्तो कविवर केदारमान व्यथित गृहमन्त्री हुँदा परम्परागतरुपमा टिप्पणी उठाउन पनि शुद्धाशुद्धि नमिलेकाले व्यथितजीले परशु प्रधानजीलाई आफ्नो स्वकीय सचिव बनाउनु भयो रे ! शुद्धसँग टिप्पणी लेख्न, आएका टिप्पणीलाई शुद्ध बनाउन र दिइने आदेशहरू पनि शुद्ध लेख्न । केदारमान व्यथित त्यो भन्दा पहिले नै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कुलपति भइसक्नु भएको थियो क्या रे ! प्रशासनमा भाषाको शुद्धाशुद्धिका बारेमा व्यथितजी पछि कसैले पनि वास्ता गरेको सुनिएन । यो सुनेको मात्र हो । पछि मैले व्यथितजीका छोराहरू सुशीलमान  र सुनिलमानलाई पढाएँ लेबोरेटरी या ल्याब स्कुलमा । 

ईश्वर दाइको कोठामा हुन्थ्यो हाजिर कापी । त्यो दिन ईश्वर दाइको कोठामा हाजिर कापी थिएन । अनि अचम्भ, त्यो दिन प्रधानाध्यापकज्यूको कोठाको ढोका खुलेको थियो र हाजिर कापी पनि त्यतै रहेछ । म अनुमति लिएर कोठामा पसेँ र पो देख्छु त्यही अघि ट्याक्सी रिजर्भ गर्ने महानुभाव पो हेड सर पूर्णमान शाक्य सर हुनुहुँदो रहेछ । अनि उहाँले रुखो पारामा मलाई सोध्नु भयो- आज किन ढिलो ? अनि मैले पनि भनेँ - तपाईँसँगै त आएको हुँ नि ! 

मध्यमाञ्चल  क्षेत्रीय शिक्षा निर्देशनालयको नियुक्तिका लागि सिफारिस पत्र लिएर गणवहाल पुगेँ । त्यो बेलामा पनि विद्यालयहरूले दरबन्दी लुकाएर राख्ने रहेछन् । त्यो बेलामा पनि जिल्ला शिक्षा कार्यालयहरूमा कुन विद्यालयमा कुन विषयको शिक्षक आवश्यकता परेको हो भन्ने कुरा विद्यालयका प्रधानाध्यापकको पहुँचका आधारमा हुने रहेछ । तत्कालीन पञ्चहरूको पहुँचका आधारमा हुने रहेछ । पत्र त दर्ता गराएँ तर विद्यालयका बारेमा कार्यालयले खासै जानकारी दिएन । त्यो बेलामा एक जना सहायक जिल्ला शिक्षा अधिकारी सायद विश्वनाथ रेग्मी जस्तो लाग्छ, उनलाई कुलचन्द्र काकाले चिन्नु भएको रहेछ र उहाँले छिटै नियुक्ति दिनका लागि अनुरोध गर्नुभयो ।

मलाई क्याम्पसमा देखाउन पनि छिटै नियुक्ति आवश्यक थियो तर काठमाडौँ त राजधानी नै भयो, सबैले यहीँ नै आउन चाहने, बस्न चाहने दबाब सायदै त्यो बेलामा पनि थियो । बल्ल बल्ल थाहा भयो, भाग्योदय माध्यमिक विद्यालय, साँखुमा भर्खरै स्वीकृत भएको लेखा विषयका लागि शिक्षक नियुक्ति जरुरी रहेछ । 

वास्तवमा तत्कालीन पञ्चायतका नेता जोगमेहर श्रेष्ठले कोही आफ्नो बिकम पास गरेको मानिसका लागि त्यो दरबन्दी सृजना भएको रहेछ किनभने जोगमेहर श्रेष्ठको स्थानीय वासस्थान साँखु नै थियो र उहाँ नै त्यो विद्यालयको सहयोग समिति अर्थात् सञ्चालक समितिको अध्यक्ष नै हुनुहुँदो रहेछ । नत्र त्यहाँ कुखुरा पालन विषय व्यावसायिक विषयको रुपमा छँदै रहेछ । 

एक प्रकारले म क्याम्पसको चोट लिएर हिँडेको थिएँ । आखिर जहाँ गए पनि उस्तै हुने 'नेपाल गयो कपालसँगै, बर्मा गयो कर्मसँगै' । सहायक अधिकारीले स्पष्ट भन्नुभयो-जोगमेहरजीको आदेशलाई हामी नाइँ भन्न सक्दैनौँ । सायद त्यो बेलामा जिल्ला शिक्षा अधिकारी नरेन्द्र कटुवाल हुनुहुन्थ्यो जस्तो लाग्छ । उहाँसँगै कुरा गर्ने भनेर मैले जिद्दी गरेँ र सहायक जिशिअले मलाई भेटाउनु भयो । अनि मैले जिल्ला शिक्षा अधिकारीलाई भनेँ- म व्यावसायिक तालिम लिएको स्नातक हुँ अनि म पत्रिकासँग पनि संलग्न छु ।

यदि मलाई तपाईँले नियुक्ति  दिनु भएन भने सरकारी नियम विपरीत भयो भनेर पत्र पत्रिकामा लेख्नेछु । सायद उहाँ तत्कालीन अवस्थामा स्पष्ट नदेखिए पनि प्रजातन्त्रवादी हुनुहुँदो रहेछ । पछि थाहा पाएँ, कुलचन्द्र काकाको पुरानो साथी हुनुहुँदो रहेछ ।एकातिर नियम, अर्कोतिर मन्त्रीको आउन सक्ने दबाब !

सायद कटुवालजी पञ्चायती ठुला नेता सूर्यबहादुर थापाको नातेदार र नजिकको मान्छे हुनुहुँदो रहेछ । मचाहिँ भित्र भित्रै के चाहन्थेँ भने मेरो नियुक्ति साँखुमा नहोस् किनभने त्यो टाढा छ मेरालागि । म त्यो बेलामा डिल्लीबजारमा बस्थेँ । बरु जोगमेहरको दबाब परिरहोस् र मलाई यतै काठमाडौँ सहर तिरै राख्नू । तर बाहिर त नियमको कुरा गरिरहेको थिएँ तालिम प्राप्त शिक्षकलाई नपठाएर ल त तालिम नभएकोलाई पठाऊ त ? त्यहाँ एक जना बिकम पास गरेका सायद साँखुकै कुनै व्यक्ति पनि नियुक्तिका लागि धाइरहेका थिए ।

तिनले मेरै अघिल्तिर जिल्ला शिक्षा अधिकारीको कार्यालयको फोनबाट जोगमेहेरजीलाई नेवारीमा केही भने सायद नियमका कुरा गरे, कार्यालयले नियुक्ति दिन ढिलो गरेको गुनासो गरे। त्यहाँबाट के भनियो त थाहा भएन, तत्कालै अधिकारीले मलाई भित्र बोलाएर भने-म तपाईँलाई नियुक्ति त दिन्छु तर तपाईँलाई त्यहाँ टिक्न गाह्रो पर्ला जस्तो छ । 

मलाई थाहा थियो एक पटक नियुक्ति पाएपछि कसरी त्यसलाई प्रयोग गर्नुपर्छ भनेर । हाजिर नगराए त झन् ठिक किनभने काठमाडौँमा नै आउने पक्का हुनेछ । दसैँ लाग्ने बेला थियो । घर जाँदा सके तलब पाइएला, नभए नियुक्ति पाएको छ भन्ने त हुन्छ ।क्याम्पसको नियुक्ति च्यातेर विद्यालयमा पुग्न आँट्दाको यो हबिगत !

एक मनले त भन्यो-अझै क्याम्पसका अर्को कोही राखेको छैन, दिदीले पक्कै राख्नु हुन्छ, माहिला सर त झन् आफ्नै गुरु हुनुहुन्छ तर मेरो स्वाभिमानले मानेन र विद्यालयको त्यस्तो नियुक्ति लिन कम्मर कसेँ जहाँ जाँदाजाँदै विवाद हुनेवाला छ, हाजिर गराउने या नगराउने टुङ्गो छैन । तर स्वाभिमानको लडाइँमा सबै समस्याहरूको समाधान आफैँमा छ भन्ने ठानेर नियुक्ति बुझेँ । अनि बुझ्न थालेँ कुन गाडी कति बजे साँखु जान्छ भनेर ।

बिहान ८ बजे एउटा, ९ बजे एउटा अनि दिउँसो २बजे । तर बस धेरै नभएकाले बिग्रिएको बेलामा नजान पनि सक्छ । सहज पहुँच भनेको ट्याक्सी हुने रहेछ । पछिल्तिर ४जना, अघिल्तिर १ जना अनि आवश्यकता भए जोरपाटी कटेपछि  २जना राखेर लैजाने रहेछन् । एक जनाको ५ रुपैयाँ । बसमा सायद ३ रुपैयाँ  थियो क्यारे ! कन्सेसनमा २ रुपैयाँ विद्यार्थीलाई । तर ट्याक्सीको एउटा विशेषता थियो कसैले रिजर्भ गरेमा ३० रुपैयाँमा लैजाने । कुनै बेलामा २५ रुपैयाँमा पनि लैजाने । फर्कँदा भने कम पैसामा पनि ल्याउने किनभने काठमाडौँ आउनु जो जरुरी हुन्छ उसका लागि । 

पहिलो दिन थियो २०३५साल असोज ६ गते । नियुक्ति थियो असोज ५ को । पुरानो बसपार्कबाट बस जाने रहेछ मैतीदेवीको बाटो हुँदै । तर कति भीड भने मैतीदेवीबाट उभिन पनि नसकिने रहेछ । जोरपाटीसम्म पनि त्यसैमा जाने भएकाले जोरपाटीमा आधा खालि हुने रहेछ । पहिलो दिन ठिक १०बजे पुग्ने भनेर हिँडेँ डेराबाट ८ बजे नै चाँडै  खाना खाएर । म पुग्नुभन्दा पहिले नै विद्यालयमा म आउने कुराले हल्ला खल्ला भइसकेको रहेछ ।

सायद त्यही बिकम गर्ने भाइले भनेको हुनुपर्छ । त्यो विद्यालयमा जोगमेहेर पक्षीय र विपक्षीय समूहहरू रहेछन् । आफूलाई काँग्रेस भन्नेहरु जोगमेहेर विरुद्ध रहेछन् र पञ्च र कम्युनिस्ट भन्नेहरू जोगमेहेरका पक्षधर रहेछन् । प्रधानाध्यापकको रुपमा थःहितीका पूर्णमान शाक्य हुनुहुँदो रहेछ । सामान्यतया शाक्य सर विद्यालयमा नजाने भएकाले विद्यालयको सम्पूर्ण जिम्मा सहायक प्रधानाध्यापक ईश्वर श्रेष्ठको रहेछ अनि त्यहाँको सबैको सहजकर्ता शम्भु सर हुनुहुँदो रहेछ । सम्पूर्ण आर्थिक मामिला हेर्ने शम्भु सर । अत्यन्त मिजासिलो । सहयोगी । सबैले मन पराउने ।

स्थानीय बुद्धिजीवी पनि, व्यापारी पनि र सहयोगी शैक्षिक व्यक्तित्व पनि । हालै उहाँको निधन भएको सुनियो । अहिले उहाँ साँखुको सामुदायिक क्याम्पसको क्याम्पस प्रमुख हुनुहुन्थ्यो विद्यालयबाट निवृत्तिभरण पाएपछि । ईश्वर दाइ जोगमेहेर विरोधी हुनुहुँदो रहेछ । म जाने बित्तिकै उहाँले पहिले हाजिर गराउनु भयो र कक्षा ८ मा लगेर तिमीहरूको लेखा शिक्षक भनेर चिनाउनु भयो । अनि कक्षा ८ मा मात्र लेखा भएकाले कक्षा ९ मा इतिहास, भूगोल अनि कक्षा ७ मा नेपाली अनि कक्षा ५ मा संस्कृत विषयको रुटिन बनाएर दिनुभयो ।

म पुग्दा नै त्यो रुटिन तयार थियो । यसो हुनुमा राष्ट्रपुकारको पत्रकार भनेकाले पनि काम गरेको रहेछ । राजाराम सरले एकान्तमा बोलाउनु भयो र भन्नुभयो- हामी काङ्ग्रेसहरू कमजोर छैनौँ , तपाईँलाई हाजिर नगराउने भन्नेहरू पनि थिए हिजैदेखि यहाँ हल्ला थियो तपाईँ आउने । हामीले साँझमा नै ईश्वर दाइलाई आउने बित्तिकै हाजिर गराउने र रुटिन दिने भन्यौँ । त्यस्तै भयो । अनि मैले पहिले देखि नै सुनेको नाम थियो गिरिजाशंकर सरको । उहाँ पनि त्यहीँ पढाउनु हुँदो रहेछ । रामहरि पुडासैनी सरलाई त्यहीँ दिन चिने । नरेन्द्र श्रेष्ठ सरसँग त्यही दिन चिनजान भयो । 

हुन त मैले परेबाडाँडामा पढाएको, अभ्यास शिक्षणमा ३ महिना पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलमा पढाएको, सानोठिमी क्याम्पसमा पनि करिब ३ महिना पढाएको थिएँ । तर माध्यमिक शिक्षकको रुपमा महिनाको  ६ सय ५० रुपैयाँ  पाउने गरी पाएको  नियुक्ति नै आजको मेरो जीवन गुजार्ने बाटो भयो किनभने त्यसैको निरन्तरताको आधारमा २०७१ साल वैशाख २४गते निवृत्ति भएँ ६० वर्षको उमेरमा ।

तर जुन बेलामा मैले नियुक्ति पाएको थिएँ, त्यो बेलामा न त शिक्षकको सञ्चय कोष कट्टी हुन्थ्यो, न त कुनै प्रकारको पेन्सन थियो या उपादान थियो । मात्र नियुक्ति हुन्थ्यो र नयाँ शिक्षा योजनाले कम्तीमा पनि शिक्षकहरूको तलबमान सरकारी तहको आधारमा समानजस्तै बनाएको थियो । प्राथमिक तहको खरदार सरह, निम्न माध्यमिक तहको सुब्बा सरह अनि माध्यमिक तहको शाखा अधिकृत सरह अनि प्रमाणित प्रधानाध्यापकको उपसचिव सरह तलब ।

तर जब जब नयाँ आर्थिक वर्षका तलबमानमा वृद्धि हुन्थ्यो , शिक्षकको हुँदैनथ्यो । त्यहाँ नै असमानता सुरु हुन्थ्यो । मैले सुरु गर्दा ६ सय ५० रुपैयाँ थियो तर आर्थिक वर्षको बजेट पारित हुँदा हाम्रो तलबमान प्रति महिना ७०० पुगेको थियो । 

क्याम्पसमा लागेको स्वाभिमानमाथिको चोटले मलाई साँखु पुर्‍याएको थियो तर निल्नु न ओकल्नुको अवस्थामा । डिल्लीबजारबाट जानु पर्थ्यो साँखु सधैँ १० बजे हाजिर गर्ने गरी । त्यसको लागि एउटै उपाय थियो या त ट्याक्सीमा ५ रुपैयाँ  तिरेर जानु पर्थ्यो या बिहानै जोरपाटीमा गएर बस्ने अनि कुनै पनि गाडी साँखु जाने भए लिफ्ट मागेर जाने या त्यहाँबाट जाने ३रुपैयाँको ट्याक्सीमा जाने । कति पटक त जोरपाटीबाट हिँडेर पनि गइयो, धेरै पटक त जोरपाटीसम्म हिँडेर नै आइयो । स्वाभिमानको लडाइँमा यी समस्या झिना मसिना लाग्ने रहेछन् । यदि भाइ सानोठिमीमा पढ्ने नभइदिएको भए सायद म उतै डेरा गरेर बस्थेँ हुँला जस्तो कि शम्भु दाइले भन्नुभएको थियो, मेरै घरमा बस्दा पनि हुन्छ हरि भाइ । 

साँखुमा त्यो बेलामा पुखुँलाछी टोलमा जोगमेहेरजीको पक्षधर बस्ने रहेछन् उहाँको घर भएको टोलमा, अनि ईश्वर दाइ र राजाराम सरको टोलचाहिँ जोगमेहेर विरोधी टोलको लागि प्रसिद्ध रहेछ । अनि खाजा पसलहरू पनि सिद्धान्तका आधारमा पो रहेछन् । पहिलो दिन म खाजा खान साथीहरूसँग गएँ पदम रानासरहसँग । उहाँ विज्ञान सर हुनुहुँदो रहेछ सायद पाल्पाको हुनुपर्छ । जुन होटेलमा म खान गएँ, त्यो त जोगमेहेर समर्थकको पो रहेछ ।

भोलिपल्ट ईश्वर दाइले सुटुक्क भन्नुभयो- मास्टर साहेब, तपाईँ ठिक पसलमा खाजा खान जानु भएन छ । मलाई छक्क लाग्यो र सोधेँ अनि स्थानीय राजनीतिको गन्ध थाहा पाएँ । मैले भनेँ -दाइ, हिजैबाट उधारोमा खाजा खान नाम टिपाएँ, अब दसैँपछि मात्र अर्को पसलमा जाउँला किनभने दसैँ नजिकै छ । अझै पनि त्यो पसलको खाजा जस्तो दूध मिठो , जेरीको त्यो स्वाद, अनि आलुको तारेको तरकारी । आहा अहिले पनि मुखमा पानी आउँछ । खुवा पनि पाइने !

स्वाभिमानको एउटा युद्धको परिणाम सकारात्मक आयो तर सधैँ १० बजे पुग्नु भनेको साँच्चै समस्याजनक हुन लाग्यो तर मैले दसैँ अघि प्रधानाध्यापकजीलाई एक दिन पनि विद्यालयमा देखिन । र मैले सोधिन पनि किनभने मलाई थाहा थियो म हाजिर भएकोमा उहाँलाई चित्त बुझेको थिएन । त्यो कुरा शम्भु सरले मलाई सुटुक्क भन्नुभएको थियो । र भन्नुभएको थियो-तपाईँको नाममा तलब अझै कहिले आउने हो, चाहिने जत्ति रकम म पेस्कीमा दिउँला दसैँमा घर जानका लागि । र मलाई शम्भु सरले एकमुष्ट ६०० रुपैयाँ  दिनु भयो पेस्कीको रुपमा जुन रकम पछि तलबबाट कट्टी गरिने थियो ।

अनि मलाई के पनि भनिएको थियो भने दसैँ पछि तपाईँको सेवा यस विद्यालयमा रहन पनि सक्छ या सक्दैन किनभने मेरो नियुक्ति अस्थायी थियो जुन बढीमा ६ महिनाका लागि हुन्थ्यो । अनि के पनि हल्ला थियो भने सायद दसैँसम्ममा लेखाको दरबन्दी नै कटाइने छ । मलाई त्यसको कुनै चिन्ता यस कारणले थिएन कि मैले एउटा युद्धमा जित प्राप्त गरेको थिएँ । क्याम्पसमा जस्तो  विभेद भएको थिएन किनभने नियमअनुसारको नियुक्ति दिन जिल्ला शिक्षा कार्यालय बाध्य भएको थियो । तर दसैपछि आउँदा त्यस्तो केही पनि भएको रहेनछ । घरमा भन्न त पाएँ अब भाइ बहिनीहरूको सम्पूर्ण खर्च म नै बेहोर्छु । बेहोरेकै थिएँ तर अब औपचारिकरुपमा तलब पाउने सेवामा थिएँ । 

सायद मङ्सिरमा हुनुपर्छ, हुस्सुले काठमाडौँ छोपेकै थियो । म पनि पुरानो बस पार्कमा करिब ९ बजेको थियो र त्यो दिन बस थिएन । कसैले भने बस अघि नै गयो, कसैले भने आज बस आएकै छैन, अनि कसैले भने आज बस बिग्रिएकोले आउँदैन । त्यो रुटमा चल्ने बस धेरै जसो बिग्रिएका हुन्थे र उकालोमा सबै यात्रु झरेर मात्र गाडी माथि पुग्थ्यो खास गरी थलीमा । बाटो थियो जोरपाटीबाट थली हुँदै भद्रवास, ब्रमखेल, इन्द्रायणी हुँदै साँखु । विद्यालय अघिल्तिर नै बसपार्क थियो जहाँ प्रहरी कार्यालय पनि थियो । न बस थियो तर यात्रुहरू सहियौँ थिए ।

त्यही बेलामा एउटा ट्याक्सी रिजर्भ गरे एक जना ठुलो निधार भएका अनि सुट लगाएका मान्छेले जो अघिल्तिर बसेका थिए । अनि ट्याक्सी ड्राइभरले भन्यो-५ रुपैयाँ , ५ रुपैयाँ । त्यहाँ जानका लागि धेरै तयार भएनन् किनभने त्यो पैसा जरुरी बेलामा मात्र तिरिने हुन्थ्यो । मलाई जानु थियो विद्यालयमा बेलैमा पुग्नका लागि तर आज ढिलो भइसकेको थियो । म पसेँ । तर मानिसहरू आएनन् । अरु एक जना भद्र महिला आउनु भयो र भन्नुभयो-म त थलीसम्म जाने हो, ३ रुपैयाँमा  हुन्छ ? ती अघिल्तिर बस्ने महानुभावले बाँकी आफैँले बेहोर्ने भनेपछि हामीलाई लिएर ट्याक्सी हिँड्यो । तर पनि झन्डै एक घण्टा त लाग्यो विद्यालयमा पुग्न ।

मलाई मेरो कक्षा कसरी व्यवस्थापन भयो होला भन्ने मात्र लागिरह्यो । त्यो दिन ट्याक्सी कुदेको पनि ढिलो जस्तो लाग्यो । हामी विद्यालयको नजिक पुग्दा करिब ११ बज्न आँटेको थियो । म आफ्नू पैसा ती अघिल्तिर बस्ने महानुभावलाई बुझाएर हतार हतार दौडेँ र कक्षाका भएको ठाउँमा पुगेँ । सायद त्यो कक्षा इतिहासको थियो क्यारे, शम्भु सरले लिइरहनु भएको रहेछ । म भित्र पसेँ र केही बेर पढाए पछि घण्टी लाग्यो तेस्रो । १०बजे नै हाजिर गरेर कक्षामा जानु पर्ने नियममा आज करिब ११ः१५मा मात्र हाजिर गर्नुपर्ने भयो । ईश्वर दाइको कोठामा हुन्थ्यो हाजिर कापी । त्यो दिन ईश्वर दाइको कोठामा हाजिर कापी थिएन । अनि अचम्भ, त्यो दिन प्रधानाध्यापकज्यूको कोठाको ढोका खुलेको थियो र हाजिर कापी पनि त्यतै रहेछ । म अनुमति लिएर कोठामा पसेँ र पो देख्छु त्यही अघि ट्याक्सी रिजर्भ गर्ने महानुभाव पो हेड सर पूर्णमान शाक्य सर हुनुहुँदो रहेछ । अनि उहाँले रुखो पारामा मलाई सोध्नु भयो- आज किन ढिलो ? अनि मैले पनि भनेँ - तपाईँसँगै त आएको हुँ नि !  क्रमशः