प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडद्वारा ब्राइटन पराजित

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडद्वारा ब्राइटन पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १०, २०७७

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जीत हात पारेको छ । 

शनिबार साँझ भएको खेलमा ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जीत निकालेको हो । ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले जीत हात पारेको हो । 

खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टी मार्फत गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

युनाइटेडका माटिचले पेनाल्टी बक्समा फल गरेपछि ब्राइटनले पेनाल्टी पाएको थियो । तर, ४३ औं मिनेटमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरेपछि पहिलो हाफमा दुवै टोलीको १–१ गोल भएको थियो । 

खेलको ५५ औं मिनेटमा मार्कस रास्फोर्डले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । उनले ५३ औं मिनेटमा गोल गरेपनि त्यसलाई रेफ्रीले अफसाइड दिएका थिए ।

इन्जुरी समयको पाँचौ मिनेटमा सोली मार्चले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । तर, इन्जुरी समयको ११ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ को जीत दिलाए । 

जितसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ । युनाइटेड तालिकाको १३ औं स्थानमा छ । पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३–१ ले पराजित भएको थियो । ब्राइटनको ३ खेल खेलेबाट ३ अंक रहेको छ ।