सशस्त्र प्रहरी बाह्रैमास कालापानी नजिक छाङ्गरुमा बस्ने

सशस्त्र प्रहरी बाह्रैमास कालापानी नजिक छाङ्गरुमा बस्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १०, २०७७

सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङ्गरुमा नै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङ्गरुमा नै बस्ने भएको हो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङ्गरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, ‘हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’ 

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका थिए । 

भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उनले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । 

गत ३१ वैशाखमा व्यासको छाङगरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत २८ असारमा बसेको मन्त्रिपरिषदको निर्णयअनुसार व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो । 

सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छाङ्गरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताए । 

सशस्त्र प्रहरीका लागि १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरी बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ ।

बहुउपयोग हुने गरी भवनको संरचना बनाइन लागेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता राजु अर्यालले बताए । १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् । तीन तलाको ब्यारेक भवन निर्माणको योजना रहेको उनले जानकारी दिए । 

इमान्दारिपूर्वक काम गर्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरी प्रमुख खनालले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । 

व्यासको छाङ्गरु र तिंकर क्षेत्रको निरीक्षण भ्रमणपछि सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गणमा मातहतका कर्मचारीलाई निर्देशन दिँदै उनले सशस्त्र प्रहरीको जिम्मेवारीअनुसार इमानदारिपूर्वक काम गर्न निर्देशन दिएका हुन् ।