बाख्रा मरेर खोर रित्तिन थाले

बाख्रा मरेर खोर रित्तिन थाले

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ११, २०७७

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–७ मा  धमाधम किसानका बाख्रा मर्न थालेका छन् ।  बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताउनुभयो । 'कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ',  तिमल्सिनाले भन्नुभयो, 'गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।' पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

 गाउँपालिकाले सबै वडामा गरी  नौ  गाउँ प्रहरी राखे पनि  किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन । गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन् । पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको छ । 'मेरो आफ्नै खोरका नौ वटा बाख्रा मरिसकेको छ', सानुले भन्नुभयो ।

स्थानीयवासीले पशु चिकित्सक पठाइदिन पटक पटक आग्रह गरेपछि गाउँपालिकाले बनेपाबाट दुई चिकित्सक झिकाएर रोग परीक्षणका लागि पात्ले र  कापिङ क्षेत्रमा पठाएको उहाँले बताउनुभयो  । परीक्षण गर्दा रोग पहिचान नभएको र पिपिआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताउनुभयो ।