पहिरोको उच्च जोखिममा स्वास्थ्य चौकी

पहिरोको उच्च जोखिममा स्वास्थ्य चौकी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ११, २०७७

बागलुङ । बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ । 

दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत समस्या भएको छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको शर्माको भनाइ छ ।

'स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की भासिएको छ, भवनको केही भाग चर्किएको छ', शर्माले भन्नुभयो, 'पहिरो निरन्तर गइरहेको र भिरालो जमिनमाथि स्वास्थ्य चौकी भवन भएका कारण ठूलो क्षति हुनसक्ने अनुमान छ ।' तत्कालै सम्बन्धित निकायको ध्यान नजाने हो भने स्वास्थ्य चौकीनै विस्थापिन हुने खतरा छ । स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ । झण्डै  एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन वातावरणीय मूल्याङ्कनबिनै निर्माण गर्दा समस्या भएको वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । 

तत्कालै पहिरो रोकथामका लागि ठूलो बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै जिसीले आवश्यक समन्वय भइरहेको बताउनुभयो । झण्डै २०० मिटर लामो पहिरोका कारण लामाचौर जाने सडकमा समेत असर पुर्याएको छ । पहिरोले स्वास्थ्य चौकीमुनिका तीन घरसमेत जोखिममा परेका छन् ।