‘नेपालको भाषा नीति र योजना आधार’ : भाषाका अभियन्तालाई झकझक्याउने जमर्को
आश्विन १२, २०७७

एउटा अहम् सवाललाई हेरौँ– आज हामी जसरी अधिकारको माग राखिरहेका छौँ के त्यसरी नै मातृभाषाको उन्नयनका लागि माग गर्दै छौँ  त ? के भाषा र पहिचानका लागि पनि मूर्त रूपमा हामी कटिबद्ध भएका छौँ ? मुलुकले भाषिक गरिमालाई कसरी माया गर्दै छ ? वास्तवमा भाषाको संरक्षण, संवर्द्धन र विकास गर्ने संवैधानिक प्रावधानलाई व्यावहारिक रूप प्रदान गर्न प्रभावकारी भाषा नीति र योजनाको आवश्यकताको महशुस गरिदै आएको छ । 

मातृभाषाको विकास तथा भाषिक अधिकारका तमाम सवाललाई  मात्र उराल्दा कतिपय विषय आधारविनाका विषयमा गन्तव्यमा नै भौँतारिने सम्भाव्यता रहन्छ । भाषिक सम्पदासँग सम्बन्धित विषय त्यति धेरै चाखलाग्दो बनिरहेको छ । कतै यो भुललाई हृदयङ्गम गरेर भोलिका पुस्ताले हामीलाई औँला उठाउने स्थिति सिर्जना त हुने होइन ! भन्ने प्रश्न उठिरहेकाे छ । 

भोलिका पुस्ताले अहिलेको पुस्तालाई औँला नउठाउन भनेर कम्तीमा भाषाका विषयमा भनेर नवीन सोच लिएर आएको  ‘नेपालको भाषा नीति र योजना आधार’ नामक पुस्तक हातमा पर्‍यो । यो पुस्तक हातमा लाग्यो तब मनमा विभिन्न भावहरू तरङ्गित भएर आए र आइरहेका छन् ।  साहित्यिक पुस्तकका बारेमा त सोचिन्थ्यो नै तर यसले पनि थप सोच्न विवश बनायो । बहुभाषिक समुदायमा भाषा, भाषाको महत्ता र विकास अनि नेपालको नीतिगत तहमा हुनुपर्ने जिम्मेवारीलाई संविधानतः बोध गर्नु अहिलेको आवश्यकता हो । यदि नेपालले बहुभाषिक गरिमासँग गर्व गर्ने बाटोलाई गुमाउँदै गयो भने त्यसको परिणाम कति दुःखद होला । यो एक गम्भीर विषय पनि  हो । 

समाज भाषामा बाँधिन्छ तसर्थ भाषिक उन्नयनका लागि मातृभाषाका सबै समुदायहरू एक ढिक्का भएर एकै लक्ष्यमा कटिबद्ध हुन पनि यो पुस्तकले सुझाएको छ । अनि लाग्यो यो एउटा नवीन सोचको थालनी भएको छ ।  नेपालको भाषा नीति र योजना  निर्माणमा  आधार प्रदनन गरेकाे छ । 

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. राजेन्द्रप्रसाद पौडेल र आदर्श बहुमुखी क्याम्पसका रमेश भट्टराई ‘सहृदयी’ ले लेख्नुभएको यस पुस्तकलाई इन्टेलेक्चुअल्ज बुक प्यालेस कीर्तिपुरले बजारमा ल्याएको छ । 

यसको अध्ययन पश्चात लाग्यो : सङ्घीय पद्धतिमा माध्यम भाषा र मातृभाषाको रक्षार्थ हाम्रो देश सचेत हुनु नितान्त टड्कारो आवश्यक देखिन्छ । नेपालले बहुभाषिक गरिमाका लागि अर्थात् भाषिक राष्ट्रवादलाई कायम राख्ने गरी भाषा नीति र योजनालाई तर्जुमा गर्नु पर्दैन र ! भनी एक पटक झकझकाउँछ । 

यस पुस्तकको बाहिरी पृष्ठमा लेखिएको नामबाटै गाम्भीर्यलाई झल्काउँछ । यो एउटा नवीन  विषय सन्दर्भमा लेखिएको पुस्तक हो । त्यसो त यो साहित्यिक पुस्तक नभएर भाषिक विषयमा लेखिएको एउटा सन्दर्भ सामग्री थपिएकाे छ ।  हाम्रो देशले नीति, ऐन, कानुन तथा संविधानतः भाषाको संरक्षण, संवर्द्धन र विकास गर्न पहल नगर्ने हो भने कुसुन्डा भाषा जसरी भाषिक गरिमा लोप हुने खतरालाई यस पुस्तकमा राम्रैसँग सुझाइएको छ । नेपालमा ओह्रालो गतिमा रहेको भाषाको रक्षा नगर्दाको परिणाम के होला ? अनि, यिनलाई जोगाउने दायित्व कसको हो ?

जहाँ पैसा कमाइ हुँदैन त्यसलाई मान्छेले वास्तै गर्दैन । तथापि, भाषाको मूल्य पैसाभन्दा मास्तिर पहिचानका सन्दर्भमा निहित हुन्छ । नेपालको बहुभाषिक समाजलाई एउटै मालामा गाँस्ने आधारका बारेमा सोच्ने हो भने हाम्रो मुलुकले प्रभावकारी भाषा नीति र योजनाका तहमा ठोस कदम चाल्नु आवश्यक छ । भाषाको महत्तालाई कति मानिसले बोध गर्लान् ? भाषा जोगाउनु भनेको मुलुकको गरिमा र स्वाभिमानको रक्षा गर्नु हो । भाषिक गरिमालाई हरेक नागरिकले हृदयबाट मनन गर्ने परिवेशलाई राज्यले तय गर्नुपर्छ । यसर्थ १२९ ओटा भाषाको धनी हाम्रो मुलुकले बहुभाषिक गरिमालाई सोच्नुपर्छ । यद्यपि यो पुस्तकले १२९ भाषामध्ये थुप्रै विदेशी भाषालाई मातृभाषाकै कित्तामा राख्नुलाई ठुलो त्रुटि भएको भनेर ठहर गरेको समेत पुस्तकमा उल्लेख छ । विदेशी भाषाको प्रभावमा परेर नेपाली भाषा र मातृभाषाको गरिमा धराशायी भएका तथ्यलाई यस पुस्तकले उजागर गरेको छ । 

आठ ओटा एकाइमा पृथक्–पृथक् सन्दर्भलाई गाँसिएको यस पुस्तकमा उठाइएको सन्दर्भलाई नेपालले हलुका रूपमा लिनु पक्कै पनि हुँदैन । यो त भाषिक सम्पदा रक्षा गर्नुपर्ने  सवाल हो । हामीले गर्व गर्ने आधार नै ढल्दै गयो भने हामी कति कुरूप होउँला ? यो विचारणीय विषय पनि हो । पुस्तकको एकाइ पाँचमा भाषा आयोगको स्थापना, कार्य र आवश्यकताका विषयले स्थान पाउनु अझै नवीन विषयले स्थान पाएको छ । 

नेपालको सङ्घीय पद्धति अनुरूप मातृभाषाको रक्षार्थ भाषावेत्ता र सरोकारहरू एकै छानामुनि बस्नलाई अभिप्रेरित गरिएको यस पुस्तकले भाषा आयोग, तथ्याङ्क विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा अनुसन्धान केन्द्रहरू, प्रादेशिक निकाय तथा स्थानीय सरकार लगायत भाषाका सरोकारवालालाई झकझक्याउने जमर्को गरेको छ । भाषाका अध्येता, भाषिक विषयमा चिन्ता र चासो राख्ने वा सरोकार राख्ने तमाम वर्गका लागि यो पुस्तक लाभदायक ठहर्ने नै छ ।  

लेखकद्वारा उठाइएका विषयले विकेन्द्रीकरणको विकास र समृद्धिका लागि नेपालको नीति र योजनामा एउटा अर्को नयाँ आधार प्रदान गरेको प्रतीत हुन्छ । समृद्ध नेपाल र सुखी नेपालीका लागि भाषा र संस्कृतिको महत्ता पनि गाँसिन्छ । समाज भाषामा बाँधिन्छ तसर्थ भाषिक उन्नयनका लागि मातृभाषाका सबै समुदायहरू एक ढिक्का भएर एकै लक्ष्यमा कटिबद्ध हुन पनि यो पुस्तकले सुझाएको छ । अनि लाग्यो यो एउटा नवीन सोचको थालनी भएको छ ।  नेपालको भाषा नीति र योजना  निर्माणमा  आधार प्रदनन गरेकाे छ । 

पुस्तक : नेपालको भाषा नीति र योजना आधार 
लेखक : प्रा.डा. राजेन्द्रप्रसाद पौडेल र रमेश भट्टराई ‘सहृदयी’
प्रकाशक: इन्टेलेक्चुअल्ज बुक प्यालेस, कीर्तिपुर
पृष्ठ: २८३
मूल्य: ४२५ रुपैयाँ


कमला रेग्मी त्रिभुवन विश्व विद्यालयमा दर्शनाचार्यमा अध्ययनरत हुनहुन्छ ।